Logo

राजनीति

‘कुन आधारमा ‘लौरो’ स्वतन्त्रको चुनाव चिह्न भनी प्रचार गरियाे ?’



काठमाडौं । निर्वाचन आयोगले कुन आधारमा ‘लौरो’लाई स्वतन्त्र उम्मेदवारहरुको चुनाव चिह्न भनी प्रचार गरिएको हो (?) भन्दै हाम्रो नेपाली पार्टीका अध्यक्ष अनन्तराज घिमिरेलाई स्पष्टीकरण सोधेको छ । स्थानीय तहको निर्वाचनमा कतिपय स्वतन्त्र उम्मेदवारले प्रयोग गरेको चुनाव चिह्न ‘लौरो’ आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा भने ‘हाम्रो नेपाली पार्टी’ले प्राप्त गरेको छ ।

तर उक्त पार्टीका अध्यक्ष घिमिरेले आफू पनि स्वतन्त्र हो भन्दै स्वतन्त्र उम्मेदवारकै रुपमा प्रचारप्रसार गरेको भन्दै आयोगले प्रष्टिकरण माग गरेको हो । आयोगले सोधेको प्रष्टीकरणमा भनिएको छ, ‘तपाईको दललाई प्रदान गरिएको निर्वाचन चिह्न लौरो तपाई दलको अध्यक्ष अनन्तराज घिमिरे लगायतका व्यक्तिहरुले स्वतन्त्र उम्मेदवारको रुपमा प्रचार प्रसार गरेको देखिएकाले के कुन आधारमा स्वतन्त्र उम्मेदवारको चिह्न हो भनी प्रचार प्रसार गर्नुभएको हो ?’

आयोगले सो दलका अध्यक्ष घिमिरेलाई प्रश्न गरेको छ, ‘तपाईको दल निर्वाचन आयोगमा निर्वाचन प्रयोजनका लागि दर्ता भई समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूची समेत पेश गरी निर्वाचन चिह्न लौरोसमेत प्रदान गरिसकिएकोमा लौरो चिह्न स्वतन्त्रको हो र म स्वतन्त्र उम्मेदवार हुँ भनी के कुन आधारमा प्रचार प्रसार गर्नुभएको हो रु त्यसरी स्वतन्त्र उम्मेदवार भनी प्रचार प्रसार गर्न मिल्ने हो होइन ?’

दलको चिह्न स्वतन्त्र उम्मेदवारको चिह्न हो भनी प्रचार प्रसार गर्ने कार्य कानुन विपरीत भई यस्ता भ्रामक कार्यले मतदाता र सर्वसाधारणमा अन्यौलता सिर्जना गरी स्वच्छ निर्वाचनमा प्रतिकुल प्रभाव पार्ने भन्दै आयोगले उक्त पार्टीका अध्यक्ष घिमिरेलाई ‘तपाई र तपाईको दललाई कारवाही किन नगर्ने ?’ भनेर प्रश्न पनि गरेको छ ।

प्रकाशित मिति : आश्विन ७, २०७९ शुक्रबार  ९ : ५० बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।