काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइराला नवलपुर क्षेत्र नम्बर १ बाट चौथो पटक बाजी मार्ने उद्देश्यसहित चुनावी मैदानमा होमिएका छन् । वीपी पुत्र शशांकले यही क्षेत्रबाट लगातार ३ पटक निर्वाचन जितिसकेका छन् । यस निर्वाचन क्षेत्रबाट नेकपा एमालेले कृष्ण प्रसाद पौडेललाई अघि सारेको छ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नवलपुर १ बाट स्वतन्त्रसहित १६ जनाले उम्मेदवारी दिएका भए पनि कोइराला र पौडेलबीच नै कडा प्रतिस्पर्धा हुने देखिन्छ ।
२०७४ को चुनावमा एक्लै वाम गठबन्धनका लागि एक्लै भारी परेका शशांकलाई यस पटक अझ सहज हुने भएको छ । गठबनधनकै कारण ०७४ मा कांग्रेसका अधिकांश शीर्ष नेताहरु पराजित भएका बेला उनले फरालिकलाे मतान्तर यही क्षेत्रबाट विजयकाे झन्डा फहराएका थिए । उनले ३६ हजार ६५२ मत प्राप्त गरी जित हात पार्दै गर्दा उनका निकट्तम प्रतिद्वन्द्वी माओवादी केन्द्रका भविश्वर पराजुलीले ३२ हजार ३०८ मत प्राप्त गरेका थिए ।
यस पटक कोइरालाका लागि अझ सहज वातावरण निर्माण भएको छ । पाँच वर्ष अघि विक्षमा रहेको माओवादी केन्द्रको अहिले उनलाई छ भने एमालेबाट विभाजित भइ बनेको नेकपा एकीकृत समाजवादीले पनि कोइरालालाई नै भोट हाल्ने छ । यति मात्र नभई लाकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको साथ पनि उनलाई छ ।
नेता कोइरालाले आगामी निर्वाचनमा नवलपुर १ मा उम्मेदवार बन्ने घोषणा साउनमा नै गरेका थिए । प्रेस यूनियनको केन्द्रीय महाधिवेशनबाट निर्वाचित पदाधिकारीलाई कावासोतीमा बधाई दिँदै उनले भनेका थिए, ‘पूर्वी नवलपरासीलाई उत्कृष्ट जिल्ला बनाउन मैले अघि सारेका यी ४ वटा (अन्तर्राष्ट्रियस्तरको खेलमैदान, ट्रमा सेन्टर, त्रिवेणीदेखि देवघाटसम्म नारायणीको किनारैकिनार पक्की सडक संजाल र विपन्नको जीवनस्तर उकास्न कृषि कार्याक्रम लागू) कुरा पुरा गर्न फेरि चौंथो पटक उम्मेदवारी दिने निर्णय गरेको छु ।’
नेकपा एमालेका पौडेललाई शशांक झन् भारी हुने देखिन्छ । किन भने नवलपुर १ मा एमाले कांग्रेसभन्दा केही कमजोर अवस्थामा देखिएको छ भने पाँच वर्ष अघिको सहयात्री माओवादी केन्द्र अहिले विपक्षमा छ । यसैगरी पार्टी पनि विभाजित अवस्थामा छ भने विभाजित भएर बनेको पार्टी पनि विपक्षकै साथमा छ । जनता समाजवादी पार्टीसँग केही स्थानमा तालमेल गरे पनि नवपरासी १ मा जसपाले आफ्नै उम्मेदवार अघि सारेको छ । तसर्थ एमालेले जसपाको भोट पाउने अवस्था छैन । जसले गठबन्धन समर्थथित शशांकको जित्ने आधारलाई थप बलियो बनाएको सहजै अनुमान लाउन सकिन्छ ।




















प्रतिक्रिया