Logo

प्रमुख समाचार

एमालेले २५ वर्षमा गर्न नसकेको काम ५ वर्षमा गरेर देखाउँछौँ : श्याम घिमिरे



काठमाडौं । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनावको सरगर्मी बढेको छ । चुनाव नजिकिए सँगै सिन्धुली जिल्लामा पनि राजनीतिक दलहरुले आ–आफ्नो चुनावी कार्यक्रमलाई तीव्रता दिएका छन् । प्रतिनिधिसभामा २ वटा निर्वाचन क्षेत्र भएको सिन्धुलीमा सत्तारुढ गठबन्धन र नेकपा एमाले नै एक–अर्काको मुख्य प्रतिस्पर्धीका रुपमा देखिएका छन् । संघीय क्षेत्र नं. १ मा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य श्याम कुमार घिमिरे उम्मेदवार छन् । उनको प्रतिस्पर्धीको रुपमा एमालेले पूर्व जिल्ला कमिटीका अध्यक्ष तथा निवर्तमान प्रदेशसभा सदस्य प्रदीप कटुवाललाई अघि सारेको छ ।

गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनलाई आधार मान्दा यस क्षेत्रमा नेपाली कांग्रेस शक्तिशाली देखिएको छ । यो क्षेत्रमा दुधौली नगरपालिका, तीनपाटन गाउँपालिका, गोलन्जोर गाउँपालिका, फिक्कल गाउँपालिका र कमलामाई नगरपालिकाको ९, १३ र १४ वडा पर्छन् । ४१ वटा वडा रहेकोमा २१ वडामा कांग्रेस, ६ वडामा माओवादी केन्द्रले जितेको छ भने एमाले जम्मा १४ वडा अध्यक्षमा निर्वाचित भएको छ । यसरी वडामा निर्वाचित भएका गठबन्धनका वडा अध्यक्षको संख्या र शक्ति लाई हेर्ने हो भने गठबन्धनका संघ र प्रदेश सदस्य पदका उम्मेदवारहरुकोको जीत सहज देखिन्छ ।

गठबन्धनका कार्यकर्तामा यही अंकगणितको उर्जा र उत्साहसहित चुनावमा सक्रियता देखिन्छ भने नेकपा एमाले पनि २५ वर्षदेखि निर्वाचित भएको यस क्षेत्रमा आफू कमजोर नभएको ढंगले चुनावमा आशावादी देखिन्छ । तर गठबन्धनका उम्मेदवारले एमालेको त्यही २५ वर्ष देखि निर्वाचित जनप्रतिनिधिले जनताको आकांक्षा र आवश्यकता पूरा गर्न नसकेर बढेको असन्तुष्टिलाई आफ्नो प्रमुख चुनावी एजेण्डा बनाएको छ ।

आज दुधौली नगरपालिका वडा नम्बर ४ को पचरुखीमा संयुक्त गठबन्धनको पालिका स्तरीय कार्यकर्ता भेलामा संघका उम्मेदवार घिमिरेले एमालेको त्यही २५ वर्षमा गर्न नसकेको काम आफू निर्वाचित भए ५ वर्षमा गरेर देखाउने दाबी गरे । ‘गठबन्धनका नेतारकार्यकर्ता साथीहरू तपाईँहरु उत्साहित भएर चुनावमा लाग्नुस्, हामी निर्वाचित भएर २५ वर्षमा नेकपा एमालेले एक्लै शासन गरेर गर्न नसकेको काम गर्नेछौं । हरेक जनताले विकासप्रेमी जनप्रतिनिधि पाएको महसुस गराउने छौं’, उनले भने, ‘यस क्षेत्रको सम्पूर्ण समस्या हामीले बुझेका छौं र त्यो गर्ने दायित्व बोकेर हेटौंडा र काठमाडौं जानेछौं । तीनै तहको सरकार हाम्रो हुनेछ र हामी विकास गर्ने असहजता बाट मुक्त हुनेछौं ।’

दुधौली औद्योगिक विकासको सम्भावना बोकेको ठाउँ रहेको घिमिरेले बताए । घिमिरेले भने, ‘धौली औद्योगिक शहरी क्षेत्रको केन्द्र बन्नेछ, दुधौलीको योजनाबद्ध बसोबास हाम्रो लक्ष्य हो, डकाहा-नवलपुर सडक व्यापारको ट्रान्जिट हुनसक्छ हामी त्यो छिटो बनाउनेछौं, कमला नदीको नियन्त्रण गरेर यहाँका किसानको दु:ख अन्त्य गर्नेछौँ, जिनाखु-अरुण र ककुरको दुधौली आउने-जाने सडक पक्की बनाउनेछौँ, मधुगंगा मन्दिर जाने स्तरीय बाटो बनाएर धार्मिक पर्यटनको विकास गर्नेछौँ, दुधौलीमा बसोबास गर्ने ठूलो जनघनत्व रहेको दनुवार समुदायको संस्कृति र परम्पराको संरक्षण गरेर दनुवार समुदायको सामाजिक, राजनितिक, आर्थिक क्षमताको विकास गर्नेछौं ।’

उक्त कार्यक्रममा गठबन्धन दलका शीर्ष नेतृत्वको उपस्थिति थियो । नेकपा एकीकृत समाजवादीका पोलिटब्यूरो सदस्य गंगा नेपाल, नेपाली कांग्रेसका जिल्ला सभापति उपेन्द्र कुमार पोखरेल, पूर्व जिल्ला सभापति उज्ज्वल प्रसाद बराल, मोहन प्रसाद बराल, कांग्रेसका महासमिति सदस्यहरु प्रेमचन्द्र दाहाल, प्रेम प्रसाद भट्टराईको समेत उपस्थिति थियो । कार्यक्रममा नेकपा माओवादी केन्द्रका नवराज कार्की, घनश्याम बस्नेत जस्ता जिल्ला तहका शीर्ष नेतृत्वको उपस्थिति रहेको थियो । उपस्थित गठबन्धनका सम्पूर्ण नेताहरुले यो चुनाव प्रतिगमन र अग्रगमन बीचको लडाइँ भएको र प्रतिगामी र दक्षिणपन्थी शक्ति नेकपा एमालेको पराजय नै गठबन्धनको मुख्य लक्ष्य रहेको बताएका थिए । उनीहरुले कार्यकर्ताहरुलाई ढुक्क भएर गठबन्धनलाई जिताउन लाग्न समेत निर्देशन दिए ।

प्रकाशित मिति : २ कार्तिक २०७९, बुधबार १७:२७   :  बजे

315
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।