काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले वैचारिक, भूराजनीतिक र आर्थिक ढंगले समानता भएकाले पाँचदलीय गठबन्धन बनेको बताएका छन् । पाँच दलीय गठबन्धनको काठमाडौंमा आयोजित बागमती प्रदेशस्तरिय कार्यकर्ता भेलामा भट्टराईले गठबन्धनको आगामी कार्यक्रम सरकारी संस्थाहरूलाई बलियो बनाइ देशमा सुशासन प्रदान गर्नु रहेको बताए ।
उनले एमालेले बनाएको चुनावी गठबन्धनलाई भने अपवित्र भएको दाबी गरे । ‘कतिपयले भन्ने गर्छन् यो अपवित्र गठबन्धन भनेर तर यो सबैभन्दा पवित्र गठबन्धन हो’ भट्टराईले भने, ‘विचारविहीन ढंगले राजावादी, पृथकतावादी, आफूलाई वामपन्थी भनेर चरम उग्रराष्ट्रवादको नारा दिएर राष्ट्रिय समाजवादको फासीवादीको प्रवर्धन गर्ने शक्तिहरू, त्यो गबठन्धन अपवित्र गठबन्धन हो ।’
कांग्रेसको नेतृत्वमा कम्युनिस्ट पार्टी सहभागी हुनु अपवित्र भनिरहेका एमाले नेताहरूले राप्रपालगायतका दलसँग चुनावी तालमेल मात्रै बनाएको गठबन्धन नगरेको जवाफ दिने गरेका छन् । एमालेका नेताहरूले भन्ने गरेका ती अभिव्यक्तिप्रति भट्टराईले कटाक्ष गरेका हुन् ।
भट्टराईले गठबन्धनको मुख्य एजेन्डा भनेको भ्रष्टाचार अन्त्य गर्नु, युवाहरूलाई स्वरोजगार प्रदान गर्नु रहेको पनि बताए । उनले गठबन्धनले देशमा छिटो विकास र समृद्धिको चाहनालाई पूरा गर्ने प्रतिबद्धता जनाएका थिए । अध्यक्ष भट्टराईले विगतका तितामीठा कुरा बिर्सिएर आगामी निर्वाचनमा गठबन्धनका साझा उम्मेदवारलाई जिताउन अपिल पनि गरे ।




















प्रतिक्रिया