काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्यका लागि पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ ४० प्रतिशत मतपत्र छपाइ सम्पन्न भएको निर्वाचन आयाेगले जानकारी दिएकाे छ ।
योसँगै समानुपातिक तथा पहिलो हुने निर्वाचित हुने प्रणाली दुवै गरी कुल संख्याको करिब ७० प्रतिशत मतपत्र छपाइ सम्पन्न भएको हो । आइतबारसम्म पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ एक करोड ६७ लाख ५०० मतपत्रको छपाइ सम्पन्न भएको छ । जसमा प्रतिनिधि सभाका लागि ८७ लाख एक हजार र प्रदेश सभाको ८० लाख ५७ हजार ५०० सय मतपत्र रहेका छन् ।
समानुपातिक निर्वाचन प्रणालीतर्फको करिब ४ करोड मतपत्र भने यसअघि नै छपाइ सम्पन्न भइसकेको छ । आयोगको पछिल्लो तथ्याङ्क अनुसार निर्वाचनमा कुल १ करोड ७९ लाख ८५ हजार ७० जना मतदाता रहेका छन् । यी मतदाताहरुले समानुपातिक तथा पहिलो हुने निर्वाचित हुने दुई प्रणालीका लागि चारवटा मतपत्रमा भोट हाल्नुपर्ने हुन्छ। यस अनुसार आगामी निर्वाचनका लागि करिब ८ करोड मतपत्र आवश्यक पर्छ ।
समानुपातिक निर्वाचन प्रणालीतर्फ भने ६८ जिल्लामा मतपत्र ढुवानी भइसकेको छ । अब नौवटा जिल्लामा मात्र मतपत्र ढुवानी हुन बाँकी छ । ढुवानी भएका मध्ये प्रदेश सभाका लागि एक करोड ९६ लाख १७ हजार तथा प्रतिनिधि सभातर्फ एक करोड ९३ लाख १३ हजार मतपत्र रहेको छ ।
अब प्रदेश सभाको पाँच लाख ६८ हजार तथा प्रतिनिधि सभाको पाँच लाख ५८ हजार मतपत्र मात्र ढुवानी हुन बाँकी छ ।




















प्रतिक्रिया