तेहरान । अर्को महिना कतारमा हुने फिफा विश्वकप हेर्न दक्षिणी युरोपेली मुलुक स्पेनबाट हिँड्दै आइरहेका एकजना फ्यान इरानमा पक्राउ परेका छन् ।
अलजजिरा टेलिभिजनका अनुसार गत जनवरीमा म्याड्रिड नजिकैको घरबाट कतारका लागि हिँडेका ४१ वर्षका सान्टिएगो सान्चेज कोजेडोर अक्टोबरको सुरूमा इराकबाट इरानको सीमामा प्रवेश गरेका थिए । स्पेनदेखि इरानसम्मको यात्रा उनले हिँड्दै र कुनै ठाउँमा डुंगामा चढेर पार गरेका थिए । उनी इरान हुँदै कतार जान लागेका थिए ।
बाटोमा उनी कुनै ठाउँमा आफूले बोकेको टेन्टमा सुत्थे भने कुनै ठाउँमा होटलमा पनि बस्थे । उनले आफ्नो यात्राका विवरणहरू सामाजिक सञ्जाल इन्स्टाग्राममा राख्ने गरेका थिए । एउटा भिडिओमा उनले भनेका थिए- यदि तपाईं आफ्ना सपनाका लागि समयसीमा तोक्नुहुन्न भने ती सपना पूरा गर्न सक्नुहुन्न । यो दिन म हिँड्छु र यो दिन छोड्छु भन्ने तय गर्नुपर्छ ।
इरानमा केही सातायता हिंसात्मक प्रदर्शनहरू भइरहेका छन् । गत अक्टोबर १ मा सान्टिएगोले आफ्नो परिवारसँग कुरा गरेका थिए । पछि उनी सम्पर्कविहीन भएका थिए । त्यसपछि उनका आमाबुवाले स्पेनको विदेश मन्त्रालयमा छोराका बारे जानकारी लिइदिन अनुरोध गरेका थिए । अहिले उनकी आमाले आफ्ना छोरालाई इरानमा सुरक्षाकर्मीले पक्राउ गरेर राखेको र उनको अवस्था सामान्य रहेको जानकारी पाएको बताएकी छन् ।
इरानस्थित स्पेनका राजदूतले सान्टिएगोलाई भेट्न दिन इरानी अधिकारीहरूलाई अनुरोध गरेको उनले बताइन् । इरानी अधिकारीहरूले भने यसबारे कुनै प्रतिक्रिया दिएका छैनन् ।




















प्रतिक्रिया