Logo

राजनीति

राष्ट्रपतिको कदमविरुद्ध सर्वोच्चमा पाँच वटा रिट, शुक्रबार एकमुष्ट सुनुवाइ हुने



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयकलाई प्रमाणीकरण नगरेको भन्दै सर्वोच्च अदालतमा पाँच वटा रिट दर्ता भएका छन् । संसद्का दुवै सदनले पुर्निविचार गरी दोस्रो पटक पठाइएको नागरिकता विधेयकलाई राष्ट्रपतिले समयसीमाभित्र प्रमाणीकरण गर्नुपर्ने बाध्यात्मक व्यवस्था भए पनि त्यसलाई राष्ट्रपतिले उल्लंघन गरेको यी सबै रिट दर्ता भएका हुन् ।

राष्ट्रपतिको कदमलाई लिएर राष्ट्रपति कार्यालयविरुद्ध हालसम्म पाँच वटा रिट दर्ता भएको सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले जानकारी दिए । राष्ट्रपतिलाई विपक्षी बनाउन नहुने संवैधानिक व्यवस्था भएकाले रिटमा राष्ट्रपतिको कार्यालयलाई विपक्षी बनाइएको छ । अधिवक्ता डा. सुनिल रञ्जन सिंह, सरिता थापा, सागर बराल, देव शर्मालगायतका अधिवक्ताहरुले रिट दायर गरेका हुन् ।

प्रतिनिधिसभाका सभामुख र राष्ट्रियसभाका अध्यक्षद्वारा दोस्रो पटक प्रमाणीकरणका लागि पेश गर्दा उक्त विधेयकलाई प्रमाणीकरण नगरी राष्ट्रपतिद्वारा नेपालको संविधानको धारा ११३ (४) को उल्लंघन गरेको रिटमा उल्लेख छ।

सर्वोच्चका प्रवक्ता पौडेलका अनुसार अब सबै रिटलाई एउटै इजलासमा राखेर एकमुष्ट सुनुवाइ गरिने छ । रिटको पेशी भोलि (शुक्रबार)लाई तोकिएको पौडेलले बताए । संसद्का दुवै सदनले पुनर्विचार गरेर भदौ २० गते दोस्रो पटक गएको विधेयक राष्ट्रपतिले संवैधानिक सयमसीमा (१५ दिन) भित्र प्रमाणीकरण नगरेपछि उनीमाथि संवैधानिक व्यवस्थामाथि नै प्रहार गरेको आरोप लागेको छ ।

प्रकाशित मिति : आश्विन ६, २०७९ बिहीबार  ८ : १३ बजे