Logo

अन्तर्वार्ता

काठमाडौं–४ : स्वतन्त्र उम्मेदवारी दिएका मनाेज सापकोटा भन्छन्– गगन थापाको जमानत जफत हुन्छ



नयाँ संविधान जारी भएपछि दोस्रो पटक हुन लागेको प्रतिनिधि र प्रदेशसभा चुनावको तयारी यत्ति बेला तीव्र रुपमा चलिरहेको छ । सफलतापूर्वक चुनाव सम्पन्न गराउन निर्वाचन आयोग लागिपरेको छ भने निर्वाचन कार्यतालिकाअनुसार आइतबार (असोज २३ गते) उम्मेदवारी दर्ता गरेका उम्मेदवारहरु पनि जित आफ्नो पक्षमा पार्न दौडधुपमा छन् । सत्तारुढ दलहरु भागबन्डा गरेर चुनावमा होमिएका छन् भने नेकपा एमाले पनि चुनावी तालमेल गरेर जित पोल्टामा पार्न लागिपरेको छ । आसन्न चुनावमा दलका मात्र उम्मेदवार हुने छैनन्, सयौंको संख्यामा स्वतन्त्र उम्मेदवारहरु पनि दलका उम्मेदवारलाई पाखा लगाएर बाजी मार्न लागिपरेका छन् ।

तीनै सयौं स्वतन्त्र उम्मेदवारहरुमध्येका एक हुन्– मनोज सापकोटा । उनी सिराहाका स्थायी वासिन्दा हुन् । तर उनले मुलुककै संघीय राजधानीभित्रको एक निर्वाचन क्षेत्र काठमाडौं–४ बाट स्वतन्त्र उम्मेदवारी दिएर घरदैलो कार्यक्रममा लागिसेका छन् । २०७४ मा यस क्षेत्रमा नेकपा एमालेका राजन भट्टराईलाई पराजित गर्दै नेपाली कांग्रेसका नेता गगन थापा निर्वाचित भएका थिए । सापकोटाले यस पटक उनै गगन र राजनसँग पौंठेजोडी खेल्ने आँट गरेका छन् । प्रमुख राजनीतिक दलका यी प्रभावशाली नेताहरुसँग भिड्ने र जित्ने आधार के छन् उनका ? प्रस्तुत छ, उम्मेदवार सापकोटासँग गरिएको कुराकानीको सम्पादित अंश :

काठमाडौं–४ मा उम्मेदवारी दिइसक्नुभएको छ । तयारी कसरी चलिरहेको छ ?
मेरो चुनाव तयारी विगत तीन वर्षदेखि हो । काठमाडौं २ मा माधव नेपाल र काठमाडौं ४ मा गगन थापाविरुद्ध मैले तीन वर्ष अगाडि उम्मेदवारी घोषणा गरेको थिएँ । तर संविधानतः दुई ठाउँबाट उम्मेदवार बन्न नपाइने भएपछि म काठमाडौं ४ केन्द्रित भएको हुँ । तयारी राम्रो छ । त्यहाँका जनताको मन जित्ने प्रयास गरिरहेको छु ।

मैले इमान्दारिताका साथ भन्छु । जनताका लागि कुनै ठूलाे, नचाहिँदो र पूरा नहुने सपना बुनेको छैन । तर के भन्छु भने हामीले यो देशमा राष्ट्रघाती सन्धी–सम्झौता हुन दिँदैनौं । बेथिति–बिसंगति, हत्या–हिंसा, बलात्कार र विशेष गरी भ्रष्टाचारविरुद्ध चाहिँ सदासर्वदा आवाज उठाउँछौं । यदि जनताको माया पाएर सदन छिर्न सकेँ भने यसलाई रोक्न पूर्ण रुपमा अभ्यास र प्रयास हुने छ । सडकबाट त हामीले सरकारलाई बारम्बार खबरदारी गर्दै आएका छौं भने सदन छिरेपछि त देश बचाउने बनाउने हाम्रो जुन अभियान छ त्यसलाई सफल पार्छौं भन्नेमा विश्वास छ । यसका लागि अन्ततोतत्वा चुनावमै होमिनु पर्छ । त्यसैअनुसार हामी चुनावी तयारीमा छौं ।

