काठमाडौं । आसन्न प्रतिनिधिसभा निर्वाचन लड्न गुल्मी क्षेत्र नं. २ बाट सात स्वतन्त्रसहित १३ जना चुनावी मैदानमा छन् । यीमध्ये दुई पूर्व सहकर्मी नेकपा एमालेका सचिव गोकर्ण विष्ट र नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीबीच नै रोचक प्रतिस्पर्धा हुने निश्चितप्रायः छ ।
पाँच दलीय सत्ता गठबन्धनको साथ पाएकी ४४ वर्षीया झाँक्रीलाई गुल्मी–२ सँग चिरपरिचित ५७ वर्षीय विष्टले कडा टक्कर दिने छन् । विष्ट र झाँक्री एमाले विभाजन भएर एकीकृत समाजवादी बन्नुपूर्व एमालेमा सँगै सहकार्य गरेका पूर्व सहकर्मीहरु हुन् । आसन्न प्रतिनिधिसभा सदस्यका लागि गुल्मी- २ मा ६२ देखि २६ वर्षसम्मका युवाले उम्मेदवारी दिएका भए पनि यी नै दुई पार्टीका सचिवद्वयबीचको प्रतिस्पर्धा कडा हुने देखिएको हो ।
विष्टलाई गठबन्धनको डर
नेता विष्टले झलनाथ खनाल प्रधानमन्त्री रहेका बेला ऊर्जा र पछिल्लो पटक केपी शर्मा ओली प्रधानमन्त्री रहेका बेला श्रम, रोजगार तथा समाजिक सुरक्षामन्त्री भएर काम गरिसकेका छन् । उनी २०५६ को निर्वाचनदेखि गुल्मी–२ बाट एमालेको उम्मेदवार बन्दै आएका छन् । विष्टले २०६४ को संविधानसभा निर्वाचनबाहेक तीनवटा चुनावमा जित हात पारेका थिए । ०७४ को निर्वाचनमा अहिले पाँच दलीय गठबन्धनको नेतृत्व गरिरहेको कांग्रेसका चन्द्र केसीलाई १४ हजार भन्दा बढी मतान्तरले पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा बाजी मारेका थिए । उनले ३४ हजार ६१८ मत प्राप्त गर्दा कांग्रेसका केसीले २० हजार १५९ मत पाएका थिए ।
तर ०७४ मा विष्टलाई माओवादी केन्द्रको साथ थियो । अहिले समिकरण फेरिएको छ । त्यसबेला साथ दिने दल माओवादी अहिले विपक्षमा छ भने एमाले स्वयं सग्लो छैन । अझ एमाले विभक्त भएर बनेको दल एकीकृत समाजवादी पनि विपक्षमै छ । पाँच वर्षअघिको आफ्नो प्रमुख प्रतिस्पर्धी दल कांग्रेससँग माओवादी केन्द्र, एकीकृत समाजवादी, लोतान्त्रिक समाजवादी र राष्ट्रिय जनमोर्चा एक भएर आफूमाथि आइलाग्दा विष्टका लागि यस पटक त्यत्ति सहज परिस्थिति बनेको देखिँदैन । उनलाई जनता समाजवादी पार्टीले सघाउने छ, तर गुल्मी- २ निर्वाचन क्षेत्रमा जसपा अत्यन्तै कमजोर छ ।
आफ्नैको छैन भर
टिकट वितरणसँगै उम्मेदवारी मनोनयनपछि एमालेमा एकता भाँडिएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले संसद् विघटनको आफ्नो कदमविरुद्ध उत्रिएका ‘दश भाइ’मध्येका पूर्व उपाध्यक्ष भीम रावल र पूव उपमहासचिव घनश्याम भूसाललगायतलाई टिकट नदिएपछि उनीहरुले विद्रोह गरे । भूसालले पार्टी नै त्यागे भने रावलले पार्टी त त्यागेका छैनन्, तर पार्टीका कुनै उम्मेदवारको पक्षमा भोट माग्ने अवस्थामा पनि आफू नरहेको बताएका छन् । टिकट पाएर पनि स्थायी कमिटी सदस्य प्रभु साहले स्वतन्त्र उम्मेदवारी दिएका छन् । चुनावकाे सम्मुखमा यो एमालेका लागि पक्कै पनि सुखद होइन ।
