Logo

राजनीति

कांग्रेसमा बन्द सूची हेरफेरबारे जुट्यो सहमति



काठमाडौं । सत्ता गठबन्धनको प्रमुख घटक नेपाली कांग्रेसमा समानुपातिक तर्फकाे बन्द सूची हेरफेरबारे सहमति जुटेकाे छ । आन्तरिक सहमति जुटाएर समानुपातिक तर्फका बन्दसूची तयार पारिएको कांग्रेसका एक पदाधिकारीले जानकारी दिए ।

कांग्रेसमा नेता शेखर कोइराला पक्षले यसअघि समानुपातिकमा एकलौटी गरिएको भन्दै विरोधमा उत्रिएको थियो । कोइराला पक्षका दोस्रो र तेस्रो तहका नेताहरूले समानुपातिक बन्दसूची सच्याउन माग गर्दै खबरदारी भेला, बैठक र धर्नासम्म गरेका थिए ।

सभापति शेरबहादुर देउवाले कोइराला पक्षको असन्तुष्टिलाई सम्बोधन गर्न ३ दिन पदाधिकारी बैठक राखेर सहमतिको प्रयास गरेका थिए । शनिबार बिहानदेखि आइतबार बिहानसम्म बसेको पदाधिकारी र शीर्ष नेताको बैठकले सहमति जुटाएको हो । जसअनुसार समानुपातिकमा करिब २५ प्रतिशत हिस्सा कोइराला पक्षलाई दिएपछि देउवाले रामचन्द्र पौडेल, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधिलाई आफूले राखेको ७५ प्रतिशतभित्रै समेट्ने भएका छन् ।

सहमति अनुसार संशोधित सूची निर्वाचन आयोगमा बुझाउने जिम्मा केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेललाई दिइएको छ । आयोगले असोज २ र ३ गते बुझाएको बन्दसूचीमाथि हेरफेरका लागि आजसम्म समय दिएको थियो । सोही समयमा कांग्रेसले असोज ३ मा पेस गरेको बन्दसूची संशोधन गरेको हो ।

प्रकाशित मिति : १६ आश्विन २०७९, आईतवार १२:२४   :  बजे

105
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।