तपाईँ सिराहाको स्थायी बासिन्दा, तर दलका अन्य प्रभावशाली नेताहरु उम्मेदवार भएका काठमाडौं ४ नै चाहिँ किन रोज्नुभयाे ?
पहिलो कुरा त उहाँहरु प्रभावशाली नै होइनन् । आफ्नै जनतामा खुलेर जान नसक्ने नेताहरु कसरी प्रभावशाली ? कांग्रेसका केही कार्यकर्ताहरुका लागि गगन थापा प्रभावशाली हुनुहुन्छ । एमालेका केही कार्यकर्ताका लागि राजन भट्टराई प्रभावशाली हुनुहुन्छ । तर आम नेपाली जनता र देशका लागि उहाँहरुले के गर्नुभयो र प्रभावशाली ? कांग्रेसले गरेको राष्ट्रघाती महाकाली सन्धीविरुद्ध उहाँ (गगन थापा) बल्नुभो ? बोल्न सक्नुहुन्छ ? २५ वर्ष अगाडि भएको राष्ट्रघाती सन्धीसम्झौता गलत थियो भनेर अहिले पनि बोल्न सक्दैनन् ।

एमालेले गरेका एउटा नराम्रो कामको विरुद्ध, केपी ओलीले गरेका एउटा नराम्रो कामविरुद्ध उहाँ (राजन भट्टराई) बोल्न सक्नुहुन्छ ? सक्नुहुन्न । यीनीहरुबाट नेपाली जनताले के आशा गर्ने ? त्यसैले अब फेरि यीनीहरुलाई जिताउनु भनेको अर्को ५ वर्ष देश लुटाउनु हो । नेपालीका लागि होइनन्, उनीहरु खेतालाका रुपमा देश दोहन गर्न, नेपाली जनतालाई दुःख दिन आएकाहरु हुन् । ज्वलन्त उदाहरण छ– जनताको इच्छा र चाहनाविपरीत एमसीसी पास गर्न कसरी लागि परे ?

तपाईँलाई जिताएर काठमाडौं–४ का जनताले के पाउँछन् त उसो भए ?
कपनको अवस्था हेर्नुस् त हरेक वर्ष डुबानमा परेको । सडकबाट ट्याक्सी बगाएर लान्छ ढलले । वर्खामा हिलोमा डुबिने, हिउँदमा धुलोमा पुरिने अवस्था छ । त्यसको निकास खोइ त दिन सकेको ? म निर्वाचित भएँ भने मेरो पहिलो काम त्यही हुनेछ– वर्खामा हिलो, भलबाढी र हिउँदमा धुलोबाट कसरी निकास पाउन सकिन्छ । मेलै सबैभन्दा पहिले त्यहाँको जनतको घरघरमा गएर समाधानबारे छलफल र सल्लाह सुझाव लिनेछु । अर्को कुरा मैले भ्रष्टाचार होइन, मेरौ सबै सम्पत्ति राज्यको नाममा गर्छु । र जो राजेनता हुँ भनेर ढोल पिट्दै हिँड्छन् उनीहरुलाई पनि आफ्नो सम्पत्ति राज्यको नाममा गर्न चुनौती दिन्छु ।

मागेर होइन, यही देशको स्रोत साधन मात्र प्रयोग गरेर २५ वर्ष यो मुलुक चलाउन सकिन्छ । मैले यो भिजन लिएर आएको छु । देशका नेताहरुसँग हेर्नुस् त आज खर्बौं सम्पत्ति छैन त ? उनीहरुले यही देशको स्रोतसाधनबाट आर्जित सम्पत्ति आफ्ना बनाएका मात्रै हुन् । यस्ता अनेकन् भ्रष्टाचारलाई रोक्न सकियो भने माग्नै पर्दैन । यसै देश चलाउन र समृद्ध बनाउन । जसरी लिक्वान युले २२ वर्षमा सिंगापुर बनाए त्यो भन्दा शक्तिशाली र समृद्ध मुलुक बनाउन सकिन्छ । हामीलाई भगवानले सबै दिएका छन् । प्रकृतिले के चाहिँ दिएका छैनन् ?

