Logo

प्रमुख समाचार

समानुपातिक उम्मेदवार धेरै भएपछि पुनः सर्ट लिस्ट बनाएर पठाउन प्रदेशलाई माओवादीकाे निर्देशन



काठमाडौं । नेकपा माओवादी केन्द्रले तल्लो तहबाट सिफारिस भइ आएका समानुपातिक उम्मेदवारको संख्या धेरै भएपछि प्रदेशलाई पुनः सर्ट लिस्ट बताएर पठाउन निर्देशन दिएको छ । आइतबार बिहान बसेको पदाधिकारी बैठकले प्रदेशबाट समानुपातिक उम्मेदवार संख्या धेरै आएपछि अन्तिम टुंगो लगाउन समस्या भएका कारण पुनः सर्ट लिष्ट बनाएर पठाउन निर्देशन दिएको माओवादी सचिव गणेश शाहले जानकारी दिए ।

प्रदेशबाट सर्टलिस्ट आएपछि पुनः सोमबार बिहान पदाधिकारी बैठक बसेर समानुपातिक सूचीलाई अन्तिम रुप दिइने उनले बताए । बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामै सोमबार बिहान ९ बजे बस्ने छ ।

आज बसेको पदाधिकारी बैठकले अन्तरिम विधायक बाहेक एक पटक समानुपातिक सांसद भइसकेकालाई दोहोर्याउने विषयमा छलफल भएको उपमहासचिव गिरिराजमणि पोखरेलले बताए । ‘समानुपातिक सांसद बनाउँदा राखिने मापदण्डका विषयमा बैठकमा गम्भीर छलफल भयो । अन्तरिम विधायक बाहेक एक पटक समानुपातिक सांसद भइसकेकालाई नदोहोर्याउने भन्ने छ’ पोखरेलले भने, ‘गत वैशाख ३० गतेको स्थानीय तह चुनावमा पराजित भएका र राजनीतिक नियुक्ति लिइसकेका व्यक्ति समानुपातिकमा नराख्ने भन्ने छ । अरु यसअघि बनाएको मापदण्डलाई कडाइका साथ पालना गर्ने भन्ने छ ।’

समानुपातिक लिष्टमा राख्ने व्यक्ति भन्दा मापदण्डमा बढी केन्द्रित भई छलफल भएको पोखरेलले बताए । निर्वाचन आयोगले आज र भोलि (असोज २ र ३ गते) समानुपतिकतर्फको उम्मेदवारको बन्द सूची बझाउन दलहरुलाई भनेको छ ।

प्रकाशित मिति : २ आश्विन २०७९, आईतवार १२:४९   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।