Logo

राजनीति

काठमाडौं-४ मा पुरानै प्रतिद्वन्द्वी : गगनलाई सहज, राजनलाई सकस



काठमाडौं । नेकपा एमालेले काठमाडौं क्षेत्र नम्बर ४ मा प्रतिनिधिसभा उम्मेदवारका लागि राजन भट्टराईलाई सिफारिस गरेको छ । उनको नाम सर्वसम्मत रूपमा सिफारिस भएको हो । अर्का दाबेदार निर्मल कुइँकेलले आफ्नो दाबी फिर्ता गरेपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र सल्लाहकार रहेका भट्टराईको नाम एकल सिफारिस भएको हो ।

२०७४ को चुनावमा पनि यही क्षेत्रबाट उम्मेदवार बनेका भट्टराई कांग्रेसका उम्मेदवार गगन थापासँग पराजित भएका थिए । यसपटक पनि उनै थापासँग उनको भिडन्त हुने निश्चितप्रायः छ । काठमाडौं ४ बाट गगन थापाले पनि बुधबार दाबी पेश गरिसकेको छन् । यद्यपि पाँच दलीय गठबन्धनभित्र भागबण्डा भने टुंगिएको छैन । तर काठमाडौं ४ बाट गगन थापा निर्विकल्प जस्तै हुन् ।

२०७४ मा तत्कालिन वाम गठबन्धको समर्थनमा उम्मेदवार बनेका राजन भट्टराईलाई करिब साढे तीन हजार मतले हराउँदै थापाले बाजी मारेका थिए । भट्टराईले १८ हजार १४० मत ल्याउँदा कांग्रेसका थापाले २१ हजार ५५८ मत ल्याएर निर्वाचित भएका थिए ।

यस पटक भने जसरी पनि जित आफ्नो पक्षमा पार्ने दाउमा भट्टराई रहेका छन् । तर यसपटक पनि जित्न उनलाई कठिन छ । किन भने भने ०७४ मा आफूलाई सघाएको माओवादी केन्द्र कांग्रेसको साथमा छ भने एमाले विभाजित भइ बनेको एकीकृत समाजवादी पार्टी पनि विपक्षमै छ ।

यसैगरी जनता समाजवादी पार्टी, राष्ट्रिय जनमाेर्चा पनि गठबन्धनमै छ । लाेकतान्त्रिक समाजवादी समेत गठबन्धनमा सामेल हुने तयारीमा छ । गठबन्धनविरुद्ध एमाले एक्लै वा राप्रपालगायतका अन्य साना दलसँग तालमेल गरे पनि काठमाडाैं ४ मा भट्टराईलाई झन् सकस पर्ने देखिन्छ ।

प्रकाशित मिति : १६ भाद्र २०७९, बिहीबार १७:३५   :  बजे

66
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।