Logo

राजनीति

कांग्रेस र माओवादीकाे साथले एकीकृत समजवादीका यी १४ उम्मेदवार ‘ग्रीन जोन’मा



काठमाडौं । पाँच दलीय सत्ता गठबन्धनभित्रको एउटा घटक नेकपा एकीकृत समाजवादीले अन्ततः १८ सिटमा उम्मेदवार खडा गरेको छ । भागबन्डा मिलाउँदा १९ सिट पाएको भए पनि रुपन्देही क्षेत्र नम्बर २ का उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेज भएपछि १८ सीटमा सीमित हुनु परेको हो ।

यी मध्ये अधिकांश उम्मेदवार गठबन्धन बनेकै कारण ‘ग्रीन जोन’मा छन् भने स्थानीय चुनावमा जनमत कमजोर देखिएका कारण केहीले कांग्रेस र माओवादीका ‘बागी’को सामना गर्नु पर्ने अवस्था छ । यद्यपि सबै बागी उम्मेदवारी निष्क्रिय पार्ने प्रयास भने गठबन्धन दलहरुले गरिरहेका छन् ।

एमाले विभाजनपछि बनेको एकीकृत समाजवादी पाँच दलीय गठबन्धनमै रहेर पहिलो पटक गत ३० वैशाखमा सम्पन्न स्थानीय चुनावमा होमिएको थियो । उसले ७५३ तहमध्ये १८ वटामा मात्र जित निकाल्न सफल भयो । आफ्नै नतिजासँग सन्तुष्ट हुन नसकेको एकीकृत समाजवादीका लागि आसन्न संघ र प्रदेशसभा निर्वाचन भने केही सुखद हुने आँकडाहरुले देखाउँछ ।

माधव नेपाल , रौतहट– १
आसन्न प्रतिनिधिसभा निर्वाचनमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल गृह निर्वाचन क्षेत्र रौतहट–१ उम्मेदवार बनेका छन् । नेकपा एकीकृत समाजवादीका अध्यक्षसमेत रहेका उनी अहिले चुनावी माहोल सिर्जना गर्न रौतहट केन्द्रित छन् । अहिले नेपालले रोजेका रौटहट–१ मा ०७४ को निर्वाचनमा भने तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) का नेता अनिल झा विजयी भएका थिए ।

पछि राजपा र डा.बाबुराम भट्टराई–उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी पार्टीसँग एकीकरण भएपछि जनता समाजवादी पार्टी(जसपा) बन्यो । अन्ततः जसपाबाट महन्थ ठाकुर समूह अलग्गियो । र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बन्यो । अन्तिममा लोसपा पाँच गठबन्धनमा सामेल भएपछि झालाई धनुषा ३ को टिकट थमाएर रौतहट–१ नेपालका लागि सुनिश्चित गरिएको हो ।

०५६ को चुनाव र दोस्रो संविधानसभा ०७० मा पनि नेपाल यही क्षेत्रबाट विजयी भएका थिए । ०६४ मा भने उनले पराजय व्यहोरेका थिए । २०७४ मा काठमाडौं– २ बाट निर्वाचित भएका नेपाल यस पटक गृह क्षेत्रतर्फ सोझिएका हुन् ।

अंक गणित
रौतहट–१ मा गौर नगरपालिका, राजदेवी नगरपालिका, माधवनारायण नगरपालिका, दुर्गा भगवती गाउँपालिका, यमुनामाई गाउँपालिका, गढीमाई नगरपालिकाका ६, ७ र ८ नम्बर वडा र गरुडा नगरपालिकाको वडा नम्बर १ पर्छ । गत ३० वैशाखमा सम्पन्न स्थानीय चुनावमा नेपालको दल एकीकृत समाजवादीका वडा अध्यक्षहरुले १९ हजार ९४४ मत पाएका थिए । यही मतका आधारमा यस क्षेत्रमा नेपालको दल पहिलो भयो । १६ हजार ९४४ मतसहित कांग्रेस दोस्रो हुँदा १२ हजार ६२ मतसहित लोसपा तेस्रो दल बन्यो भने गठबन्धनमै रहेको माओवादी केन्द्र ८ हजार १९१ मतसहित माओवादी केन्द्र पाँचौँ स्थानमा छ ।

