Logo

खेलकुद

सन्दीप लामिछानेलाई पक्राउ गर्न इन्टरपोलमा पत्राचार



काठमाडौं । बलात्कार आरोपीत क्रिकेटर सन्दीप लामिछानेलाई पक्राउ गर्न नेपाल प्रहरीले अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)लाई पत्राचार गरेको छ । प्रहरी प्रधान कार्यालयका एकजना उच्च अधिकृतका अनुसार आइतबार सन्दीपविरुद्ध नोटिश जारी गर्न इन्टरपोल शाखामार्फत अनुरोध गरिएको हो ।

सदस्य राष्ट्रका प्रहरी संगठनहरुको आग्रहमा इन्टरपोलले रेड, एल्लो जस्ता नोटिस जारी गर्दै आएको छ । क्यारेबियन प्रिमियर लिग क्रिकेट (सीपीएल) खेल्नका लागि जमैकामा रहेका लामिछाने आफूविरुद्ध बलात्कार मुद्दामा जाहेरी दर्ता भएपछि बेपत्ता छन् ।

भदौ २३ मा उनलाई नेपाल क्रिकेट संघ (क्यान) ले कप्तानबाट निलम्बन गरेको थियो । क्रिकेट संघले निलम्बन गरेपछि सन्दीपले सामाजिक सञ्जाल फेसबुक र ट्वीटरमार्फत आफू निर्दोष रहेको भन्दै कानुनी लडाइँ लड्ने बताएका थिए । तर, कानुनी लडाईं लड्न नेपाल फर्किनुको साटो उनी विदेशमै हराएका हुन् ।

सन्दीप विरुद्ध १७ वर्षीया किशोरीले भदौ २१ मा जबर्जस्ती करणीको कसुरमा प्रहरी वृत गौशालामा किटानी जाहेरी दिएकी थिइन् । उनले नाबालिगलाई भक्तपुरको चाँगुनारायण नगरपालिका–८ सुडालस्थित बोजिनी रिसोर्टमा दुई घण्टा राखेको भेटिएको छ ।

भदौ ५ मा सन्दीपले आफुलाई नगरकोटस्थित विभिन्न होटलमा घुमाएर फर्केपछि राति एयरपोर्टस्थित होटल ‘काठमाडौं इन’मा लगेर पटक–पटक बलात्कार गरेको १७ वर्षीया नाबालिगको आरोप छ ।

प्रकाशित मिति : आश्विन २, २०७९ आईतबार  १० : ५२ बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।