असोज १७ गते बिरामीको उपचारका क्रममा मृत्यु भएको घटनालाई लिएर अस्पताल तोडफोड गर्नेलाई कारबाहीको माग गर्दै नेपाल चिकित्सक संघ चितवनले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ । संघले चितवन मेडिकल कलेजको सघन उपचार कक्ष –आईसीयू० तोडफोडमा उत्रिएका दोषीलाई कारबाहीको माग गर्दै प्रमुख जिल्ला अधिकारी अस्मान तामाङलाई शुक्रवार ज्ञापनपत्र बुझाएको हो ।
संघका सचिव डा सूर्यप्रकाश सापकोटाले प्रमुख जिल्ला अधिकारी तामाङलाई ज्ञापनपत्र बुझाएका हुन् । ज्ञापनपत्र बुझाउँदै सापकोटाले कलेजको सघन उपचार कक्षमा उपचाररत बिरामी र स्वास्थ्यकर्मीलाई समेत त्रसित बनाउने गरी गरिएको कार्य कानूनी राज्यको उपहास भएको बताए ।
तोडफोडको घटनामा संलग्नमाथि तत्काल स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मी संरक्षण ऐन २०६६ को संशोधन २०७९ अनुसार कारबाही अघि बढाउन प्रहरी प्रशासनसमक्ष संघले माग गरेको छ ।
ज्ञापनपत्र बुझ्दै प्रजिअ तामाङले अस्पतालको सघन उपचार कक्षमा तोडफोड भएको विषय गम्भीर रहेको बताए । दोषीलाई कारबाहीका लागि अस्पतालले जाहेरी दिएर सहज गरिदिनसमेत आग्रह गरे । दोषी जो कोही भए पनि कारबाही गरिने उनको भनाइ थियो ।





















प्रतिक्रिया