अहिले एमालेसँग चुनावी तालमेल गरेको जसपा ८ हजार २४१ मतसहित चौथो, ७ हजार ३८५ मतसहित एमाले छैठौँ दल भयो । स्वतन्त्रसहित अन्य दलले ३ हजार १४३ मत पाएका थिए ।

स्थानीय चुनावको यही परिणामलाई आधार मान्दा एक्लाएक्लै लड्दा पनि नेपालले रौतहट–१ मा चुनाव जित्ने देखिन्छ । अझ स्थानीय तहमा पहिलो, दोस्रो र तेस्रो र पाँचौं भएका दलहरु एक हुँदा नेपालका कुनै पनि बलिया प्रतिस्पर्धी नै देखिँदैनन् । रौतहट–१ मा ९ स्वतन्त्रसहित १७ उम्मेदवार चुनावी मैदानमा छन् । जसपासहितको समर्थनमा यो निर्वाचन क्षेत्रमा एमालेले अजयकुमार गुप्तालाई उम्मेदवार बनाएको छ । तर आफ्नो क्षेत्रमा स्वयं बलियो देखिएका नेपालसँग कडा प्रतिस्पर्धा गर्ने उम्मेदवार भने कोही देखिँदैनन् ।

झलनाथ खनाल, इलाम–१
काठमाडौं । तीन दशकयता इलाममा एकछत्र राज गर्दै आएका झलनाथ खनाल आसन्न प्रतिनिधिसभा निर्वाचन पनि इलामबाटै लड्दै छन् । २०४८ सालको संसदीय निर्वाचनदेखि २०५६ मा बाहेक कहिल्यै हार नव्यहोरेका खनाल २०६७ मा मुलुकको ३५औं प्रधानमन्त्रीसमेत भइसकेका व्यक्ति हुन् । २०४८ को संसदीय निर्वाचन र ०५१ को निर्वाचनमा बाजी मार्न सफल उनी ०५६ मा भने पराजित भएका थिए । ०६४ पहिलो संविधानसभा निर्वाचनमा पुनः विजयी झन्डा फहराएका खनालले त्यसयता हार्न परेको छैन ।

२०४८ मा एमालेबाट उम्मेदवार बनेका खनालले कांग्रेसका नेता तोयानाथ भट्टराईलाई ६ हजारभन्दा बढी मतले हराएका थिए । खनाले २५ हजार ५ सय ४० मत ल्याउँदा भट्टराईले १९ हजार २ सय ७० मत मात्रै ल्याएका थिए । २०५१ को मध्यावधि निर्वाचनमा पनि एमालबाटै खनालले उनै भट्टराईलाई हराएर बाजी मारेका थिए । त्यसबेला खनालले १४ हजार ३ सय ८३ मत ल्याउँदा भट्टराईले १४ हजार १ सय ७३ मत मात्रै पाएका थिए ।

०५६ मा खनाललाई ह्याट्रिक गर्नबाट बेनुपराज प्रसाईंले रोके । तर खनाल ठूलो मतान्तरले हारेका भने थिएनन् । प्रसाईंले १८ हजार ६ सय ८ मत ल्याउँदा खनालले १८ हजार ५ सय २ मत ल्याएका थिए । ०६४ मा आएर खनालले पहिलो संविधानसभाको चुनावमार्फत उनै प्रसाईंसँग ०६५ को बदला लिए । त्यसबेला खनाल १७ हजार ६ सय ५५ मत ल्याएर विजयी हुँदा प्रसाईंले १३ हजार ७ सय ७४ मत मात्रै ल्याएका थिए । ०७० को दोस्रो संविधानसभा निर्वाचनमा पनि खनालले इलाम–१ बाटै आफ्नो विजयी यात्रालाई निरन्तरता दिए । उनले नेपाली कांग्रेसका हिमालय कर्माचार्यलाई १ हजार ८१५ मतले हराएका थिए । खनालले १७ हजार ३ सय ४२ मत ल्याउँदा कर्माचार्यले भने १५ हजार ५ सय २७ मत मात्रै पाएका थिए ।

