Logo

खेलकुद

लेवान्डोस्कीको ह्याट्रिकमा बार्सिलोनाको शानदार जित



काठमाडौं । स्पेनिस क्लब बार्सिलोनाले च्याम्पियन्स लिगमा विजयी सुरुवात गरेको छ । उसले गएराति  समूह ‘सी’ अन्तर्गतको खेलमा चेक क्लब भिक्टोरिया प्लेजनलाई ५–१ ले हराउँदै विजयी सुरुवात गरेको हो ।

घरेलु मैदान क्याम्प नोउमा बार्सिलोनालाई जित दिलाउन रोबर्ट लेवान्डोस्कीले ह्याट्रिक पूरा गर्दा फ्रान्क केस्सी र फेरान टोरेसले एक/एक गोल गरे । प्लेजनका जान सिकोराले एक गोल फर्काए । खेलको १३ औं मिनेटमा केस्सीको गोलमार्फत बार्सिलोनाले अग्रता लिएको थियो । 

३४ औं मिनेटमा लेवान्डास्कीले टोलीको  अग्रता दोब्बर पारे । ४४ औं मिनेटमा सिकोराले खेललाई २–१ को अवस्थामा ल्याए । पहिलो हाफको थप गरिएको समयमा लेवान्डोस्कीले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरे ।

६७ औं मिनेटमा लेवान्डोस्कीले ह्याट्रिक पूरा गर्दा बार्सिलोना ४–१ ले अघि बढ्यो । ७१ औं मिनेटमा टोरेसले गोल गर्दै घरेलु टोलीलाई ५–१ को शानदार जित दिलाए । जितसँगै बार्सिलोनाले ३ अंक जोड्दा प्लेजनले हारबाट प्रतियोगिताको सुरुवात गरेको छ ।

यही समूहको अर्को खेलमा जर्मन क्लब बायर्न म्युनिखले इटालियन क्लब इन्टर मिलानको घरेलु मैदान सान सिरोमा २–० को जित निकाल्यो ।

प्रकाशित मिति : २३ भाद्र २०७९, बिहीबार ०७:१२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।