Logo

कर्पोरेट फोकस

विकास बैंकहरुको मागः धितोपत्र कारोबार गर्न ब्रोकर लाइसेन्स चाहियो



विकास बैंकहरुको छाता संगठन डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपालले पनि धितोपत्र कारोबार गर्न ब्रोकर लाइसेन्स पाउनुपर्ने माग गरेको छ । एसोसिएसनले धितोपत्र सम्बन्धी ऐन २०६३ को दफा ६२ अनुसार धितोपत्र बोर्डको सिफारिसमा नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी प्रचलित कानून बमोजिम स्थापना भएका बैंक तथा वित्तीय संस्थाले आफ्नो सहायक कम्पनीमार्फत मात्र धितोपत्र व्यवसाय गर्न पाउनुपर्ने माग गरेको हो । 

धितोपत्र  ऐनलाई कार्यान्वयन गर्नका लागि नेपाल सरकारबाट स्वीकृति लिइ नेपाल धितोपत्र बोर्डले बनाएको धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को दफा ७ को १ नं. बुँदामा ‘प्रचलित कानून बमोजिम स्थापना भएको ‘क’ वर्गका बैंक वा विशेष ऐन द्वारा स्थापित वित्तीय संस्थाको कम्तिमा ५१ प्रतिशत स्वामित्व भएको सहायक कम्पनीले बोर्डबाट अनुमतिपत्र प्राप्त गरी धितोपत्र दलाल वा धितोपत्र व्यापारीको कार्य गर्न सक्नेछ’ भन्ने व्यवस्थाअनुसार विकास बैंकहरुले पनि आफ्ना सहायक कम्पनीहरु मार्फत धितोपत्र व्यवसाय गर्ने अनुमति प्रदान गरिदिनका लागि नेपाल धितोपत्र बोर्डलाई एसोसिएसनले पत्र लेखेको छ । 

राष्ट्रिय स्तरका बिकास बैंकहरुको औसत चुक्ता पूँजी ३ अर्व ४० करोड रुपैंयाँ नाघिसकेको छ । त्यस्तैगरी विकास बैंकहरुले एक हजार बढी शाखाबाट करिब ४१ लाख खातावालाहरुलाई  बैंकिङ सेवा प्रदान गर्दै ३ लाख बढी ग्राहकलाई कर्जा प्रवाह गरेको एसोसिएसनले जनाएको छ भने २०७८ असार मसान्तसम्ममा ४४५ अर्ब रुपैंयाँ निक्षेप परिचालन गरी ३८३ अर्ब रुपैंयाँ कर्जा प्रवाह समेत गरेको एसोसिएसनले बताएको छ । 

उल्लेखित परिस्थितिमा विकास बैंकहरुले पनि धितोपत्र कारोबार गर्न ब्रोकर लाइसेन्स पाउनुपर्ने माग गरेका हुन् । 

प्रकाशित मिति : २ भाद्र २०७८, बुधबार १६:४३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।