काठमाडौं । दसैँ र तिहारकै बिच मुलुक अहिले निर्वाचनमय भएको छ । लोकतन्त्रलाई सार्थक बनाउने महान पर्वका रुपमा लिइने निर्वाचनले यति बेला सरकार, दल, उम्मेदवार र जनता सबैलाई छोएको छ । अझ वृद्धभत्ता खाने उमेरबाट गुज्रिसकेका प्रधानमन्त्री र पूर्वप्रधानमन्त्री एवं शीर्ष नेताहरुलाई बढी चुनाव लागेको छ ।
समकालीनमध्येकै सबैभन्दा ज्येष्ठ ७७ वर्षीय प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सातौं पटक प्रतिनिधिसभा चुनाव जित्ने दौडमा छन् । वि.सं २०४८, २०५१, २०५६, २०६४, २०७० र २०७४ मा भएका निर्वाचनमा डडेल्धुराबाट विजयी देउवा २०६४ मा कञ्चनपुर–४ र २०७० मा कैलाली–६ बाट पनि निर्वाचित भएका थिए । २०५९, २०६१, २०७४, २०७८ मा गरी उनी पाँचपटक प्रधानमन्त्रीसमेत भइसकेका छन् । छैटौं पटक प्रधानमन्त्रीकाे दाैडमा रहेका उनी आफ्नै गृह जिल्ला डडेलधुराबाट आसन्न प्रतिनिधिसभा चुनाव लड्दै छन् ।
उमेरले आठ दशन नजिक पुगेका देउवासँग यस पटक ८४ वर्षका वृद्ध कर्णसिंह रावलदेखि ३१ वर्षीय युवा सागर ढकालसम्मले प्रतिस्पर्धा गर्दै छन् । रावल र ढकाल दुवै स्वतन्त्र उम्मेदवार हुन् । पाँच दलीय गठबनधनको समर्थन गरेको देउवाविरुद्ध नेकपा एमालेले ४९ वर्षीय चक्रप्रसाद स्नेहीलाई अघि सारेको छ भने जनता समाजवादी पार्टी (जसपा)का ४३ वर्षीय श्याम सिनाल, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का ४२ वर्षीय गोविन्द कडायत, राप्रपा नेपाल ५६ वर्षीय कालीप्रसाद जोशी, नेपाली कांग्रेस (वी.पी.)का ४८ वर्षीय कर्णबहादुर मल्ल र स्वतन्त्र उम्मेदवारहरु ५० वर्षीय विक्रमबहादुर शाही, ४९ वर्षीय दानबहादुर पाल, ३४ वर्षीय लालबहादुर कठायतले पनि देउवासँग चुनाव लड्दै छन् ।
उता, प्रदेश एक झापा क्षेत्र नं. ५ मा पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली सबैभन्दा ज्येष्ठ उम्मेदवार हुन् । ओली २०४८ सालयता निरन्तर यो क्षेत्रबाट चुनाव लड्दै आएका छन् । ०६४ मा माओवादी उम्मेदवारसँग पराजित भएका ओली ०७४ मा माओवादीकै साथ लिएर विजयी भए ।
७० वर्षीय ओलीसँग आसन्न प्रतिनिधिसभा निर्वाचनमा ५५ वर्षका तुलसीराम काफ्लेदेखि २५ वर्षीय तिर्थेश्वर चौधरी भिड्दै छन् । काफ्ले र चौधरीसहित झापा–५ मा १४ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । जसमा काफ्ले र चौधरीसहित ३७ वर्षीय केदारनाथ चापागाईं, ४१ वर्षीय भेषराज भट्टराई, ४४ वर्षीय दिपककुमार पाठक, ४५ वर्षीया कल्पना लावती, ४७ वर्षीया शान्ता अधिकारी, ४९ वर्षीया सुलोचना राजवंशी, ५० वर्षीय विष्णुप्रसाद सिग्देल, ५१ वर्षीय रोहितप्रसाद पौड्याल, ५१ वर्षीय इन्द्रमणि दाहाल, ५२ वर्षीय सिताराम पोखरेल, ५२ वर्षीय रामचन्द्र बानियाँ र ५३ वर्षीय रेवती रमण खनाल छन् ।
