Logo

दुग्ध विकास संस्थानमा १ लाख ९४ हजार ९ सय ७५ किलो बटर डेट एक्सपायर



नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको दुग्ध विकास संस्थानमा १ लाख ९४ हजार ९ सय ७५ किलो बटर डेट एक्सपायर भेटिएको छ । संस्थानले प्रशोधन गरी घिउ तयार पार्न राखेको बटरको ‘डेट एक्सपायर’ भएको भेटिएको हो ।

काठमाडौं महानगरपालिकाको उपभोक्ता हित संरक्षण समितिले गरेको बजार अनुगमनका क्रममा दुग्ध विकास संस्थानको बालाजु गोदाममा घिउ तयार पार्न राखिएको बटर डेट एक्सपायर भएको फेला परेको समितिले जनाएको छ ।

महानगरपालिका कृषि विभागका प्रमुख हरिबहादुर भण्डारीको नेतृत्वको अनुगमन टोलीले दुग्ध विकास संस्थाको बालाजु उत्पादन प्लान्टमा चार वटा गोदाममा रहेको बटर सबै डेट एक्सपायर भेटिएको बताएको छ ।

भण्डारीले संस्थानको गोदाममा भेटिएको डेट एक्सपायर बटरको नमुना परीक्षणका लागि ल्याएको जनाए । उनले भने, ‘दुग्ध विकास संस्थानले १ लाख ९४ हजार ९ सय ७५ किलो डेट एक्सापायर बटर पोखराको सुजल डेरीबाट खरिद गरेको पाइएको छ । बटरको प्याकेजिङमा उत्पादित मितिले आठ महिनाअघि नै उपभोग गरिसक्नुपर्ने उल्लेख छ ।’

तर, संस्थानको गोदाममा भएका अधिकांश प्याकेजिङ गरेका बटर डेट एक्सपायर नै छन् । सन् २०१९ को नोभेम्बर, डिसेम्बर र सन् २०२० को जनवरीमा निर्मित बटर संस्थानको गोदाममा भेटिएको हो । पोखराको सुजल डेरीबाट खरिद गरिएको बटरमा दुग्ध संस्थानकै प्रशासन समितिले पनि छानबिन गरिरहेको पाएको छ ।

उनले भने, ‘संस्थानले बटरको डेट एक्सपायरका बारेमा कुरा गरेको छैन । तर, संस्थानमा अधिकांश बटर डेट एक्सपायर नै छन् । हामीले अन्यभन्दा पनि दुग्ध संस्थानले उत्पादन गर्ने दुग्धजन्य वस्तु उपभोग छ छैन भनी केन्द्रित भइ अनुगमन गरेका हौं । हामी डेट एक्सपायरको विषयलाई नै लिएर कारबाहीका लागि सिफारिस गर्नेछौं ।’

संस्थानको प्रशासन समितिको सहमतिमा बिक्री रोक्का गरिएको छ । भण्डारीले मंगलबार दुग्ध विकास महाप्रबन्धक रुद्रप्रसाद पौडेलसँग भेट नभएको हुँदा बुधबार फेरि संस्थानमा जाने बताए । त्यसपछि छानबिन गरी कानुनी कारबाहीका लागि सिफारिस गर्ने बताए । आजको राजधानी दैनिकमा समाचार छ ।

प्रकाशित मिति : आश्विन २८, २०७७ बुधबार  ८ : २७ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।