काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले संविधानको प्रमुख पालक र संरक्षकबाटै सचेतनापूर्वक संविधानको पालन र संरक्षण हुन नसकेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीमाथि प्रश्न उठाएका छन् । आज (बुधबार) विज्ञप्ति जारी गर्दै उपराष्ट्रपति पुनले राष्ट्रपतिको कदमविरुद्ध बृहत् जनआवाज उठिरहेकोप्रति दुःख व्यक्त गरेका छन् ।
‘संविधानको पालना गर्नु प्रत्येक व्यक्तिको कर्तव्य हो । संविधानबमोजिम सबैबाट आ(आफ्नो कर्तव्य पालना गर्नुका साथै संविधानको पालना र संरक्षण हुनुपर्दछ,’ विज्ञप्तिमार्फत उपराष्ट्रपति पुनले भनेका छन्, ‘पछिल्ला दिनमा विकसित घटनाक्रमले संविधानको प्रमुख पालक र संरक्षकबाट नै सचेततापूर्वक संविधानको पालन र संरक्षण हुन नसकेको भनी वृहत् जनआवाज उठिरहेको छ । यो आवाज उठ्ने परिस्थितिको सिर्जना हुनु ज्यादै दुःखद पक्ष हो ।’
दुवै सदनबाट पास भएको नागरिकता विधेयक राष्ट्रपतिले अस्वीकृत गरेपछि जनमत विभाजित भएको छ । एकथरि राजनीतिक दल र नागरिक समाजले असंवैधानिक कदम भन्दै विरोध गरेका छन् भने अर्काथरिले समर्थन गरेका छन् । यस्तोमा उपराष्ट्रपति पुनले भने संविधानको पालन र संरक्षणको जिम्मेवारीमा रहेकाहरूलाई संविधानको दायराभन्दा बाहिर जाने छुट नभएको बताएका छन् ।





















प्रतिक्रिया