झापा–५ मा अन्य दलका उम्मेदवार पनि ओलीभन्दा कान्छा उमेरकै देखिन्छन् । सत्ता गठबन्धनबाट कांग्रेसले ४८ वर्षीय खगेन्द्र अधिकारीलाई अघि सारेको छ भने जसपाका ४६ वर्षीया ओममाया आङदेम्बे, नेपाल मजदुर किसा पार्टी (नेमकिपा)का ४६ वर्षीय रुद्रप्रसाद दाहाल, लोसपा ४९ वर्षीय चन्द्रप्रसाद राजवंशी, सिके राउत नेतृत्वको जनमत पार्टीका ४९ वर्षीय भीम राजवंशी, मंगोल नेशनल अर्गनाइजेसनका ३९ वर्षीय सानबहादुर मेचे, संघीय लाकतान्त्रिक राष्ट्रिय मञ्चका ६३ वर्षीय कविन्द्र शेर्मा लिम्बु, नेशनलिष्ट पिपल्स पार्टीका ४२ वर्षीय राजन चुडाल, राष्ट्रिय जनमुक्ती पार्टीका ४५ वर्षीय पदम बहादुर जवेगु, कांग्रेस (वी.पी)का ४५ वर्षीय सेखरनाथ सेडाई, सचेत नेपाली पार्टीका ४० वर्षी रामप्रसाद पाठक र रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीका ४९ वर्षीय शुरेसकुमार पोखरेल पनि ओलीका प्रतिस्पर्धी हुन् ।
निर्वाचन क्षेत्र फेरिरहने नेतामध्येमा रेकर्ड नै कायम गरेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि उमेरले साढे ६ दशक नाघिसकेका व्यक्ति हुन् । वि.सं. २०६४ को पहिलो संविधानसभा निर्वाचनमा काठमाडौं–१० र रोल्पा २ बाट निर्वाचित भएका उनी ०७० सालको दोस्रो संविधानसभा चुनावमा सिरहा–५ र काठमाडौं– १० बाट उम्मेदवार बनेका थिए । तर उनी काठमाडौं–१० मा भने पराजित भएका थिए ।
२०७४ को निर्वाचनमा चितवन–३ बाट निर्वाचित भएका प्रचण्ड आसन्न निर्वाचनमा गोरखा–२ बाट उम्मेदवार बन्दै छन् । दुई पटक मुलुकको नेतृत्व सम्हालिसकेका प्रचण्ड तस्रो पटक प्रधानमन्त्री बन्ने दौडमै छन् । पाँच दलीय सत्ता गठबन्धनको समर्थनमा गोरखा–२ बाट उम्मेदवार बनेका ६६ वर्षीय प्रचण्डसँग भिड्न ९९ वर्षीय वृद्धादेखि २९ वर्षीय युवासम्म चुनावी मैदानमा छन् । प्रचण्डको प्रतिद्वन्द्वीका रुपमा एमालेले २९ वर्षीय युवा अब्दुस मियाँलाई अघि सारेको छ भने राप्रपाका ४६ वर्षीय सुशिल पन्त, नेमकिपा ४६ वर्षीय प्रलाद लामिछाने, हाम्रो नेपाली पार्टीका ५६ वर्षीय प्रकाश थापा, राप्रपा नेपालका ५४ वर्षीय कुलबहादुर बस्नेत, नेकपा (मार्क्सवादी नेनिनवादी)का ५८ वर्षीय नारायणबाबु आचार्य, मंगोल नेशनल अर्गनाइजेसनका ४० वर्षीय सोमबहादुर गुरुङ र राष्ट्रिय स्वतन्त्र पार्टीका ४२ वर्षीय कविन्द्र बुर्लाकोटी पनि प्रचण्डका प्रतिस्पर्धी हुन् । आगामी चुनावकै सबैभन्दा ज्येष्ठ उम्मेदवार कांग्रेस (वी.पी)का ९९ वर्षीय टिकादत्त पोखरेल पनि गोरखा–२ मा प्रचण्डका प्रतिस्पर्धी हुन् । गोरखा–२ मा ४४ वर्षीय विनोदकुमार गुरुङ, ४६ वर्षीया डा. माधवी पराजुली र ६२ वर्षीय गणेश देवकोटाले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
