Logo

प्रमुख समाचार

देउवाकाे उम्मेदवारी कायमै राख्ने आयोगको फैसला



काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको मनोनयन कायमै राख्ने निर्वाचन आयोगले निर्णय गरेको छ । देउवा विरुद्ध परेको उजुरीमाथि छानबिन गर्दा सामान्य त्रुटि फेला परेकोले उम्मेदवारी रद्द गर्नुपर्ने अवस्था नभएको भन्दै उम्मेदवारी कायमै राख्ने निर्णय भएको हो ।

डडेलधुराका मुख्य निर्वाचन अधिकृत बालकृष्ण वाग्लेले नागरिकताको प्रमाणपत्र र मतदाता परिचयपत्रमा फरक फरक जन्ममिति रहेको भन्दै परेको उजुरी छानबिन गर्दा सामान्य त्रुटि फेला परेको बताए । सो त्रुटि सामान्य रहेकोले उम्मेदवारी कायमै गर्ने निर्णय भएको उनले बताएका छन् । 

डडेल्धुराबाट प्रतिनिधि सभाका लागि उम्मेदवारी दिएका प्रधानमन्त्री देउवाको नागरिकता र मतदाता परिचय पत्रमा जन्ममिति फरक रहेको भन्दै सोमबार उनका प्रतिस्पर्धी उम्मेदवार कर्ण मल्लले जिल्ला स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएका थिए । 

सो उजुरीमाथि छानबिनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिउँसो २ बजेसम्म देउवाको जवाफ माग गरेको थियो । देउवाको तर्फबाट मानवीय त्रुटीका कारण नागरिकता अनुसार मतदाता परिचय पत्रमा फरक जन्ममिति हुन गएको र सो नागरिकता र मतदाता परिचयपत्र भएको शेरबहादुर देउवा एउटै भएको भन्ने बारेमा स्थानीय तहबाट सिफारिस पत्र बनाएर मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पेस गरिएको थियो । 

देउवाको नागरिकतामा जन्ममिति २००३ साल रहेको र मतदाता नामावलीमा २००२ साल रहेको देखिए पनि जन्म महिना र गते एउटै देखिएकोले सामान्य त्रुटीका रूपमा मात्र लिइएको मुख्य निर्वाचन अधिकृत वाग्लेले बताए ।

प्रकाशित मिति : २५ आश्विन २०७९, मंगलवार १७:०७   :  बजे

45
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।