Logo

अन्तर्वार्ता

पालिकामा संघ र प्रदेशबाट पहुँचको आधारमा बजेट आउनु गलत : जगतबहादुर गुरुङ



नुवाकोटको ऐतिहासिक प्रशिद्ध गढी बेलकोटगढी, चिम्टेश्वोर महादेव जस्ता प्रशिद्ध तिर्थस्थल रहेको नगरपालिका हो बेलकोटगढी । ‘कृषि, पर्यटन सहितको पूर्वाधार, विकासको मुल आधार’ भन्ने यो नगरपालिकाको नारा नै छ । यही उद्देश्यलाई केन्द्रमा राखेर काम भइरहेको जनप्रतिनिधि बताउँछन् । पालिकामा प्रारम्भिक चरणमा थालिएका काम, आगामी योजना र पालिकाको समग्र विषयमा बेलकोटगढीका प्रमुख जगतबहादुर गुरुङसँग अनलाइनपानाकर्मी रामनाथ कुँवरले कुराकानी गरेका छन् । प्रस्तुत छ, कुराकानीको सम्पादित अंशः

कार्यकालको प्रारम्भमा हुनुहुन्छ । सुरुवाती चरणमा के कस्ता कामहरु अगाडि बढाउनुभएको छ ?
हामी बेलकोटगढीमा निर्वाचित भएर आएपछि सर्वप्रथम कार्यपालिका बैठक सम्पन्न गरायौं । त्यसैगरी हामीले चालु आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम बनायौं । बजेट विनियोजन गरेर सभाबाट पारित पनि गरियो । हामी निर्वाचित हुने वितिक्कै वर्खा पनि सुरु भयो । विभिन्न किसिमका विपत्तिहरु आए । पहिरोहरु गयो, खेतबारी पुरियो । यस्तो विपद्को व्यवस्थापन गर्न हामीले विपद् व्यवस्थापन समिति बनाएर समस्याहरु समाधान ग¥यौं ।

विगतको सरकारले गरेको कामहरुको अध्ययन गरेर, अनुगमन गरेर हामीले कमीकमजोरीहरु औंल्याएर त्यसलाई सुधार गर्ने नीति तथा कार्यक्रम ल्याएका छौं । शिक्षा, कृषि र संरचना निर्माणलाई बढी महत्व दिएर हामीले बजेटको विनियोजन गरेका छौं । भर्खरै हामीले नगरपालिकामा निर्वाचित भएर आएको एकसय दिनको कामहरु प्रस्तुत गरेका छौं । हामीले नगरवासीलाई निःशुल्क रुपमा स्वास्थ्य सेवा प्रदान गर्नका लागि नगरपालिकामा ६ वटा एम्बुलेन्स खरिद गर्न बजेट विनियोजन गरेका छौं । त्योमध्ये तीन वटा एम्बुलेन्स हामी छिट्टै खरिद गर्दै छौं । यहाँको स्वास्थ्य चौकीहरुको स्तर उन्नति गरेका छौं । हामीले सामाजिक सुरक्षा भत्ता र स्वास्थ्य सेवा घर दैलोमै पुगेर प्रदान गर्ने गरेका छौं ।

शिक्षा गुणस्तरीय हुनु पर्छ भन्ने नारालाई व्यवहारमा उतार्न हामीले कामहरु सुरु गरेका छौं । त्यसका लागि विद्यालयका प्रधानध्यापक, व्यवस्थापन समितिहरुसँग छलफल र परामर्श सुरु गरेका छौं । शिक्षण प्रणालीलाई सुधार गर्ने र प्रविधिलाई भित्र्याउन हामी अगाडि बढीसकेका छौं । हाम्रो नगरपालिकामा १३ वटा वडाहरु छन् । एउटा वडाको एक विद्यलयलाई बालमैन्त्री विद्यालय बनाउने अवधारणा सुरु गरेका छौं । कतिपय विद्यालयमा नुमना विद्यालयका योजनामा काम भइरहेको छ । यसरी हामी शिक्षालाई गुणस्तरीय, व्यवहारिक र सबैको पहुँचमा पु¥याउन अगाडि बढेका छौं । मातृभाषामा पठनपाठन गर्न, कृषि विषयलाई अनिवार्य गर्न हामीले अध्ययन थालेका छौं ।