७० वर्ष टेक्ने तरखरमा रहेका पूर्वप्रधानमन्त्री हुन्– माधव नेपाल । एमाले फुटाएर एकीकृत समाजवादी गठन गरेका उनी ‘अन्तिम पटक’ भन्दै आगामी प्रतिनिधिसभा चुनाव गृहजिल्ला रौतहटबाट लड्दै छन् । २०७४ मा काठमाडौं क्षेत्र नं. २ बाट बाजी मारेका नेपालले यस पटक रौतहट क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका छन् । ६९ वर्षको उत्तरार्धमा रहेका उनीसँग भिडाउन प्रमुख विपक्षी एमालेले ४८ वर्षी अजयकुमार गुप्तालाई अघि सारेको छ । नेपाल रौतहट–१ कै ज्येष्ठ उम्मेदवार हुन् । उनीसँग लड्न २५ वर्षका युवादेखि ६४ वर्षसम्मका वृद्ध यो पटक चुनावी मैदानमा उत्रिएका छन् ।
पाँच दलीय सत्ता गठबन्धनको साथ पाएर ढुक्क रहेका नेपालसँग भिड्न २५ वर्षीय राहुलकुमार मिश्रले स्वतन्त्र उम्मेदवारी दिएका छन् । उनीसँग प्रतिनिधिसभा चुनाव लड्न मिश्रसहित ३० वर्षीय मोहम्मद जियाउल हक, ३७ वर्षीय रामबलि कुमार यादव, ३८ वर्षीय चन्दनकुमार जयसवाल, ४३ वर्षीय रामअधार महतो कोइरी, ४६ वर्षीय कोशिला देवी, ५० वर्षीय अनिलकुमार लाल दास, र ५२ वर्षीय रेवन्त झा र ६४ वर्षीय अवधेशकुमार ठाकुरले स्वतन्त्र उम्मेदवारी दिएका छन् । यसैगरी नेमकिपाका ४८ वर्षीय वैद्यनाथ प्रसाद चौधरी, जनमत पार्टीले ६२ वर्षीय राजेन्द्रप्रसाद साह, राप्रपा नेपालले ४२ वर्षीया सरोज कुमारी, नेपाल सुशासन पार्टीले २८ वर्षीय रंजितकुमार पटेल, नेपाली जनता दलले ३१ वर्षीय सुबोधचन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टीले २९ वर्षीय सूर्यदेव कोइरालालाई पूर्वप्रधानमन्त्री नेपालका प्रतिस्पर्धीका रुपमा अघि सारेको छ ।
एकीकृत समाजवदीकै सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खानाल पनि उमेरले सात दशक कटिसकेका छन् । तर उनले पुनः प्रतिनिधिसभा चुनाव लड्न गृहजिल्ला इलाम क्षेत्र नं. १ राेजेका छन् । इलाम– १ का सबैभन्दा ज्येष्ठ उम्मेदवार खनालसँग लामो कम्युनिस्ट राजनीतिको अनुभव छ । विगतमा नेकपा एमालेबाट यही निर्वाचन क्षेत्रबाट जित्दै आएका ७२ वर्षीय खनाललाई यसपटक त्यत्ति सहज छैन । स्थानीय तह निर्वाचनको अंकगणितले इलाम–१ मा एमाले बलियो देखाएकाे छ । गठबन्धनको साथ पाएका खनालसँग एमालेका ६२ वर्षीय महेश बस्नेत भिड्दै छन् ।
यसैगरी खनालको प्रतिस्पर्धीका रुपमा जसपाले ६३ वर्षीय कमलकुमार राई, राप्रपाले ६७ वर्षीय तोयानाथ शर्मा शापकोटा, मंगोल नेशनल अर्गनाइजेसनले ५२ वर्षीय बुद्धलाल मेचे, संघीय लोकतान्त्रिक राष्टिय मञ्चले ५० वर्षीय जीतकुमार मुखिया, राष्ट्रिय जनमुक्ति पार्टीले ४९ वर्षीय पदमबहादुर लिम्बु र कांग्रेस (वी.पी)ले ६० वर्षीय गणेश प्रसाद पौडेललाई उम्मेदवार बनाएको छ । इलाम–१ मा ६८ वर्षीय विक्रम पाण्डे र ५७ वर्षीय निमा तोन्जीङ शेर्पाले स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।
वृद्धभत्ता खाने ‘हजुरबा’ उमेर समूहका नेताहरुलाई विश्राम दिनुपर्ने पक्षमा आवाज उठिरहेका बेला जीवनकै उतत्तर्राधमा रहेका नेताहरु भने तँछाडमछाड गर्दै चुनावी मैदामा होमिएका हुन् ।




















प्रतिक्रिया