‘तपाईं कहाँको नागरिक हो ?’ भनेर कसैले सोध्यो भने हामीले दिमागमा धेरै कुरा खेलाउँछौँ । भूगोल खेलाउँछौँ । स्वयंलाई प्रश्न गर्छौं र हामी एसियनहरू ढुक्क भएर पूर्वीय कित्तामा उभिन्छौँ । कारण थाहा छैन । सारा सुविधा पश्चिमको लिने, कम्प्युटर युराल पर्वतभन्दा उताको बोक्ने । फोन पनि उतैको बोक्ने, अनि भेदिएको दिमाग बोकेर आफू पूर्वीय भूगोलमा गर्व गर्ने हाम्रो मनोवैज्ञानिक अन्तर्य बुझिनसक्नुको छ । सायद यो भूमनोविज्ञान हो । संस्कृतिको ममता हो । भावनात्मक मनोवृत्तिको एउटा पाटो हो ।
साहित्यका सन्दर्भमा जब पूर्व र पश्चिमको कुरा उठ्छ मैले मेरो गुरु वासुदेव त्रिपाठीलाई सम्झिन्छु । गुरुले पूर्वीय र पश्चिमी साहित्यको विषद् व्याख्या गर्थे कक्षामा । उहाँले एउटा शब्द कक्षामा खुब दोहोर्याउनु हुन्थ्यो ‘पूर्वीय भूदेवी’ । जमिनलाई देवी । माटोलाई देवत्वकरण । धरतीप्रतिको तीव्र विश्वास र आस्था ? अनि हाम्रो जननीप्रतिको सद्भाव । गुरुले प्रयोग गरेको भूदेवीको अलाङ्कार आज आएर गमिहेर्छु । खासमा उहाँले उठाएको बिम्बले पुलकित हुन्छु । र श्रद्धाले थप नतमस्तक हुन्छु । गुरु तपाइँ कहिल्यै नथाक्नूहोस् ।
सायद हाम्रो मनोवृत्तिमा पूर्वलाई निकट ठानिन्छ । यो अस्वाभाविक लाग्दैन । संस्कृतलाई आफन्तकै भाषामा दर्ज गरिन्छ । माउभाषा । रोटीबेटीकै भावनाबाट छिमेकको हिन्दीलाई सजिलै स्विकारिन्छ । संस्कृतबाट व्यापक प्रभाव ग्रहणलाई सहज रूपमा लिइन्छ । कतिपय सन्दर्भमा भावानुवाद र पूरै अनुवाद गरिएका सयौँ संस्कृतका पाठलाई निकटको ठानिन्छ । यही कुरा पाश्चात्य प्रभावमा मान्दैनौँ । भावग्रहणका हिसाबले पाश्चात्य साहित्य चिन्तन र विशेष गरी अङ्ग्रेजी भाषालाई गाली गर्न पछि पर्दैनौँ । प्रभावका दृष्टिले त अङ्ग्रेजी र संस्कृतिको विभेद नहुनु पर्ने हो नि तर कहाँको कञ्चनजङ्गा कहाँको बोसन डाँडो । संस्कृतलाई निकट र अङ्ग्रेजीलाई दूर सम्झिन्छौँ र नानीहरूलाई ‘ए’ फर एप्पल रटाइरहन्छौँ ।
अङ्ग्रेजी भाषाले धेरै कुरा सोहोरेर ल्यायो जसरी पानीसँगै बालुवा बगेर आउँछ । साहित्यसँगै समाजिक संरचनाका विविध मान्यता बगेर आउँदारहेछन् । पाश्चात्य प्रभावको चर्चा एउटै काँटाबाट गर्नु मूर्खता सिवाय अरू लाग्दैन । यसका विविध आयाम होलान् । अधिक पाटा हुने नै भए । साहित्यमा समाजको प्रतिच्छाया देखिन्छ । समाजका विविध अङ्गमा पाश्चात्य प्रभाव बढ्यो । त्यसको प्रभाव कवितामा देखियो । नाटकमा बढ्यो । आख्यानमा थप झाङ्गियो अनि हाम्रा निबन्ध र समालोचना पनि सङ्क्रमित भए । हुँदाहुँदा पश्चिमी टेकोबिना हाम्रो साहित्य उभिन सक्तैन भन्ने भ्रम व्याप्त भयो । हामी आसे भयौँ । परजीवी जस्तै भयौँ । हामी सैतानी टेकोको भरमा बाँच्यौँ अझै पनि ।
