Logo

विश्वकप छनोट : अर्जेन्टिनाको लगातार दोस्रो जित



 सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप फुटबल छनोटको खेलमा अर्जेन्टिनाले लगातार दोस्रो जित निकालेको छ । गएराति भएकाे खेलमा अर्जेन्टिनाले बोलिभियामाथि उसैको घरेलु मैदानमा २-१ गाेल अन्तरले पराजित गर्दै लगातार दाेस्राे जित निकालेकाे हाे ।

अर्जेन्टिनालाई जित दिलाउनकाे लागि लौटारो मार्टिनेज र जोआक्विन कोरेराले एक-एक गाेल गरे । यता, पराजित घरेलु टोलीका लागि मार्सेलो मार्टिन्स मोरेनोले गोल गरेका थिए । पहिलाे खेलमा अर्जेन्टिनाले इक्वेडरलाई १-० ले‌ पराजित गरेको थियाे ।

बोलिभियाको घरमा अर्जेन्टिनाले कमब्याक गर्दै जति दर्ता गर्न सफल भयाे । मोरेनोले २४औं मिनेटमा गोल गर्दै बोलिभियालाई अग्रता दिलाएका थिए । तर, पहिलो हाफको ४५औं मिनेटमा पाहुना टोली अर्जेन्टिनाका लागि लौटारो मार्टिनेजले गोल गरेर खेल १-१ को बराबरीमा ल्याए ।

दाेस्राे हाफमा अर्जेन्टिनाले एक गाेल थप्याे भने बोलिभिया कुनै पनि गाेल गर्न सकेन । ७९औं मिनेटमा सब्सिच्युट खेलाडी जोआक्विन कोरेरा गोल गर्दै अर्जेन्टिनालाई खेलमा अग्रता दिलाए । कप्तान लिओनल मेस्सीले बक्सभित्र लौैटारो मार्टिनेजलाई दिएको पासमा मार्टिनेजले आफैं प्रहार नगरी अनमार्क रहेका कोरेरालाई पास दिएका थिए, जसमा उनले कुनै गल्ती नगरी बललाई लो सटमा जाली चुमाए । लगातार दाेस्राे जितसँगै अर्जेन्टिनाले ६ अंक जोडेको छ ।

प्रकाशित मिति : २८ आश्विन २०७७, बुधबार  ८ : १८ बजे