Logo

राजनीति

निर्वाचनमा राम्रो मान्छे चुन्ने प्रेरणा मिलोस: पूर्वअध्यक्ष रेग्मी



काठमाण्डौ। बडादशैंको अवसरमा शुभकामना दिँदै मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मीले आगामी निर्वाचन स्थायित्व र समृद्धि ल्याउने गरी ऐतिहासिक बन्न सकोस् भन्ने कामना गर्नुभएको छ ।

सोमवार शुभकामना सन्देश जारी गर्दै पूर्व अध्यक्ष रेग्मीले विजयादशमीको सुखद अवसरमा समस्त दिदीबहिनी तथा दाजुभाइहरूमा शुभकामना व्यक्त गरेका छन् ।

‘विगतमा भएका पटक–पटकका संघर्ष र आन्दोलनहरूकै फलस्वरूप विशेष परिस्थितिमा सम्पन्न भएको दोस्रो संविधान सभाको निर्वाचनपश्चात् मात्र नेपाली जनताले आफ्नो संविधान आफैं वनाउने दशकौंको सपना साकार भयो । हामी नयाँ संवैधानिक अभ्यासमा एक चरणको निर्वाचनपछि अर्को चरणको निर्वाचनको संघारमा आइपुगेका छौं,’ सन्देशमा उल्लेख छ, ‘हिजो संघीयता सहितको संवैधानिक अभ्यास संविधानले अपेक्षा गरेको समाज रूपान्तरण र समृद्धिको जग बसाउनका लागि परीक्षणको समय थियो । आज जनअपेक्षा चुलिएको छ । एकपछि अर्को महामारीले गाजिरहेको छ । यसलाई व्यवस्थापन गर्दै अरुले जसरी हाम्रा पाइला अघि बढाउनु छ । निर्वाचनले राजनीतिक दल र जनतालाई हाम्रा मान्छे होइन, राम्रा मान्छे छान्ने र चुन्ने अवसर दिएको छ । निर्वाचन भनेको मतदाताको हात माथि हुनु हो । मतदान गरेपछि पछुताउनुको कुनै अर्थ हुँदैन । अबको निर्वाचन उम्मेदवार र मतदाता दुवैको परीक्षण पनि हो भन्ने मलाई लाग्दछ ।’

पूर्व अध्यक्ष रेग्मीले आगामी निर्वाचन स्थायित्व र समृद्धि ल्याउने गरी ऐतिहासिक बन्न सकोस् भन्ने कामना समेत गरेका छन् । ‘सबैलाई नवदुर्गा भवानीबाट सकारात्मक प्रेरणा मिलोस् भन्ने पनि कामना गर्दछु,’ सन्देशमा उल्लेख छ, ‘अन्त्यमा विजयदशमी २०७९ को अवसरमा फेरि पनि समस्त नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समद्धि, सुस्वास्थ्य र निरन्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।’

प्रकाशित मिति : आश्विन १७, २०७९ सोमबार  १ : ४० बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।