मुलुकले नयाँ संविधान पाएपछि २०७४ मा भएको पहिलो प्रतिनिधिसभा निर्वाचनमा पनि खनालले इलाम–१ बाटै बाजी मारे । त्यसबेला वाम गठबन्धन बनेको थियो । नेकपा माओवादी केन्द्रसमेतको साथ पाएका उनले नेपाली कांग्रेसका भुपेन्द्र कट्टेललाई १७ हजारभन्दा बढी मतान्तरले हराएका थिए । एमालेबाट उम्मेदवार भएका खनालले ३६ हजार ८ सय ५ मत ल्याएका थिए भने कांग्रेसका कट्टेलले १९ हजार ६ सय ३८ मत ल्याएका थिए ।

यस्तो छ अंक गणितीय विश्लेषण
इलाम क्षेत्र नं. १ मा सन्दकपुर, माइजोगमाइ, रोङ गाउँपालिकाका र सूर्योदयन गरपालिका, माई नगरपालिकाको वडा १, ३, ४, ५, ९, १० र इलाम नगरपालिकाको वडा नं. १० पर्छ । गत ३० वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचन अनुसार एमाले इलाम– १ को ठूलो दल हो । यसैगरी कांग्रेस दोस्रो र एकीकृत समाजवादी तेस्रो दल हुन् ।

यो क्षेत्रमा एमालेका वडा अध्यक्षहरुले सबैभन्दा बढी २६ हजार २३३ मत पाएका छन् । कांग्रेसका वडा अध्यक्षहरुले २५ हजार ७७२ मत ल्याउँदा खनालको पार्टी एकीकृत समाजवादीले वडामा १० हजार ४२९ मत पाएको छ ।

कांग्रेसको २५ हजार ७७२ मत र एकीकृत समाजवादीका वडा अध्यक्षले पाएका १० हजार ४२९ गरी खनालसँग ३६ हजार बढी मत छ । यसैगरी माओवादी केन्द्रको केही हजार मत र लोसपा र जनमोर्चाको भोट पनि खनाललाई जाने छ । यो मत परिणामलाई आधार मान्ने हो भने खनाललाई निक्कै सहज देखिन्छ । यद्यपि आसन्न निर्वाचनमा यही नतिजा कायम भने नरहन सक्छ ।

खनाल उम्मेदवार रहेको इलाम–१ मा कांग्रेसका पुराना नेता विक्रम पाण्डे बागी उठेका छन् । स्थानीय तह निर्वाचनमा वडाध्यक्ष उम्मेदवारले पाएको मतअनुसार एकीकृत समाजवादी तेस्रो स्थानमा छ । स्थानीय निर्वाचनपछि इलाममा कांग्रेस र एकीकृत समाजवादीबीच सम्बन्ध राम्रो छैन । यसको असर खनाललाई पर्न सक्छ ।

जगन्नाथ खतिवडा, उदयपुर–२
एकीकृत समाजवादीका उपमहासचिव जगन्नाथ खतिवडा प्रतिनिधिसभा सदस्य चुनावका लागि उदयपुर– २ बाट उम्मेदवार बनेका छन् । ०७४ मा यो क्षेत्रबाट वाम गठबन्धनबाट माओवादी केन्द्रका सुरेशकुमार राई ‘हिमाल’ विजयी भएका थिए । निकटतम प्रतिद्वन्द्वी कांग्रेसका नारायण कार्कीले १५ हजार ४ सय ५१ मत प्राप्त गर्दा एमालेको साथ पाएका राईले ४२ हजार ९ सय १० मत पाएका थिए ।

