काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)सँगको एकतापछि रवीन्द्र मिश्रले आफूले पार्टीभित्र बखेडा र विवाद नझिक्ने प्रतिवद्धता व्यक्त गरेका छन् । पछिल्लो पाँच वर्षको अवधिमा आफैंले स्थापना गरेको पार्टीमा उत्पन्न विवादबाट पनि पार्टीभित्र द्वन्द्व र विवाद गर्न नहुने सिकाइ भएको उनले बताए ।
एकता कार्यक्रममा उनले, ‘हामी पार्टीमा बखेडा झिक्दैनौं । मैले पछिल्लो पाँच वर्ष आफैंले स्थापना गरेको पार्टीबाट पनि अनुभव लिएँ । जहिले पनि विवाद र द्वन्द्व झिकिरहँदा नेतृत्वले काम सक्दैन ।’ साथै उनले क्यानडा, अमेरिका लगायत देशका नेताहरूको उदाहरण दिँदै उनले नेतृत्वलाई सहयोग गर्नुपर्ने बताए । राप्रपामा वरिष्ठ उपाध्यक्षको जिम्मेवारी पाएका मिश्रले राप्रपामा रहन पाउँदा गौरव महसुस भएको पनि बताए ।
फरक प्रसंगमा नेता मिश्रले नेपाल पछिल्लो समय भूराजनीतिक केन्द्रमा रहेको र विदेशी हस्तक्षेप बढेको दाबी गरे । जसकारण यहाँ द्वन्द्व सिर्जना हुने संकेत देखिएको पनि उनले दाबी गरे । नेपाल कमजोर भएकैले विदेशीहरूले ‘ल्यान्ड पावर’ भन्ने गरेको उनको भनाइ थियो ।




















प्रतिक्रिया