Logo

खेलकुद

विश्वकपमा आज तीन खेल हुँदै, पाकिस्तान सेमिफाइनलमा पुग्न भारतले खेल जित्नुपर्ने



काठमाडौं । जारी टी ट्वेन्टी विश्वकप क्रिकेटअन्तर्गत आज तीन खेल हुँदैछन् । समूह २ अन्तर्गतका ६ टोली एकापसमा आज भिड्दैछन् ।

पहिलो खेलमा आज बङ्गलादेश र जिम्बावे भिड्दैछन् । केही दिनअघि मात्र पाकिस्तानलाई हराएर सनसनी मच्चाएको जिम्बावेको टोली आज उच्च मनोबलसहित मैदानमा उत्रनेछ । यस्तै बङ्गलादेशी टोलीले दक्षिण अफ्रिकाविरुद्ध हार व्यहोरेको थियो भने नेदरल्याण्ड्सविरुद्ध जित हात पारेको थियो । यो खेल नेपाली समयअनुसार बिहान ८:४५ बाट सुरु हुनेछ ।

यस्तै आजको दोस्रो खेल पाकिस्तान र नेदरल्याण्ड्सबीच हुनेछ । नेपाली समयअनुसार दिउँसो १२:४५ मा खेल हुनेछ । नेदरल्याण्ड्सले आफ्नो दुईमध्ये दुई खेल नै हारेको छ। केही दिनअघि भारतविरुद्धको खेलमा फराकिलो पराजय व्यहोरेको नेदरल्याण्ड्सले आज पाकिस्तानलाई दबाबमा भएकाले त्यसैको सदुपयोग गर्नेछ ।

यता, प्रतियोगिताको विजेताकै दावेदार मानिएको पाकिस्तानले आफ्नो पहिलो दुईमध्ये दुई खेल नै हार्‍यो । त्यसैले आज पाकिस्तान पूर्णतया दबाबमा हुनेछ । बलिङमा उत्कृष्ट प्रदर्शन गरे पनि ब्याटिङ लाइनअप बिग्रिएको पाकिस्तानको लागि आजको खेल ‘गर या मर’कै हो ।

आजको खेल हारेमा ऊ प्रतियोगिताबाट बाहिरिनेछ । बाँकी खेल औपचारिकताको लागि मात्र हुनेछ । यस्तै आज पाकिस्तानले जिते मात्र पनि अपुग हुनेछ । सेमिफाइनल पुग्ने दौडमा सामेल भइराख्न पनि पाकिस्तानले आज भारतको जितको कामना गर्नुपर्नेछ । आज भारतले हारेमा पाकिस्तान सेमिफाइनलको दौडबाट बाहिरिनेछ ।

भारत र दक्षिण अफ्रिकाबीचको खेल आजै छ। नेपाली समयअनुसार अपराह्न ४:४५ बाट खेल सुरु हुनेछ । भारत हाल दुईमध्ये दुई खेल नै जितेर अंकतालिकाको शीर्ष स्थानमा छ । यता दक्षिण अफ्रिकाको लागि भने वर्षा बाधक बन्यो । दुईमध्ये एक जित र एक नतिजाविहीन भएपछि दक्षिण अफ्रिका दोस्रो स्थानमा बस्न बाध्य छ ।

आजको दुवै टोलीका लागि महत्त्वपूर्ण छ । सेमिफाइनलको रेसका लागि दुवै टोली आज खेल जित्न चाहन्छन् । विशेषतः दक्षिण अफ्रिकाले यसअघि एक अंक बाँड्नुपरेकाले आज दुई अंक प्राप्त गर्न चाहन्छ ।

प्रकाशित मिति : १३ कार्तिक २०७९, आईतवार ०८:४३   :  बजे

45
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।