काठमाडौं । नेकपा एमालेले काठमाडौं क्षेत्र नम्बर ४ मा प्रतिनिधिसभा उम्मेदवारका लागि राजन भट्टराईलाई सिफारिस गरेको छ । उनको नाम सर्वसम्मत रूपमा सिफारिस भएको हो । अर्का दाबेदार निर्मल कुइँकेलले आफ्नो दाबी फिर्ता गरेपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र सल्लाहकार रहेका भट्टराईको नाम एकल सिफारिस भएको हो ।
२०७४ को चुनावमा पनि यही क्षेत्रबाट उम्मेदवार बनेका भट्टराई कांग्रेसका उम्मेदवार गगन थापासँग पराजित भएका थिए । यस्तै क्षेत्र नम्बर ५ बाट एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको नाम सर्वसम्मत सिफारिस भएको छ। उनी २०७४ को चुनावमा यही क्षेत्रबाट निर्वाचित भएका हुन्। क्षेत्र नम्बर २ बाट मणिराम फुयाल, क्षेत्र नम्बर ३ बाट कृष्ण राई र क्षेत्र नम्बर ८ बाट राजेश शाक्यको नाम सिफारिस भएको छ ।
काठमाडौंका अरू क्षेत्रमा भने एकभन्दा बढीको नाम सिफारिस भएको छ । काठमाडौं क्षेत्र नम्बर १ बाट विदुर मैनाली, रूपनारायण श्रेष्ठ, टीकाराम भट्टराईको नाम सिफारिस भएको छ । क्षेत्र नम्बर ६ बाट योगेन्द्र संग्रौला, लेखनाथ फुयाल, कल्पना रिजाल, प्रेमराज सिलवाल, माता प्रताप थापा, मीना थापा, हरिशरण तिमल्सिनाको नाम सिफारिस भएको छ ।
क्षेत्र नम्बर ७ बाट इन्दिरा पन्त, विपी ढकाल, श्याम घिमिरेको नाम सिफारिस भएको छ भने विद्यासुन्दर शाक्य, रघुजी पन्तको नाममा छलफल भएको थियो । र क्षेत्र नम्बर ९ बाट कृष्णगोपाल श्रेष्ठ, विद्यासुन्दर शाक्य, अजय क्रान्ति शाक्य र नवराज भट्टको नाम सिफारिस भएको छ ।
क्षेत्र नम्बर १० बाट विनोद श्रेष्ठ, शरब महर्जन, रमेश महर्जन, सुरेन्द्र मानन्धर, शम्भुराम महर्जनको नाम सिफारिस भएको छ । एमालेको क्षेत्रीय कमिटीले पठाएको नाम जिल्ला कमिटीबाट प्रदेश हुँदै केन्द्रसम्म आइपुग्ने छ ।




















प्रतिक्रिया