Logo

प्रमुख समाचार

कांग्रेस संस्थापनकाे दाबी : समानुपातिक उम्मेवारको सूची विधानअनुसार तयार भएको हो



काठमाडौं । नेपाली कांग्रेस संस्थापन पक्षले समानुपतिक उम्मेदवारको सूचीमा एकलौटी गरिएको भन्ने आरोपमा कुनै सत्यता नरहेको दाबी गरेको छ । कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले समानुपातिक उम्मेदवारको सूची सर्वसम्मत तयार भएको बताए ।

मंगलबार केन्द्रीय पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा भने, ‘समानुपातिक उम्मेवार सर्वसम्मत चयन भएका हुन् । एकलौटी भयो भन्ने कुरामा कुनै सत्यता छैन । कसैलाई कमजोर र कसैलाई बलियो पर्ने गरी सूची तयार भएको छैन । विधानअनुसार तयार भएको सूची हो । आन्दोलनको कुरा वाञ्छनीय छैन । सबै निर्णय सहमतिमा भएको निर्णय हो ।’ उनले निर्वाचन आयोगले दिएको समय सीमाभित्र समानुपातिक उम्मेदवारको बन्दसूचीमा भएको त्रुटि सच्याइने बताए ।

प्रवक्ता महतले समानान्तर उम्मेदवारी दिनु पार्टीको अनुशासनभित्रको कुरा नभएको बताए । बहुमतबाट नभएर सर्वसम्मत निर्णय भएको भन्दै उनले अनुशासन उल्लंघन गरिए पार्टीले त्यसलाई नजिकबाट हेर्ने पनि बताए । पार्टीमा सभापति शेरबहादुर देउवाले एक्लौटी गरेको भन्दै समान हक र अवसरका लागि केहीदिन यता शेखर पक्षले विभिन्न भेला गर्दै आएको छ भने पार्टी केन्द्रीय कार्यालयमा धर्ना दिएर निर्णय समानुपातिक उम्मेदवारको सूची सच्याउन दबाब दिने तयारी गरेको छ ।

फरक प्रशंगमा प्रवक्ता महतले महामन्त्री विश्वप्रकाश शर्मा नेतृत्वको घोषणा पत्र तयारी समितिले समयमै घोषणापत्र तयार गर्ने पनि बताए । उनले आजभोलि नै पाँच दलीय गठबन्धनबीच सिट बाँडफाँटको टुंगो लाग्ने पनि दाबी गरे । ‘त्यसका लागि छलफल चलिरहेको छ । पार्टीभित्रका लोकप्रिय व्यक्तिलाई टिकट दिइने छ’, उनले भने ।

प्रकाशित मिति : ११ आश्विन २०७९, मंगलवार १६:३४   :  बजे

57
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।