Logo

खेलकुद

कहाँ छन् बलात्कार आराेपीत क्रिकेटर सन्दीप लामिछाने ?



काठमाडौं । बलात्कार आरोपमा उजुरी परेपछि क्यारेबियन प्रिमियल लिग (सीपीएल) छाडेर छिट्टै नेपाल आउने बताएका क्रिकेटर सन्दीप लामिछाने लापत्ता भएका छन् । जिल्ला अदालत काठमाडौंले लामिछानेलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको बुधबार एक हप्ता बितिसकेको छ ।

प्रहरी परिसर काठमाडौंमा एक किशोरीले आफूमाथि बलात्कार भएको भन्दै लामिछानेविरुद्ध उजुरी दिएको तीन दिनपछि गत बिहीबार जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको थियो । अदालतले पक्राउ पुर्जी जारी गरेपछि गत शुक्रबार लामिछानेले सामाजिक सञ्जालमार्फत आफू नेपाल फर्किने बताएका थिए ।

उनले नेपाल आउने बताएपछि अध्यागनमन विभागले पनि उनलाई कालो सूचीमा राख्यो । नेपाल आउनासाथ पक्राउ गर्ने तयारीका साथ उनलाई कालो सूचीमा राखिएको थियो । तर, बुधबारसम्म उनी नेपाल आएनन् ।

सन्दीप आफैँ नेपाल नफर्केपछि प्रहरी अहिले उनलाई विमानस्थलमा कुरेरै बसेको छ । नेपाल प्रहरीका सहायक प्रवक्ता एसएसपी दानबहादुर कार्कीका अनुसार सन्दीप आफैँ नआएसम्म प्रहरीले हालका लागि उनलाई पक्राउ गर्ने कुनै उपाय छैन । उनले जिल्ला अदालतमा अभियोजन नभएसम्म रेडर्कनर नोटिस जारी हुँदैन ।

प्रहरीले अहिले घटनाबारे अनुसन्धान गरिरहेको उनले जानकारी दिए । घटना अनुसन्धानमै रहेकाले धेरै विषय सार्वजनिक गर्न नमिल्ने उनले बताए ।

प्रकाशित मिति : भाद्र २९, २०७९ बुधबार  ८ : ५३ बजे

63
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।