काठमाडौं । प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा नेपाली कांग्रेसको पदाधिकारी बैठक जारी छ । बैठक विहान ८ बजेबाट सुरु भएको हाे ।
बैठकमा समानुपातिक बन्दसूचीमा भइरहेको विवाद, सच्याउनुपर्ने नाम तथा गठबन्धनभित्र भइरहेको छलफलको विषय प्राथामिकतामा राखिएको छ । समानुपातिकको बन्दसूचीमा शेखर कोइराला समूहका १३ जनालाई मात्रै राखिएको भन्दै यो समूह असन्तुष्ट बनेको छ ।
यसअघि मंगलबार महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले सभापति शेरबहादुर देउवासँग छलफल गरेका थिए । त्यस क्रममा पार्टीमा देखिएको विवादको विषयमा छलफल भएको बताइएको छ ।
आगामी मंसिरमा हुने निर्वाचनमा सत्ता गठबन्धनका दलहरूबीच सिट बाँडफाँटको विषयलाई लिएर पछिल्लो समय नेपाली कांग्रेसभित्र विवाद बढ्दै गरेको छ ।
शेखर कोइराला पक्षका नेताहरूले सिट बाँडफाँटमा कांग्रेसले गठबन्धनका अन्य दलहरूसँग सम्झौता गर्न नहुने भन्दै सभापति शेरबहादुर देउवालाई दबाब दिँदै आएका छन् । शेखर समूहका नेताहरुले आज पार्टी कार्यालयमा धर्ना दिने भएका छन् । यो समूहले सिट बाँडफाँडमा ४० प्रतिशत भाग नपाए निर्वाचन बहिस्कार गर्ने चेतावनी दिँदै आएको छ ।




















प्रतिक्रिया