Logo

खेलकुद

मेसीले बेनफिकाविरुद्धको खेल गुमाउने



काठमाडौं । पेरिस सेन्ट जर्मेन (पीएसजी)का फरवार्ड लियोनल मेसी पिँडौलाको चोटका कारण मंगलबार च्याम्पियन्स लिगमा बेनफिकाविरुद्धको खेल गुमाउने भएका छन् । ३५ वर्षीय मेसीले गएको साता पोर्चुगलमा सम्पन्न खेलमा बेनफिकाविरुद्ध गोल गरेका थिए । उक्त खेल १–१ को बराबरीमा सकिएको थियो ।

अर्जेन्टिनाका फरवार्ड मेसीले गएको शनिबार फ्रेन्च लिग वानमा रेम्सविरुद्धको खेल पनि गुमाएका थिए । पीएसजीले उक्त खेल गोलरहित बराबरी खेलेको थियो । जासरी सिजन पीएसजीले गोल गर्न नसकेको यो पहिलो खेल हो । ‘‘गत साता बेनफिकाविरुद्धको खेलमा मेसीले पिँडौलामा असहज महसुस गरेका थिए । अहिले उनको अवस्थामा सुधार भएको छ । तर, अझै पूरा ठिक भइसकेको छैन । उनी आगामी खेलमा पनि अनुपस्थित हुनेछन्,’’ पीएसजीका प्रशिक्षक क्रिस्टोफर गाल्टियरले भने, ‘‘तर, उनी लिगमा मार्सेविरुद्धको खेलका लागि ठिक हुनेछन् ।’’

च्याम्पियन्स लिगमा पीएसजी सात अंकसहित समूह ‘एच’को शीर्ष स्थानमा छ । दोस्रो स्थानमा रहेको बेनफिकाले पनि सात अंक नै जोडेको छ । तीन अंक जोडेको युभेन्टस तेस्रो स्थानमा छ । मेसीसँगै पीएसजीका प्रेसनेल किम्पेम्बे, नुनो मेन्डेस र रेनाटो सान्चेजले पनि घरेलु मैदान पार्क डेस प्रिन्सेसमा हुने बेनफिकाविरुद्धको खेल गुमाउनेछन् ।

प्रकाशित मिति : २५ आश्विन २०७९, मंगलवार १०:२०   :  बजे

42
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।