Logo

विविध

सिन्धुपाल्चोक, रामेछाप, तनहुँ र सप्तरीका साना नदीमा आकस्मिक बाढीको जोखिम



काठमाडौं । सिन्धुपाल्चोकको धाप र आसपासको क्षेत्रमा पछिल्लो ६ घण्टामा भारी वर्षा मापन गरिएको छ ।

निरन्तर पानी परेकाले त्यस क्षेत्र भएर बहने स–साना नदीमा आकस्मिक बाढी आउन सक्ने भएकाले तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । साथै, भिरालो जमिनमा पहिरोको जोखिम हुने भएकाले सतर्कता अपनाउन भनिएको छ ।

यस्तै विष्णुमतीमा पनि पानीको सतह बढिरहेकाले काठमाडौंको बल्खु आसपासका क्षेत्रमा सतर्कता अपनाउन भनिएको  छ । पानी सडक किनार र बस्तीमा जान सक्ने भएकाले महाशाखाले यात्रा गर्दा सतर्कता अपनाउन अनुरोध गरेको छ ।

आज रामेछाप, नवलपरासी, तनहुँ, गुल्मी, धनकुटा, सप्तरी र आसपास भइ बहने स–साना नदीमा आकस्मिक बहाव हुनसक्ने भएकाले सचेत रहन महाशाखाले आग्रह गरेको छ । यस्तै, बाढीका कारण सिन्धुपाल्चोकको मेलम्ची–हेलम्बु सडकअन्तर्गत मेलम्ची–११ मा सडक बन्द भएको छ ।

सीमखेत नजिकै नदी सडकमा पसेर कटान गर्दा गाडी चल्न नसकेका इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ । सडक बन्द हुँदा हेलम्बु गाउँपालिका र मेलम्चीको वडा नं ६ र ७ का स्थानीय बासिन्दा प्रभावित भएका छन् ।

पानीको बहाव हेरेर सडक सञ्चालन गरिने मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले जानकारी दिए ।

प्रकाशित मिति : १२ भाद्र २०७९, आईतवार ०८:१३   :  बजे

45
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।