Logo

प्रमुख समाचार

अख्तियारको वार्षिक प्रतिवेदन : एक वर्षमा १६ हजार २३८ वटा उजुरी दर्ता



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा गत आर्थिक वर्षमा १६ हजारभन्दा बढी उजुरी दर्ता भएको छ । अख्तियारले बुधाबार वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै एक वर्षमा १६ हजार २३८ वटा उजुरी दर्ता भएको जनाएको हो । आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार आर्थिक वर्ष २०७७–०७८ मा अनुसन्धान पुरा नभएका सहित २४ हजार ३३१ उजुरीमाथि आयोगले गत आर्थिक वर्षमा अनुसन्धान गरेको छ ।

स्थानीय निकाय र सङ्घीय मामिला मन्त्रालयसँग सम्बन्धित भ्रष्टाचारका उजुरी सबैभन्दा बढी परेको छ । कुल उजुरीमध्ये ३३ प्रतिशतभन्दा बढी उजुरी संघीय मामिला र स्थानीय निकायसँग सम्बन्धित छन् । शिक्षा मन्त्रालय मातहतमा हुने भ्रष्टाचारका उजुरी १५ प्रतिशतभन्दा बढी आएको छ ।

प्रदेश स्तरमा मधेस प्रदेशबाट सबैभन्दा बढी भ्रष्टाचारको उजुरी परेको छ । कुल उजुरीमध्ये मधेस प्रदेशबाट २४ दशमलव २५ प्रतिशत उजुरी आएको प्रवक्ता भण्डारीले जानकारी दिए । बागमती प्रदेशबाट २४ दशमलव १३ प्रतिशत भ्रष्टाचारको उजुरी आएको छ ।

गत आर्थिक वर्षमा आयोगले विस्तृत अनुसन्धान सकेर १३१ वटा मुद्दा विशेष अदालतमा दर्ता गरेको छ । जसमध्ये सबैभन्दा बढी सार्वजनिक सम्पत्तिको हानिनोक्सानीसम्बन्धी रहेको जनाएको छ । सम्पत्ति हानि नोक्सानीका ३५ वटा मुद्दा, गैरकानुनी लाभ वा हानि पुर्‍याएको सम्बन्धी मुद्दा ३४ वटा छन् ।

यस्तै, घूससँग सम्बन्धित मुद्दाको संख्या ३२, झूठा शैक्षिक प्रमाणपत्रसँग सम्बन्धित मुद्दा ६, गैरकानुनी सम्पत्ति आर्जन सम्बन्धी ७, राजस्व चुहावटसम्बन्धी ५ र विविधसम्बन्धी १२ वटा मुद्दा दायर गरेको अख्तियारले जनाएको छ । ती मुद्दामा ५ सय ३८ पुरुष र १०१ महिला गरेर ६ सय ३९ जना प्रतिवादी रहेको अख्तियारको प्रतिवेदनमा उल्लेख छ । यस्तै ती मुद्दामा अख्तियारले २ अर्ब ७९ करोड २७ लाख ४८ हजार बराबरको बिगो मागदाबी पनि गरेको छ ।

प्रकाशित मिति : ५ आश्विन २०७९, बुधबार १९:५०   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।