यस पटक एमालेका अम्बरबहादुर रायामाझीलाई चुनौती दिन वाम–लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवारी दिएका खतिवडालाई गठबन्धनकै प्रमुख घटक कांग्रेसका रामकुमार राईले चुनौती दिँदै छन् । सिट बाँडफाँड गर्दा उदयपुर– २ एकीकृत समाजवादीको भागमा परेपछि राईले विद्रोह गरेका हुन् । उनकै कारण खतिवडालाई सकस पर्ने देखिन्छ । रामकुमार राई आफूले चुनाव जित्ने दाबी गरिरहेका छन् । नजिते पनि उनले जगन्नाथ खतिवडालाई जानसक्ने कांग्रेसी भोट काट्नेछन् । यसको फाइदा एमालेका रायामाझीलाई पुग्न सक्छ ।

यस्तो छ हिसाब किताब
उदयपुर– २ मा रौतामाई गाउँपालिका, उदयपुरगढी गाउँपालिका, ताप्ली गाउँपालिका, सुनकोशी गाउँपालिका र कटारी गनरपालिका पर्छन् । यहाँ गत स्थानीय चुनावमा वडा अध्यक्षका उम्मेदवारले पाएको मतको आधारमा एमाले पहिलो दल हो । एमालेका वडा अध्यक्षहरुले १८ हजार ५७३ मत प्राप्त गरेका छन् । ११ हजार ३४४ मतसहित कांग्रेस दोस्रो, ८ हजार २०२ मतका साथ माओवादी केन्द्र तेस्रो, ३ हजार ४२७ मतका साथ एकीकृत समाजवादी चौथो र १ हजार ४ सय ३४ मत पाएको जसपा पाँचौँ स्थानमा छ । यो मतपरिणामलाई आधार मान्दा गठबन्धनसँग २२ हजार ९ सय ७३ मत हुन आउँछ, जुन एमालेको भन्दा ४ हजार ४ सय बढी हो । जसले जगन्नाथको जित सुनिश्चित देखाउँछ ।

तर, स्वतन्त्र उम्मेदवार राईका कारण खतिवडालाई अफ्ठ्यारो पर्न सक्छ । त्यहीमाथि उदयपुर कांग्रेस दुई समूहमा विभाजित छ । यद्यपि, केन्द्रीय राजनीतिमा दखल राख्ने नेता भएकाले यसपल्ट खतिवडाको जित सुनिश्चित रहेको गठबन्धनका नेताहरूको दाबी छ । त्यसो त उदयपुर–२ खतिवडाका लागि चिरपरिचित निर्वाचन क्षेत्र हो । उनले ०५६ सालमा उनले यही क्षेत्राट जितेका थिए । ०७० को दोस्रो संविधनसभा निर्वाचनमा भने उनी पराजित भए । ०७४ मा केन्द्रसँग वाम गठबन्धन बन्दा पाइसकेको टिकट उनले माओवादीलाई बुझाउनुपरेको थियो । त्यस बेला उनी एमालेमा थिए ।

कृष्णकुमार श्रेष्ठ (किसान), बारा–४
पूर्वमन्त्री एवं नेकपा एकीकृत समाजवादीका नेता कृष्णकुमार श्रेष्ठ ‘किसान’ यस पटक बारा क्षेत्र नं. ४ पुगेका छन् । यसअघि उनले जितेका तनहुँ क्षेत्र नं.१ नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलका लागि छाडेर उनी बारा–४ पुगेका हुन् । ०७४ मा वाम गठबन्धनबाट उम्मेदवार बनेका श्रेष्ठले कांग्रेसका उनै पौडेललाई पाराजित गरेका थिए । त्यसबेला श्रेष्ठले ३४ हजार ४९२ मत ल्याएर विजयी हुँदा कांग्रेसका पौडेलले २७ हजार ६९० मत पाएका थिए । तर अहिले श्रेष्ठको पार्टी एकीकृत समाजवादी कांग्रेसले नै नेतृत्व गरेको गठबन्धनमा रहेकाले पौडेललाई श्रेष्ठसँग बदला लिने अवसर मिलेन ।

