Logo

राजनीति

रवीन्द्र मिश्र बने राप्रपाकाे वरिष्ठ उपाध्यक्ष, अरु काे-काे प्रवेश गरे ?



काठमाडौं । विवेकशील साझा पार्टीका पूवअध्यक्ष रवीन्द्र मिश्रसहित विवेकशी साझाका एक दर्जन केन्द्रीय सदस्य राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरेका छन् । बुधबार दिउँसो काठमाडौंको राष्ट्रियसभा गृहमा उनीहरु राप्रपा प्रवेश गरेका हुन् । राप्रपा प्रवेश गर्दा विवेकशील साझाका निवर्तमान अध्यक्ष मिश्रको साथ धेरैले छोडेका छन् ।

विवेकशील साझाका प्रवक्ता प्रकाशचन्द्र परियारका अनुसार केन्द्रीय समितिका एक दर्जन नेताले मात्र मिश्रसँगै राप्रपा जाने निधो गरेका छन् । जसअनुसार उनीहरुले पार्टी कार्यालयमा राजीनामा पत्र बुझाएको उनले जानकारी दिए ।

जसमा केन्द्रीय सदस्य नारायण कोइराला, कर्णबहादुर शाही, हरि गौतम, पूर्ण शाही, धर्म शाक्य, मुरली मिश्र, माधव भण्डारी, शान्ता गिरी, सुरेन्द्र शाह, डम्बर खत्री लगायत छन् । विवेकशील साझाको चर्चित अनुहार एक जना पनि मिश्रसँग नभएको प्रवक्ता पारियाले बताए ।

राप्रपाले मिश्रलाई अध्यक्ष राजेन्द्र लिङ्देनपछिको वरीयतामा रहने गरी वरिष्ठ उपाध्यक्ष पद दिएको छ । यसअघि सोमबार मिश्रले विवेकशील साझा पार्टीको साधारण सदस्यबाट समेत राजीनामा दिएका थिए । मिश्र काठमाडौं–१ बाट चुनावी प्रतिस्पर्धाको तयारीमा रहेका छन् ।

राप्रपासँग एकताका लागि पार्टीभित्र लामो समयदेखि बहस चलाइरहेका मिश्रले सहअध्यक्षको दाबी गर्दै आएका थिए । राप्रपामा हाल ६ उपाध्यक्ष रहेका छन् । राप्रपाका ८ जनासम्म उपाध्यक्ष हुनसक्ने व्यवस्था विधानमा छ । २०७४ सालको चुनावमा मिश्र काठमाडौं–१ बाट विवेकशील साझा पार्टीका उम्मेदवारका रुपमा प्रतिस्पर्धा गरेका थिए । त्यतिबेला उनी नेपाली कांग्रेसका उम्मेदवार प्रकाशमान सिंहसँग ८१८ मतले पराजित भएका थिए ।

मिश्रले जेठ ११ गते विवेकशील साझा पार्टीको अध्यक्षबाट राजीनामा दिएका थिए । स्थानीय तहको निर्वाचन पार्टीले अपेक्षित परिणाम हासिल नगरेको भन्दै उनले राजीनामा दिएका थिए । संघीयता र धर्मनिरपेक्षतामाथि जनमतसंग्रहको माग गर्दै आएका मिश्र पछिल्लो समय राजतन्त्र पुनः स्थापनाको पक्षमा खुलेका छन् ।

प्रकाशित मिति : आश्विन १२, २०७९ बुधबार  २ : २६ बजे

99
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।