मुलुकलाई समृद्ध बताउँछु, रोजगारी सृजना गर्छु भन्नलाई त सबै भन्छन् । तर यीनीहरुलाई थाहा छैन की यसका लागि उद्योग र कलकारखाना खोल्नु पर्छ बेचिखाने होइन । यीनीहरुकै कारण ८० लाख युवा आज विदेशमा बेचिन बाध्य छन् । यो विरुद्ध कहिल्यै गगन थापाले बोल्नुभो ? मागेर देश चलाउँछु रे !

अबको प्रधानमन्त्रीको दाबेदार अरे, जनताको यति सानो समस्या त समाधान गर्न सक्दैनन् भने उनीहरुलाई जिताउनुपर्ने आधार के छ खोइ ? मेरो ठोकुवा हो– गगन जीको त जमनत नै बाँच्दैन । गगन जीलाई जनताको मतबाट जित्छु भन्ने विश्वास नै छैन । किन भने केही गरेकै छैनन् त्यहाँका जनतका लागि ! त्यसैले त गठबन्धन गरे । जनताको पक्षमा काम गर्ने नेता तथा पार्टीहरुले एकल रुपमा जनतामा जाने हिम्मत गर्नुपर्छ । यो गठबन्धन भनेको फेरि ५ वर्ष लुट्ने रणनीति हो यीनीहरुको । राजनीति भनेको यो होइन । सबैभन्दा उत्कृष्ट नीति राजनीतिलाई यीनीहरुले नै फोहोरी खेल बनाए । यस्तालाई कसले मान्छ प्रभावशाली ? प्रभावशाली त हामी हौं ।

काठमाडौं–४ का सबै जनताले त चिन्दैनन् होला ! तपाईँ प्रभावशाली ?
त्यहाँका जनता सबैले मलाई चिन्छन् । मैले तीन वर्षदेखि संघर्ष गर्या छु र मैले उहाँहरुकै आग्रहमा उम्मेदवारी दिएको हुँ ।

मैले अर्को आशा पनि गरेको थिएँ । राजेन्द्र लिङदेनलाई अबको प्रधानमन्त्री बनाउनुपर्छ भनेर मैले ३५ वटा जिल्ला पनि भ्रमण गरेको छ । निष्कलंक, बोली र बचन हरेक कुरा नेपाली जनताको मन छुने, टेष्ट हुन बाँकी ।

राजेन्द्र लिङदेनलाई प्रधानमन्त्री बनाउनुपर्छ भनेर हिँडेको मान्छे राप्रपाबाट चुनाव लड्न छोडेर किन स्वतन्त्र भनेर हिँड्नुभा त ?
हो मैले राप्रपामा प्रवेश गरेको भए टिकट पाउन कुनै समस्या थिएन । वेथिति-विसंगति, भ्रष्टाचार, असमान सन्धीविरुद्ध मैले बोल्दै गर्दा त्यो सन्धीका मतियारहरु त राप्रपामा पनि छन् नि त । महाकाली सन्धीका प्रमुख पात्र राप्रपामा पनि छन् नि अहिले पनि, पूर्वअध्यक्षहरु ।

