Logo

बैंकिङ

पाँच करोड भन्दा बढी कारोबार गर्ने  १४ हजार करदाताले एक्सलमा खरिद-बिक्री खाता बुझाउनुपर्ने 



पाँच करोड रुपैयाँभन्दा धेरैको कारोबार गर्ने व्यवसायीले कम्प्युटर प्रणालीअन्तर्गत एक्सलमा खरिद तथा बिक्री खाता बुझाउनु पर्ने भएको छ । आर्थिक अध्यादेश २०७८ ले कर अधिकृतले गर्दै आएको प्रमाणीकरण व्यावसायी आफैंले गर्ने भनेपछि सो व्यवस्था लागू गरिएको हो । 

यसका लागि पहिलो चरणमा आन्तरिक राजस्व विभागले १४ हजार ८० वटा करदातालाई छनोट गरेको छ । अब यी करदाताले कर तथा बिजकको विवरण बुझाउनुअघि एक्सलमा खरिद-बिक्री खाता बुझाउनुपर्ने हुन्छ । 

यसअघि बिक्री खाता म्यानुअल रुपमा प्रयोग गर्दै आएको थियो । यो खातालाई कर अधिकृतले प्रमाणिकरण गर्दै आएका थिए । अब यो व्यवस्था खारेज गरिएको छ । अब व्यवसायीले कम्प्युटरमा रहेको एक्सलको प्रति नै फोटोकपी गरी प्रमाणित गरेर राख्न सक्नेछन् ।

खरिद खाता र बिक्री खाता एक्सलमा परिणत गरी पठाउनु पर्नेछ । कर अधिकृतले प्रमाणित गरेको खाताले अब काम गर्ने छैन । यो अडिट गर्ने बेलामा मात्रै हेरिन्थ्यो । आर्थिक ऐन २०७८ ले कर अधिकृतले खरिद तथा बिक्री खाता प्रमाणित गर्ने व्यवस्थालाई खारेज गरेको हो ।

अब करदाता आफैंले खरिद तथा बिक्री खाता प्रमाणित गर्ने व्यवस्था राखिएको छ । जसमा मूल्य अभिवृद्धि कर (भ्याट) मा २ लाख करदाता दर्ता भएका छन् । यी करदाताले सबैले खरिद बिक्री खाता एक्सलमा बनाउनु पर्छ । 

यस्तै नियमावलीमा विद्युतीय बिल बिजक लिएका र आन्तरिक राजस्व विभागले तोकेको करदाताले  खरिद खाता बिक्री खाताको एक्सलमा बुझाउनु पर्नेछ भनि उल्लेख छ । जसअनुसार विभागले गत आर्थिक वर्ष २०७७/०७८ मा पाँच करोडभन्दा धेरै कारोबार गर्ने करदाताले खरिद बिक्री खाता कम्प्युटर प्रणाली अनुसार एक्सलमा बुझाउनु पर्नेछ ।

यसरी विभागले १४ हजार ८० करदातालाई समावेश गरेको छ । यी करदाताले अब प्रत्येक महिना कर तथा विवरण बुझाउनुअघि एक्सलमा खरिद तथा बिक्री खाता बुझाउनु पर्नेछ ।

प्रकाशित मिति : ३० श्रावण २०७८, शनिबार १०:५३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।