त्यसैगरी हामीले कृषिलाई आधुनिकीकरण, यान्त्रिकरण र वैज्ञानिकीकरण गर्न हामीले तीन अवधारणाबाट अगाडि बढिरहेका छौं । माटो जाँच देखि लिएर विज्ञहरुसँग छलफल गर्ने काम भइरहेको छ । बीउबिजनलाई किसानको घर दैलोमा पु¥याउने कार्यक्रम राखेका छौं । कृषिलाई विकास गर्न हामीले विभिन्न संघसंस्थाहरुसँग छलफलहरु अगाडि बढाएका छौं ।

बेलकोटगढी नगरपालिका नाम मात्रैको नगरपालिका हो । यहाँको सडकहरु अत्यन्तै जीर्ण छन् । यसलाई हामी संघ र प्रदेशसँग समन्वय गरेर छिट्टै स्तरोन्नती गर्ने छौं । अब हामी सबै योजनाहरुको सम्झौता र टेण्डर गर्ने चरणमा छौं । त्यसैले सयदिन भित्रमा हामीले सबै नीति तथा कार्यक्रम, योजनाहरु र बजेटको तर्जुमा गर्न सफल भएका छौं ।

अहिलेको बेलकोटगढी र आगामी पाँच वर्षको बेलकोटगढीमा हामीले के फरक पाउँछौं ?
हामीले बेलकोटगढीको विकास गर्न तीन किसिमका अवधारणा बनाएका छौं । एक वर्षे, तीन वर्षे र पाँच वर्षे गरी हामीले अवधारणा बनाएका छौं । सबै काम एकै वर्षमा गर्न सकिँदैन । तीन वर्षमा पनि गर्न सकिँदैन । पाँच वर्षमा भने हामीले एउटा लय लिनेछौं । मैले अघि पनि भने शिक्षामा गुणस्तर गर्ने, सबैको पहुँचमा निःशुल्क स्वास्थ्य, कृषिमा आधुनिकीकरण, यान्त्रिकरण र वैज्ञानिकीकरण गर्ने जस्ता उद्देश्य छ ।

यहाँका स्रोत साधनहरु अत्यन्त कम छन् । सडक हाम्रो पालिकाको मात्रै बजेटले नबन्ने हुनाले हामी माथिका सरकारहरुसँग समन्वय गर्ने छौं । हामी निर्वाचित भएर आएपछि एमसिएसँग समन्वय गरेर हाम्रो पालिकामा ठूलो जलविद्युतको आयोजना निर्माणाधीन छ । अहिले पनि हामी विद्युतीकरणका कामलाई प्रथामिकतामा राखेका छौं । खानेपानीमा एक घर एक धाराको योजना अगाडि बढिरहेका छौं । यसरी हामी नगरपालिकामा अनियमितता हटाएउँदै सुशासनलाई अगाडि बढाउन लागि परेका छौं ।

हामीले पहिचानसहितको उत्पादन र विकासका कामहरु अगाडि बढाइरहेका छौं । आन्तरिक पर्यटकलाई आकर्षित गर्नका लागि हामीले यहाँ भएका धार्मिक तथा पुरातात्विक महत्वका ऐतिहासिक ठाउँहरुको विकास गर्ने छौं । त्यसो हुनाले हामी उत्पादन र पर्यटन विकासलाई एक साथ लैजाने गरी हामी अगाडि बढिरहेका छौं । यहाँ हाम्रो सहिद पार्क बनाउने योजना छ । बागाखोरमा एउटा पार्क छ, त्यसलाई पनि हामी अझै व्यवस्थित गर्दै लैजान्छौं । सामुदायिक भवनहरुको निर्माण गर्ने हाम्रो योजना छ ।

बेलकोटगढीको विकासका लागि केन्द्र र प्रदेश सरकारको साथ कस्तो छ र समन्वय कसरी गर्दैहुनुहुन्छ ?
केन्द्र र प्रदेशसँग बजेटको माग गर्न यो आर्थिक वर्षमा हामी पछाडि परियो । कसरी संघ र प्रदेशबाट पालिकामा राम्रो बजेट ल्याउन सकिन्छ भनेर राम्रै तरिका छ । मैले निर्वाचित भएपछिको यो अवधिमा पनि पर्यटन मन्त्रालय, सहरी विकास मन्त्रालय, शिक्षा मन्त्रालयहरुमा मैले राम्रोसँग आफ्ना मागहरु राखेको छु । एउटा दुःखको कुरा छ, हाम्रो देशमा पहुँचको आधारमा बजेट विनियोजन हुन्छ । त्यसो हुनाले हामी पालिकाको विकासका लागि केन्द्र र प्रदेशसँग जति सक्ने त्यति समन्वय गर्ने छौं ।