अनि म जस्तो स्वभिमानी, देशका लागि बोल्ने र गर्ने व्यक्ति उनीहरुसँग मिसिन कसरी जाउँ ? तर यी यस्ता दाग राजेन्द्र लिङदेनमा छैन । त्यसैले मैले उहाँलाई प्रधानमन्त्री बनाउनुपर्छ भन्नेमा लागेको हुँ । र मैले उहाँलाई काठमाडौं ४ मा हलोले मलाई सघाओस् भनेर आग्रह गरेको थिएँ ।

तर देशीविदेशी दाबाबमा राप्रपाले उम्मेदवार अघि सार्यो । त्यो दबाब राजेन्द्र लिङदेनले पनि थोग्न सक्नुभएन । राप्रपाका केही परिचालित नेताहरुको षड्यन्त्रमा ती पात्रलाई खटाएर मेरो भोट काट्नका लागि खडा गरिएको छ । तर म दाबीकासाथ भन्छु– राप्रपाका ८० देखि ९० प्रतिशत साथीहरुले भोट दिन्छन् भन्नेमा म विश्वस्त छु । कांग्रेसका ५० प्रतिशतले भोट दिन्छन् । एमालेका नेताकार्यकर्ताले पनि भोट दिन्छन् । मलाई भनेका छन् र मैले पनि यो विश्वास गुम्न दिन्न ।

उम्मेदवारी दर्तापछि कहीँकतैबाट फिर्ता लिनु भनेर आग्रह, दबाब प्रभाव आको छ कि ?
एकदम धेरै । मलाई फिर्ता गराउन, हराउन अनेक शक्ति लागेका छन् । मलाई रोक्न अमेरिका, भारत, युरोपियन यूनियन लागेका छन् । मलाई अफर पनि आएको छ । एउटा साइडबाट उम्मेदवारी फिर्ता लिनुस्, हामी दुई करोड व्यवस्था गर्छौं सम्म पनि भनेका छन् ।

दुईचार करोड पाइयो भने के फिर्ता लिने त उम्मेदवारी ?
मनोज सापकोटा चुनाव जित्नलाई तयारीका साथ विगत तीन वर्षदेखि लागिरेको छ । उम्मेदवारी फिर्ता होइन, गगन थापा, राजन भट्टराईलाई विश्राम दिलाउनलाई हो । त्यसैले आगामी ५ वर्ष मनोज सापकोटाले देश र काठमाडौं ४ का जनताका लागि कसरी काम गर्छ हेर्नुस् भन्न चाहन्छु ।

म मेरा स्रोत साधन प्रयोग गरेर खान्छु, गर्छु, बस्छु । धेरै कुराहरु इमान्दारीपूर्व गर्दै गर्दा कति ठाउँमा मानसम्मान पनि पाएका छौं । हामीले देशमा आइलागेको २०७२ सालको भूइँचालोको विपत्तिको बेला धेरै जनताको सेवा गर्ने मौका पायौं । गरेका छौं । काठमाडौंसहित देशैभरका सडकमा सबैभन्दा बढी भ्रष्टाचार र वेतिथिविरुद्धको आन्दोलनकारीभित्र पर्छौं हामी । त्यसकारण यस्ता अफरमा यो देशका छोरालाई किन्न सक्ने ल्याकत र तागत कसैलो राख्न सक्दैन ।

तपाईँ आफूलाई स्वतन्त्र भन्नुहुन्छ । स्वतन्त्रबाटै उम्मेदवारी दर्ता गराइसक्नु भा’छ । तर राजतन्त्र, हिन्दू राज्य, संघीयता खारेजी जसता राप्रपाका एजेन्डा किन बोक्नुभा त ?
हामीले नेपाली जनताको एजेन्डा बोकेका हौं । राप्रपाको होइन । तर के पक्का हो भने अरु पार्टीभन्दा राजेन्द्र लिङदेनले नेतृत्व गर्नुभएको राप्रपा नेपाली जनताको पार्टी भने हो ।

प्रकाशित मिति : आश्विन २५, २०७९ मंगलबार  ६ : ५१ बजे

438
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।