हामीले सजिलै बोध गरेनौँ पश्चिम अगि लम्किएको मिहिनेतले उद्योग खोलेर हो । सहर बसाएर हो । गाउँको छाला उतारेर हो । मोटर कुदाएर हो । कुदाएर उपनिवेशको तरबार । अङ्ग्रेजी भाषा लादेर । भएभरको सबै प्रपञ्च गरेर हो । उपनिवेश लाद्न स्वतन्त्रताको पाल्सी नारा दिएर हो । तेस्रो मुलुकले कुरा बुझेनन् अनि दास भए । अलि बढी आरोप पो लगाएँ कि ? तर सत्य कुरा यही हो । सैतानी टेको टेकेर सैतानको दानपानी खाने हामी पूर्वीयको चेतना खुल्न निकै समय लाग्नेछ । हामी सुनको थाललाई कमण्डलु बनाउने परजीवी हौँ । परजीवी बाँच्ने भनेको आश्रितको रगत नसुकुन्जेल त हो नि ।
जङ्गबहादुरको बेलायत भ्रमणसँगै नेपाललाई युरोपसँग जोडिन सजिलो भयो । शिक्षा, राजनीति, धर्म आदि पक्षमा युरोपेली विशेष गरी बेलायती प्रभावक देखिन थाल्यो । मन्द तरिकाले साहित्य पनि यसबाट अछूतो रहन सकेन । सूचना प्रविधिको विकास अगाडि र पछाडि पनि उत्तिकै पाश्चात्य प्रभावले जरो गाडिने रह्यो । अहिले त हामी हरक्षण उतैको नक्कल गरिरहन्छौँ । बाध्यताले, रहरले, गुणवत्ताले । हामी खासी सैतानको बैसाखी टेकेर हिँडेको धेरै भयो ।
देवकोटाले ‘व्यासजीको सिंह आजकलको भारत वर्षमा गर्जन गर्दैन। बाघको हुकुम चलिरहेछ । त्यस्तै भाषाको देशमा लबजको दशा हुन्छ।’ भनेर पूर्वलाई माया गर्न भनिहरे हामीले बुझेनौँ र टेरेनौँ । उनले ‘भूतलाई झटारो’ कवितामा ‘ए गधा हो! ‘फ्रग’को माने भ्यागुतो ।’ लेखे र सैतानलाई झटारो हान भने हामीले झटारो देखेनौँ बरु झटारोले झारेका पाल्सी अम्बामा मख्ख भयौँ । हामीले शकुन्तालाको कथा आयो, बुद्धको मिथक आयो, मुन्दुम बुझेकाको परोहाङ्को कथा आयो, जानकी, सीता, भृकुटी, जनकराजा, विद्यापति र व्यासको कुरा आयो तर हामीले ती सबै बिर्सेर उतैको अङ्गुरमा आँखा तरिरह्यौँ अङ्गुर सधैँ रसिलो हुँदोरहेनछ । अमिलो अङ्गुरको भ्रममा हाम्रो पञ्चामृत बिर्सेर हामीले कति दिने उपियाँ बनेर टाँसिने हो । त्यसको पनि टुङ्गो छैन ।
घाम जत्तिकै छर्लङ्ग कुरा के हो भने आज हाम्रो समाज सङ्क्रमित छ भने सबैभन्दा बढी पाश्चात्य संस्कृतिबाट प्रभावित छ । आज हाम्रो रहनसहन जीवनशैली पूरै आश्रित बनिसकेको छ । आधुनिकताले भित्र्याएका सूचना प्रविधिको अनुसरण गर्नु गरिनु खराब नभए पनि विशाल इतिहास बोकेको, झन्डै ६ हजारभन्दा लामो पुरानो सभ्यतालाई तिलाञ्जलि दिएर परसंस्कृतिको अनुसरण गर्नु कुनै पनि तर्कमा सही छ जस्तो लाग्दैन । तर भएको छ त्यस्तै । हाम्रो संस्कृतिको जरो भनेको आध्यात्मिक, आस्था र धर्म र रीति रितिरिवाजको जगमा उठेको संस्कृति हो जहाँ मानवले मान्छेलाई पूजा गर्छ । तर पश्चिमी संस्कृतिको अन्धअनुकरणले विशाल संस्कृतिलाई भुल्दै मात्र छैनौ ध्वस्त पार्दै छौँ । समाज, संस्कृति र साहित्यमा सँगसँगै यसको प्रभाव अमापनीय छ । अब गथासो होइन चेतनाको ढोका खोल्नतिर ढिलो गर्नु हुँदैन । अलिकति आशाको कुरा गरौँ । अलिकति एन्टीकरेन्टबाट पनि हेरौँ न । अर्को पाटोबाट पनि छलफल गरौँ न ।
हरेक कुराको उच्चताको सीमा हुन्छ । एउटा बिन्दुमा पुगेपछि उचाइ स्थिर बस्ने निर्माणको नियम हो र विस्तारै अपकर्षतिर ओर्लने विकासको नियम हो । पत्याउनूस्-नपत्याउनूस् आज पश्चिमको झण्डै ६ सय वर्ष लामो एकछत्र वर्चस्व विस्तारै स्खलित हुँदैछ । राजनीतिक मुद्दाका दृष्टिले, तीव्र विकासका दृष्टिले, जनसङ्ख्याको घनत्वका दृष्टिले आज पश्चिममाथि पूर्व हावी हुने सङ्केत देखिँदैछ । प्रविधिको चरम विकासको फाइदा पूर्वले पनि उत्तिकै उपभोग गरेको छ । उत्तरआधुनिकताको चरम विकासले विस्तारै मान्छे नगर सभ्यताबाट ग्राम्य सभ्यता, सहरबाट गाउँ, विकसित सभ्यताबाट कृषितिर लाग्दै छ यो पूर्वको गतिलो आभा देखिने सङ्केत देखिएको छ । यो कुरा बुझाइसक्दा सायद हामीले अर्को एक शताब्दी पार गरिसकेका हुनेछौँ ।
बालकृष्ण सेक्सपियर, रिमालमा इब्सन, मल्लद्वयमा इस्ट्रिनवर्ग, वीपीमा चेखब, पारिजात, ध्रुवचन्द्रमा काफ्का, सरुभक्तमा अल्वर्ट कामु, नगरकोटीमा मर्खेज अनि महेश पौड्यालहरूमा टेगोर र हेमिङ्वेको छाया देखिनु स्वाभाविक छ
पूर्वीय सभ्यतामा गहन कुरा छन् समस्या पुनर्व्याख्यामा छ, वैज्ञानिक व्याख्यमा हामी चुकेका त छैनौँ ? पूर्वीय चिन्तनमा रहेका अनावश्यक रुढीले हामीलाई थप गाँजेको त छैन ? झन् कमजोर बनाएकै छैन ? शासकहरूले सर्वजन हिताय नसोचेर कति पुग्छ ? यी प्रश्नको जवाफ हामीले खोज्नु पर्ने छ । हामी चिनेको पिपलको चौतारोमा अक्सिजनको मापन पश्चिमले गरिदिएको हो । हाम्रो बात्सायनलाई फ्रायडले पुनर्व्याख्या गरिदिनु परेको हो । हरेक तथ्यलाई वैज्ञानिक तथ्य भन्दा आध्यात्मिक कथामा सीमित गरेर हामी खुम्चियौँ कि ? हाम्रा धानचरी, हाम्रा गोलसिमल पश्चिम पुगेर फिनिक्स चरामा बदलिएकै हुन् । खोलामा दिसा नगर्नु, सर्पपूजन गर्नु पूर्वले भनेकै हो तर हामीले पर्यावरणको सिद्धान्तसँग जोड्ने ढङ्ग नपुर्याएकै हो । अब हामीले आफूलाई गहिरो अध्ययन गर्नु पर्नेछ । राम्रा रुढीलाई पखाल्नु पर्नेछ । हाम्रा राम्रा चिन्तनका बालुवा चालेर सुन निकल्न ढिलो गर्नु हुँदैन । अब पालो पूर्वको हो ।