स्थानीय तहमा धेरै अनियमितता हुने गरेका हामीले सुन्दै आइरहेका छौं । तपाईँको नगरपालिकामा भ्रष्टभाचार हुन नदिने कस्ता नीति अवलम्वन गर्नुभएको छ ?
स्थानीय तहमा अनयिमितता हुनुमा नीतिगत समस्या र पालिकाको कार्यविधिमा भर पर्छ । हाम्रो पालिकामा पनि हामी भर्खरै निर्वाचित भएर आउँदा धेरैले यहाँ धेरै बेरुजु भएको, बजेट हिनामिना भएका कुराहरु सुनाए । त्यसपछि मैले राम्रो अध्ययन गरेँ । केही दिन अगाडि मात्रै महालेखा परीक्षकका साथीहरुले हाम्रो पालिकामा अनुगमन गरेर पहिलाको जस्तो बेथिति नभएको रिपोर्ट पेश गरेर जानुभयो ।

हामी के कुरामा सचेत छौं भने हामीले नीति तथा कार्यक्रम अनुसार हाम्रो कार्यविधि, नगरसभा र कार्यपालिकाले के के काम गर्न सक्छौं, भन्ने कुरामा हामी जनप्रतिनिधिहरु स्पष्ट हुन पर्छ । विनियोजन गरिएको बजेटलाई कार्यन्वयन गर्ने क्रममा त्यसको अनुगमनको पाटोलाई चुस्त दुरुस्त राख्न सक्नु पर्छ । सर्वजनिक सुनुवाइ सबै भन्दा विश्वासिलो प्रक्रिया हो । यसलाई मात्रै हामीले निरन्तर गर्न सकेमा ९० प्रतिशत बेथिति हट्छ । त्यसो गर्दा आर्थिक सुशासन हुन्छ । हामीले राखेको उद्देश्य अनुसार काम भयो कि भएन भनेर अनुगमन गर्न जरुरी हुन्छ ।

योजना र बजेटका विषयमा जनप्रतिनिधिले जनतासँग छलफल नै नगरेका गुनासाहरु पनि विगतमा सुनिए । तपाईँहरु के कसरी अगाडि बढ्दै हुनुहुन्छ ?
पालिकाले सबै जनताको सबै खाले मागहरु एकै पटकमा पुरा गर्न सकिँदैन । विशेषगरी व्यक्ति विशेषको मागलाई सम्बोधन गर्न गाह्रो हुन्छ । तर पनि हामी सबैका समस्याहरु मिलेसम्म समाधान गर्ने छौं । हामीले राखेको उद्देश्य अनुसार काम भएको या नभएको निर्क्यौल गर्ने छौं । कुनै पनि योजना पुरा हुँदा कति जनता लाभान्वित भए भनेर रिपोट निकाल्ने छौं । हामीले ल्याएको नीति तथा कार्यक्रम जनताको पक्षमा भएको प्रतिक्रिया आएको छ ।

तर यो कार्यन्वयन गर्ने कुरामा भने चुनौती छ । जनताको पनि अहिले त्यसैमा ध्यान छ । त्यसो हुनाले हामी सबै काममा जनसहभागिता गर्ने छौं । निर्वाचित भएर आएयता अहिलेसम्म जनताबाट कुनै गुनासो आएको छैन । अब पनि गुनासो नआउने गरी काम गर्ने छौं । मैले अगाडि पनि भने हामी समय समयमा सार्वजनिक सुनुवाइ गर्ने छौं । त्यसो हुनाले हामी यो कार्यकालमा जनताको चाहाना, माग र आवश्यक्ता भन्दा बाहिर गएर काम गर्ने छैनौं ।

प्रकाशित मिति : आश्विन ६, २०७९ बिहीबार  ६ : १८ बजे