काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले आफ्ना मतदातासमक्ष भोट माग्दै राजधानी र राजनीति दुबै सफा गर्ने संकल्प गरेका छन् ।
काठमाडौं ५ मा कांग्रेसबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका उनले बिहीबार मतदातालाई अपील जारी गर्दै साे क्षेत्रमा आफ्नो उम्मेदवारीले शिक्षा र स्वास्थ्यको हब, आइटीको विकाससहितको रोजगारी, पर्यटन र समग्र विकास साथै राष्टिय राजनीतिको नयाँ चित्र कोर्ने अवसर प्रदान गरेको उल्लेख गरेका छन् ।
उनले अपीलमा भनेका छन्, ‘काठमाडौंलाई विकास मात्र होइन, व्यवस्थित विकास आवस्यक छ । पर्यावरणीयमैत्री राजधानी हामी सबैको चाहना हो । यसैगरी, राजनीतिक निष्ठा र इमान्दारितामाथि उठेका प्रश्न र राजनीतिप्रति घट्दै गएको विश्वासले आमनिरासा छाएको छ । त्यसकारण मेरो संकल्प छ– म राजधानी सफा गर्छु, म राजनीति सफा गर्छु,’ ।
नेता पौडेलले आफूलाई प्राप्त भएको अवसर खेर नफाल्ने प्रतिबद्धता पनि जनाएका छन् ।
‘परिवर्तनसहितको राजनीतिक संस्कार र संस्कृतिको स्थापित गर्छु भनेर विद्यार्थी राजनीतिबाट देशको सक्रिय राजनीतिमा होमिएको हुँ । मेरा नातागोता, पारिवारिक सदस्य र व्यापार व्यावसाय फस्टाउँछ भनेर राजनीतिमा हामफालेको होइन ।राजनीतिक इमान र परिवर्तन सम्भव छ भन्ने बुझेर नै मैले सक्रिय राजनीतिक जीवन रोजेको हुँ । क्षेत्र नम्बर ५ का मतदाताहरुले खोजेको बेला भेटिने छोरो, भाइ, दाइ, साथी र जनप्रतिनिधिको रुपमा प्रदीप तपाईहरुमाझ सँगै उभिने छ । नेतृत्वले चाहने हो भने के के सम्भव छ भन्ने कुरा म स्थापित गर्न चाहन्छु । आगामी पाँच वर्षको यो अवसरलाई म किमार्थ खेर जान दिने छैन,’ पौडेलले अपीलमा भनेका छन् ।




















प्रतिक्रिया