Logo

प्रमुख समाचार

नेपाली कांग्रेसले सय सिट नपाए विद्रोह हुन्छ : शेखर कोइराला



नेपाली कांग्रेसमा नेता डा. शेखर कोइरालाले प्रतिनिधिसभाको १ सय ६५ सिटमध्ये सयभन्दा कममा सम्झौता गरेमा पार्टीभित्रै विद्रोहको वातवरण उत्पन्न हुने चेतावनी दिएका छन् ।

सय सिट दिन गठबन्धनका अन्य चार दल तयार नभएपछि देउवाले भने लचकता बढाइरहेका छन् । गत बुधबारको बैठकमा कांग्रेसले ८८ सिट लिने र त्यसमध्ये लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतोको लागि दुई निर्वाचन क्षेत्र छाड्ने देउवाको प्रस्ताव थियो । त्यसमा समझदारी नभएपछि आज अपराह्न ३ बजे पुन: बैठक बस्न लागेको छ ।

कोइरालाले पार्टीभित्रको टिकट वितरण पनि न्यायोजित रुपमा हुनुपर्ने बताए । टिकट वितरणमा न्यायोजित हुन सकेन भने भागबण्डाको प्रश्न उठ्ने बताए ।

‘अझै मैले भागबण्डाको कुरा गरिरहेको छैन । जहाँ जसले जित्ने बलियो आधार छ, उसलाई कुन गुटको भन्ने कारणबाट रोक्ने होइन । जित्न सक्नेलाई टिकट दिनुपर्छ, यसो गर्दा न्यायोजित हुन्छ, न्यायोजित निर्णय लिदा सम्म भागबण्डा खोज्ने काम हुन्न,’ कोइरालाले थपे, ‘भातृसंस्थाका अध्यक्ष र स्थानीय तहको निर्वाचनमा उम्मेदवार छनोट गर्दा न्यायोजित हुन सकेको छैन । अब न्यायोजित ढंगले निर्णय गर्नुहोला भन्ने आश छ ।’

कांग्रेस मोरङका ६ वटै निर्वाचन क्षेत्रका उम्मेदवारको नाम सिफारिस गरेको छ । प्रतिनिधिसभाको ६ वटा क्षेत्र मध्ये कांग्रेस नेता डा.कोइराला मोरङमा ‘हेवीवेट’ उम्मेदवार हुन् ।

क्षेत्र नम्बर ६ बाट उनको नाम सर्वसम्मतको प्रयास गरिए पनि हुन सकेन, सो क्षेत्रबाट डा. कोइरालासहित ४ जनाको नाम सिफारिस भएको छ । राष्ट्रिय सभा संसदीय दलका नेता रमेशजंग रायमाझी, प्रतिनिधिसभा सदस्य डा. डिला संग्रौला र पूर्वसांसद शिवकुमार बस्नेतको नाम सिफारिस भएको क्षेत्रीय समितिका सचिव जितेन्द्र गोल्छाले बताए । क्षेत्र नम्बर ४ बाट सिफारिस भएको रायमाझी, संग्रौला र बस्नेत पार्टी संस्थापन पक्षका नेता हुन् ।

प्रकाशित मिति : २० भाद्र २०७९, सोमबार १३:४९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।