बारा–४ मा प्रतिनिधिसभा चुनाव लड्न १० जना स्वतन्त्रसहित २० जनाले उम्मेदवारी दिएका छन् । तर गठबन्धन समर्थित श्रेष्ठ र नेकपा एमालेका एकवाल मियाँबीच कडा प्रतिस्पर्धा हुने देखिन्छ । उनीहरु दुवै जना पूर्वमन्त्रीहरु हुन् । श्रेष्ठ पूर्व श्रम तथा रोजगार सुरक्षा मन्त्री हुन् भने मियाँ पूर्व युवा तथा खेलकुद मन्त्री हुन् । श्रेष्ठलाई पाँच दलीय गठबन्धनको समर्थन रहने छ भने मियालाई एमालेसहित जसपाको समर्थन छ ।

मियाँ ०७४ मा बारा–४ बाटै निर्वाचित भएका थिए । उनी त्यसबेला जसपामा थिए । त्यसबेला मियाँले २२ हजार २ सय ७५ मत प्राप्त गरेका थिए भने बामगठबन्धनका देवनारायण थारुले २० हजार ६ सय ७ मत प्राप्त गरेका थिए । कांग्रेसका लालबाबु सिंहले १४ हजार ५ सय १६ मत पाएका थिए ।

यस्ताे छ स्थानीय तहको परिणाम
बारा–४ मा विश्रामपुर गाउँपालिका, परवानीपुर गाउँपालिका, फेटा गाउँपालिकाका १ देखि ४ सम्मका वडा, प्रसौनी गाउँपालिकाका ७ वटा वडा, जीतपुरसिमरा उपमहानगरपालिकाका १–१० र १९–२४ सहित १६ वटा र कलैया उपमहानगरपालिकाको वडा नम्बर १७ वडा गरी ३८ वटा वडा यो क्षेत्रमा पर्छन् ।

गत वैशाख ३० को स्थानीय तह निर्वाचनको नतिजा हेर्दा एमाले सबैभन्दा ठूलो दल बनेको छ । वडाको मतका आधारमा एमालेले सबैभन्दा बढी २१ हजार १६७ मत ल्याएको छ भने नेपाली कांग्रेसले १६ हजार ५८९, लोसपाले १५ हजार ८०, माओवादी केन्द्रले ९ हजार १३, श्रेष्ठको पार्टी एकीकृत समाजवादीले ५ हजार १९, विवेकशील साझाले १ हजार ६२६ र राप्रपाले १ हजार १५४ मत पाएको देखिन्छ अन्य साना दललाई २ हजार ५५८ भोट खसेको देखिन्छ । स्थानीय निर्वाचनको मतलाई आधार मान्दा सत्ता गठबन्धनसँग ४५ हजार ७०१ र एमाले–जसपा गठबन्धनसँग २६ हजार ८५८ मत देखिन्छ । यसबाट गठबन्धनका श्रेष्ठको जित सहज देखिन्छ । तर त्यसका लागि सम्पूर्ण रुपमा कांग्रेसमै भर पर्नुपर्ने देखिन्छ । पाँच हजार मत ल्याउने पार्टीका उम्मेदवार श्रेष्ठलाई जिताउन कांग्रेसले साढे १६ हजार बढी मत उनका लागि खन्याउनुपर्ने हुन्छ ।

सिधा अंग गणितले श्रेष्ठको जित निश्चित जस्तै देखाए पनि ढुक्क हुने अवस्था छैन । किन भने व्यापारिक पृष्ठभूमिका कांग्रेस नेता इच्छाबहादुर वाग्लेको विद्रोहले उनलाई अफ्ठ्यारो पार्न सक्छ । जसबाट विपक्षी एमालेका मियाँको सम्भावनालाई पनि नकार्न सकिने अवस्था छैन । सामाजिक क्षेत्रमा काम गरेका वाग्ले व्यापारीमात्र नभएर कांग्रेसको राजनीतिमा लामै समयदेखि छन् । कांग्रेसबाट श्रेष्ठलाई आउने भोट वाग्लेले काटेभने श्रेष्ठ अफ्ठ्यारोमा पर्न सक्ने र मियाँलाई सहज हुने देखिन्छ ।

