नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नागरिकता विधेयक यस पटक राष्ट्रपतिले प्रमाणीकरण गर्नैपर्ने बताएका छन् ।
सोमबार जनकपुरधाममा मधेस प्रदेशमा रहेका माओवादीका केन्द्रीय सदस्यहरुको बैठक सहभागी हुन आएका उनले संविधानतः राष्ट्रपतिलाई एक पटकमात्र विधेयक फिर्ता गर्ने अधिकार रहेकाले अब प्रमाणीकरण हुनेमा ढुक्क रहेको बताए ।
उनले राष्ट्रपति विद्यादेवी भण्डारीले यस पटक पनि नागरिकता विधेयक प्रमाणीकरण गर्न आलटाल गरेमा अदालतमा जाने चेतावनीसमेत दिए । उनले भने, ‘दुवै सदनबाट पारित भएर राष्ट्रपतिकहाँ प्रमाणीकरणका लागि नागरिकता विधेयक गइसकेको छ, उहाँले पारित गर्नुपर्ने हुन्छ, तर एक पटक फिर्ता गरेपछि राष्ट्रपतिले अब अर्को पटक फिर्ता गर्ने अधिकार छैन ।
अर्को प्रसंगमा अध्यक्ष प्रचण्डले मुलुक निर्वाचनको तयारीमा रहेको भन्दै अहिले गठबन्धनले प्रतिनिधिसभातर्फ सिट संख्या टुङ्ग्याइसकेको बताए । उनले मधेस प्रदेशमा आफ्नो पार्टीले ९ वटा प्रतिनिधिसभा सिटमा दाबी गर्ने बताए ।
फरक प्रसँगमा पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले भने, ‘शैक्षिक क्षेत्रलाई सीपसँग जोडनुको विकल्प छैन् । वर्तमान २१ औ शताब्दीमा विश्वका शैक्षिकस्तरसँग नेपालको शिक्षास्तरलाई तुलानात्मक रुपमा अगाडि बढाउनुपर्छ ।
यहाँका शिक्षालयमा विश्वस्तरमा प्रतिस्पर्धा गरिने किसिमको प्राविधिक शिक्षा प्रदान गर्नु अत्यन्त आवश्यक छ । नेपालका विद्यार्थीहरु पनि शिक्षासँग सीप र आर्थिक विकासको पाटो सहितको शिक्षा हाँसिल गर्ने शिक्षालयको स्थापना हुनु आवश्यक छ । तसर्थ बहुप्राविधिक शिक्षालयको अहम भूमिका रहेको छ ।
नेपालको शिक्षा विश्वस्तरमा पहिचान गराउने किसिमको हुनुपर्नेमा अध्यक्ष प्रचण्डले जोड दिएका छन् । निर्मल लामा बहु प्राविधिक शिक्षालय मधेश प्रदेशमा मात्र सीमित नभई यसले देशभरिकै शिक्षा क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गर्नेमा प्रचण्डले विश्वास व्यक्त गरेका छन् ।
कार्यक्रममा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल, शिक्षा राज्यमन्त्री वोधमाया यादव, पूर्वशिक्षामन्त्री गिरिराजमणि पोखरेल, मधेश प्रदेशका गृह तथा संचारमन्त्री भरतप्रसाद साहलगायका वक्त्ताहरुले निर्मला लामा बहुप्राविधिक शिक्षालयको आवश्यकता र भूमिकाको विषयमा चर्चा गरेका थिए ।




















प्रतिक्रिया