पार्टीभित्र अध्यक्ष ओलीले प्रतिशोध साँधिरहेका यी नै ‘दश भाइ’मध्येका एक हुन् गोकर्ण विष्ट । गुल्मी–२ मा टिकट फुत्काए पनि उनलाई आफ्नैबाट ढुक्क हुने स्थिति छैन । टिकट पाए पनि विष्टलाई अध्यक्ष ओली पक्षको असहयोग हुन सक्ने आँकलन गर्न थालिएको छ । रावल र भूसालसँग प्रतिशोध साँधेका अध्यक्षले अन्य दश बुँदे समूहका नेताहरूलाई भने चुनावमा हराएर बदला लिन सक्ने नेताहरूको आशंका छ । तर विष्टलाई मत नदिए अरु कसलाई दिने भन्ने विकल्प पनि ओलीसँग छैन । जुन उम्मेदवार विष्टका लागि सुखद मान्न सकिन्छ ।
गठबन्धनको साथले झाँक्री ढुक्क
पाँच दलीय गठबन्नको साथ पाएर केही ढुक्क देखिएकी झाँक्री पहिलो पटक चुनावी मैदानमा छिन् । उनी ०७४ मा समानुपातिक निर्वाचन प्रणालीमार्फत प्रतिनिधिसभा सदस्य बनेकी थिइन् ।
एमाले विभाजन भएर एकीकृत समाजवादी बनेपछि पार्टी सरकारमा जाँदा उनी पहिलो पटक मन्त्री बनेकी थिइन् । सहरी विकासमन्त्री भएर काम गरिसकेकी उनी प्रत्यक्षमार्फत ‘डेब्यु’ गर्ने सुरमा छिन् ।
झाँक्रीलाई आफ्नो दलसहित कांग्रेस, माओवादी केन्द्रलगायतको साथ छ । तर गुल्मी–२ एमालेको राम्रो प्रभाव रहेको तथा विष्ट दुई दशकदेखिका जनप्रतिधि भएकाले झाँक्रीलाई पनि साह्रै सहज भने छैन ।
अंक गणित : झाँक्रीलाई जिताउन कांग्रेसले ३४ हजार बढी मत खन्याउनु पर्छ
गुल्मी क्षेत्र नं. २ मा जिल्लाका मालिका गाउँपालिका, मदाने गाउँपालिका, धुर्कोट गाउँपालिका, इस्मा गाउँपालिका, मुसीकोट नगरपालिका र रेसुङ्गा नगरपालिकाको १ देखि ६ सम्मका वडा पर्छन् । कूल ४३ वडामध्ये सबैभन्दा बढी २५ वटा वडामा कांग्रेसले जितेको छ । एमालेले १७ वडामा जित्दा माओवादीले एक वडामा जितेको छ । कांग्रेस वडा अध्यक्षहरुले २५ वडामा जित निकाल्दै सबै वडामा कुल ३४ हजार ७३१ मत पाएका छन् । यसैगरी गठबन्धनकै अर्को घटक माओवादी केन्द्रका वडा अध्यक्षले एक हजार ८३४, झाँक्रीकै पार्टी एकीकृत समाजवादीका वडा अध्यक्षहरुले ६५८ र राष्ट्रिय जनमोर्चाले ५६ मत पाएका छन् ।
यसैगरी १७ ठाउँमा जित निकाल्दै सबै ठाउँमा एमालेका वडा अध्यक्षले ३१ हजार २८७ मत पाएका छन् । यसैगरी एमालेसँग आसन्न चुनावमा लागि गठबन्धन गरेको जसपाले मात्रै सात मत पाएको छ । यो अंक गणित अनुसार गठबन्धनकी झाँक्रीको जित पक्का जस्तै देखिन्छ । तर त्यसका लागि गठबन्धनको प्रमुख घटक कांग्रेसले ३४ हजारभन्दा बढी मत झाँक्रीका लागि खन्याउनु पर्ने छ । उम्मेदवार स्वयं झाँक्रीकै पार्टीले निर्वाचन क्षेत्रका ४३ वडामध्ये एउटा वडामा पनि जित निकालेको छैन भने मात्रै ६५८ मत पाएको छ ।




















प्रतिक्रिया