प्रेम आले, डोटी
नेकपा एमालेबाट दुई पटक संसद् बनेर दुई पटक संघीय मन्त्रीसमेत भइसकेका एकीकृत समाजवादीका नेता प्रेम आले यस पटक ह्याट्रिक गर्ने दाउमा पुनः डोटीबाटै प्रतिनिधिसभा उम्मेदवार बनेका छन् । एक मात्र निर्वाचन क्षेत्र रहेको डोटीमा आलेसँग दुई स्वतन्त्रसहित ६ जना चुनावी मैदानमा छन् ।

लामो सस्साकसीपछि २०७४ मा उनै आलेसँग पराजित भएका कांग्रेसका वीरबहादुर बलायर व्याक हुँदै डोटी ओललाई छाड्न सहमत भएका थिए । ०७४ मा वाम गठबन्धनका उम्मेदवार रहेका आलेले बलायरलाई एक हजार ६ सय बढी मतान्तरले हराएका थिए । त्यति बेला उनले ३२ हजार ५ सय १० मत पाउँदा बलायरले ३० हजार ८ सय ७८ मत ल्याएका थिए ।

अंक गणित
वैशाखमा भएको स्थानीय तह निर्वाचनमा डोटीका ९ स्थानीय तहमध्ये नेपाली कांग्रेसले ७ वटामा जित निकालेको थियो । नेकपा एमालेले १ र नकेपा माओवादी केन्द्रले अर्को १ स्थानमा जित निकाल्न सफल भएको थियो । वडाध्यक्षहरुको मतलाई हेर्ने हो भने पनि नेपाली कांग्रेसले नै सबैभन्दा बलियो देखिन्छ । नेपाली कांग्रेसका वडाध्यक्षका उम्मेदवारले ३४ हजार ४७ मत पाएका थिए । दोस्रोमा नेकपा एमालेका वडाध्यक्षका उम्मेदवारले २४ हजार ९ सय १६ मत ल्याएका थिए भने माओवादी केन्द्रका वडाध्यक्षका उम्मेदवारले ७ हजार ७ सय ८९ मत ल्याउँदा आलेकै पार्टी नेकपा एकीकृत समाजवादीका वडाध्यक्षका उम्मेदवारले भने ३ हजार २ सय ५ मत ल्याएका थिए ।

यो अर्थमा हेर्ने हो भने आलेको पार्टीभन्दा अहिले नेकपा एमाले नै त्यहाँ बलियो देखिएको छ । तर, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको साथ पाएका आलेलाई एमाले एक्लैको यो चुनौती सहज हुने देखिन्छ । तर त्यसका लागि आलेलाई कांग्रेस र माओवादी केन्द्रले ४१ हजार बढी मत खन्याउनुपर्ने हुन्छ ।

जीवनराम श्रेष्ठ, काठमाडौं–८
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री समेत रहेका उकीकृत समाजवादीका सचिव जीवनराम श्रेष्ठ काठमाडौं क्षेत्र नम्बर ८ बाट सत्ता गठबन्धनका साझा उम्मेदवार हुन् । २०७४ को निर्वाचनमा एमाले उम्मेदवारको रुपमा काठमाडौं– ८ बाटै निर्वाचित भएका थिए ।

त्यतिबेला वाम गठबन्धनको साझा उम्मेदवार बनेका उनले नेपाली कांग्रेसका स्व. नवीन्द्रराज जोशीलाई पाँचसय भन्दा कम मतान्तरले पराजित गरेका थिए । श्रेष्ठले १३ हजार ३९७ मत ल्याउँदा जोशीले १२ हजार ९५३ मत मात्र ल्याएका थिए । यस पटक काठमडौं–८ बाट तीन स्वतन्त्रसहित १९ उम्मेदवार चुनावी मैदानमा होमिएका छन् ।