यान्त्रिक पराकाष्ठा नाघेर आज बुद्धको शान्ति खोज्दै भौँतारिएका छन् धेरै थरी । एलोप्याथिक चिकित्सा छोडेर आयुर्वेदतिर, वैज्ञानिक चिकित्साबाट प्राकृतिक चिकित्सातिरको यात्रा दिनदिनै हामीले देखेकै छौँ । भीडबाट ध्यानतिर आकर्षित हुँदैछन् मान्छे । मांसाहारीबाट शाकाहारी बन्नेको होड छँदै छ । यी सबै सङ्केत देख्दा देख्दै पनि हामीले टेको छोडेका छैनौ हामीलाई विश्वास छैन हाम्रो गौरवमय अतीतप्रति । साहित्यको स्रोत पनि समाज त हो रहेछ नि ।
साहित्य लेखनका दृष्टिले पनि आज पूर्वी देशका नागरिक एक से एक निस्किएका छन् । चाइनिज लेखक, भारतीय आख्यानकार, जापानी र इरानी लेखकले आज पश्चिमलाई चुनौती दिइरहेका छन् । अब पूर्वको फर्किन पालो आएको देखिन्छ । चाइनिज लेखक मो यानले साहित्यमा नोबल प्राइज जितिसके । रवीन्द्र नाथ ठाकुर हाम्रा गहना हुन् भन्ने दक्षिण एसियाले कहिले बुझ्ने ? मुद्दा, विषय, उपजीव्य स्रोतमा पूर्वको तुलनामा पश्चिम धनी छ जस्तो लाग्दैन । हामी अब पाँजिएका छौँ ।
नेपाली साहित्य आफ्नो क्षितिज तन्काउँदो छ । विश्वभर फैलिएका छन् नेपाली । लेखनमा गति आएको छ । संसारभरका प्रविधिको नजिक हाम्रा लेखक उत्तिकै छन् । भाषिक हिसाबले अङ्ग्रेजी भाषामा लेख्ने र अङ्ग्रेजी भाषाको आँत छिचोल्ने पुस्ता हामीसँग छ । तै पनि हामीमा अरूमा आश्रित हुने बानी लागेको उहिल्यैदेखि हो । हामीले अब हाम्रै आँगनमा टेकेर, कसेसामा विश्वास गरेर उन्नत चिन्तनको सिर्जना गर्न ढिलो गर्नु हुँदैन । हामीले काम यहाँ गर्छौँ तर चस्मा पश्चिमकै लगाउँछौँ । हामी हाम्रो धुरीमा चढ्न भर्याङ् उतैको प्रयोग गर्छौँ र पुग्छ अन्यत्रै ।
जब पाश्चात्य साहित्यको रमरम ह्याङओभर बोकेर नेपाली साहित्यको पठन गर्न थालिन्छ तब बालकृष्ण सेक्सपियर, रिमालमा इब्सन, मल्लद्वयमा इस्ट्रिनवर्ग, वीपीमा चेखब, पारिजात, ध्रुवचन्द्रमा काफ्का, सरुभक्तमा अल्वर्ट कामु, नगरकोटीमा मर्खेज अनि महेश पौड्यालहरूमा टेगोर र हेमिङ्वेको छाया देखिनु स्वाभाविक छ । जुनदिन नेपाली साहित्यको साँच्चै गहन (डिप डाउन) पठन आरम्भ हुनेछ त्यहाँ नेपाली संस्कृतिको प्रशस्त प्रयोग भएको देखिनका साथै त्यस्तो अर्को सत्यको पनि उद्घाटन हुनेछ । पश्चिमी टेको फुकालेर हेर्न थाल्ने हो भने पत्ता लाग्ने छ ‘नेपाली लेखकहरू फगत अनुवादमा मात्र रमाएका छैनन् ।’
(स्तम्भकार थापा नेपाली केन्द्रीय विभाग, कीर्तिपुरका उपप्राध्यापक एवं एक परिचित सर्जक–समालोचक हुन् ।)
















प्रतिक्रिया