काठमाडौं । बंगलादेश छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनल नजिक पुगेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको खेलमा पाकिस्तानलाई ६–० गोलको फराकिलो अन्तरले हराउँदै बंगलादेश अन्तिम चारको नजिक पुगेको हो ।
बंगलादेशको फराकिलो जितमा कप्तान सबिना खातुनले ह्याट्रिक गोल गरिन् । यस्तै मोनिका चक्मा, मोसाम्मत शोप्ना र रितु पोर्नाले एक एक गोल गरिन् । खेलको तेस्रो मिनेटमा मोनिकाले गोल गर्दै बंगलादेशलाई सुरुआती अग्रता दिलाएकी थिइन् ।
२८ औं मिनेटमा शोप्नाले गोल गर्दा बंगलादेश २–० ले अघि रह्यो । खेलको ३१ औं मिनेटमा सबिनाले गोल गर्दै टिमको अग्रता तेब्बर बनाइन्। लगत्तै ३५ औं मिनेटमा सबिनाले व्यक्तिगत दोस्रो गोल गर्दा बंगलादेश ४–० ले अघि रह्यो ।
खेलको ५९ औं मिनेटमा सबिनाले ह्याट्रिक पूरा गर्दै बंगलादेशलाई ५–० को अग्रता दिलाइन् । सबिना जारी महिला साफमा ह्याट्रिक गर्ने पहिलो खेलाडी हुन् । बंगलादेशको यो लगातार दोस्रो जित हो भने पाकिस्तानको भने यो लगातार दोस्रो हार हो ।
यस जितसँगै समूह ए को बंगलादेशले २ खेलमा ६ अंक जोडेको छ । बंगलादेश शीर्ष स्थानमा उक्लिएको छ । पहिलो खेलमा बंगलादेशले माल्दिभ्सलाई ३–० ले हराएको थियो । पाकिस्तान २ खेलमा अंक विहीन रहँदै पुछारमा छ । पहिलो खेलमा पाकिस्तानले भारतसँग ३–० गोलको हार व्यहोरेको थियो ।




















प्रतिक्रिया