काठमाडौं । निर्वाचन आयोगले आउँदो कात्तिक १८ गतेभन्दा अघि राजनीतिक दलहरूले चुनाव प्रचारप्रसारका लागि कोणसभा र आमसभा गर्न नपाउने बताएको छ ।
निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले चुनाव हुनुभन्दा १७ दिन अगाडिदेखी मात्रै कोणसभा र आमसभा गर्न पाउने व्यवस्थाअनुसार कात्तिक १८ गतेदेखि मात्रै कोणसभा र आमसभा गर्न पाउने बताए । यदि कात्तिक १८ गतेभन्दा अगाडि कोणसभा र आमसभा गरेर चुनावको आचारसंहिता उल्लङ्घन गरेको पाइएमा उम्मेदवारको मनोनयन खारेजसम्म गर्ने उनले चेतावनी दिएका छन् । निर्वाचन आचारसंहितामा मतदानको १७ दिनअघि मात्रै दल तथा उम्मेदवारले कोणसभा, आमसभा, सेमिनार, गोष्ठी गर्न पाउने व्यवस्था राजनीतिक दलहरूको समर्थनमा राखिएको पनि आयुक्त भण्डारीकाे भनाइ छ ।
यस्तै आयुक्त भण्डारीले अहिले घरदैलोमा जाँदा बढीमा २५ जनासम्मको समूहमा जान सकिने बताए । तर घरदैलोमा जाँदा पनि बाजागाजा बजाउने तथा भोजभतेर गर्न नपाइने उनले बताए । अहिले घरदैलाेको क्रममा पनि राजनीतिक दलहरूले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको भन्दै उजुरी आइरहेको पनि उनले बताए ।
उनले भने, ‘थुप्रै ठाउँबाट घरदैलो जाने सन्दर्भमा तामझाम गरेर जानुभयो भन्ने उजुरी आएका छन् । भोजभतेर गर्न पनि सुरु भएको छ भन्ने उजुरी परेका छन् । उजुरीको छानबिन गरिरहेका छौँ । चुनाव प्रचारप्रसारका क्रममा आचारसंहिता उल्लङ्घन भएमा आयोगले कठोर कारबाही गर्छ ।’




















प्रतिक्रिया