यस्ताे छ स्थानीय तहको हिसाब किताब
काठमाडौं– ८ मा काठमाडौं महानगरपालिकाका वडाहरु १३, १५, १९, २०, २३, २४ र नागार्जुन नगरपालिकाका वडाहरू ४ र ५ पर्छन् । गत ३० वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा यी वडाहरुका अध्यक्षका उम्मेदवारले पाएको मत गणना गर्दा कांग्रेस अगाडि छ । कांग्रेसले १० हजार ८७२, एमालेले ९ हजार २५३, एकीकृत समाजवादीले ५ हजार १४२, राप्रपाले ३ हजार २४०, स्वतन्त्रले १ हजार ३७ र माओवादी केन्द्रले १४२ मत पाएका थिए । यो मतलाई हेर्ने हो भने श्रेष्ठको पार्टी एकीकृत समाजवादी तेस्रो स्थानमा छ । यसबाट के प्रष्ट हुन्छ भने श्रेष्ठलाई कांग्रेसकै भर पर्नुपर्ने अवस्था छ ।

रामकुमारी झाँक्री, गुल्मी–२
आसन्न प्रतिनिधिसभा निर्वाचन लड्न गुल्मी क्षेत्र नं. २ बाट सात स्वतन्त्रसहित १३ जना चुनावी मैदानमा छन् । यीमध्ये दुई पूर्व सहकर्मी नेकपा एमालेका सचिव गोकर्ण विष्ट र नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीबीच नै रोचक प्रतिस्पर्धा हुने निश्चितप्रायः छ ।

पाँच दलीय सत्ता गठबन्धनको साथ पाएकी ४४ वर्षीया झाँक्रीलाई गुल्मी–२ सँग चिरपरिचित ५७ वर्षीय विष्टले कडा टक्कर दिने छन् । विष्ट र झाँक्री एमाले विभाजन भएर एकीकृत समाजवादी बन्नुपूर्व एमालेमा सँगै सहकार्य गरेका पूर्व सहकर्मीहरु हुन् । आसन्न प्रतिनिधिसभा सदस्यका लागि गुल्मी– २ मा ६२ देखि २६ वर्षसम्मका युवाले उम्मेदवारी दिएका भए पनि यी नै दुई पार्टीका सचिवद्वयबीचको प्रतिस्पर्धा कडा हुने देखिएको हो ।

पाँच दलीय गठबन्नको साथ पाएर केही ढुक्क देखिएकी झाँक्री पहिलो पटक चुनावी मैदानमा छिन् । उनी ०७४ मा समानुपातिक निर्वाचन प्रणालीमार्फत प्रतिनिधिसभा सदस्य बनेकी थिइन् । एमाले विभाजन भएर एकीकृत समाजवादी बनेपछि पार्टी सरकारमा जाँदा उनी पहिलो पटक मन्त्री बनेकी थिइन् । सहरी विकासमन्त्री भएर काम गरिसकेकी उनी प्रत्यक्षमार्फत ‘डेब्यु’ गर्ने सुरमा छिन् ।

झाँक्रीलाई आफ्नो दलसहित कांग्रेस, माओवादी केन्द्रलगायतको साथ छ । तर गुल्मी–२ एमालेको राम्रो प्रभाव रहेको तथा विष्ट दुई दशकदेखिका जनप्रतिधि भएकाले झाँक्रीलाई पनि साह्रै सहज भने छैन ।

यस्तो छ, अंक गणित
गुल्मी क्षेत्र नं. २ मा जिल्लाका मालिका गाउँपालिका, मदाने गाउँपालिका, धुर्कोट गाउँपालिका, इस्मा गाउँपालिका, मुसीकोट नगरपालिका र रेसुङ्गा नगरपालिकाको १ देखि ६ सम्मका वडा पर्छन् । कूल ४३ वडामध्ये सबैभन्दा बढी २५ वटा वडामा कांग्रेसले जितेको छ । एमालेले १७ वडामा जित्दा माओवादीले एक वडामा जितेको छ । कांग्रेस वडा अध्यक्षहरुले २५ वडामा जित निकाल्दै सबै वडामा कुल ३४ हजार ७३१ मत पाएका छन् । यसैगरी गठबन्धनकै अर्को घटक माओवादी केन्द्रका वडा अध्यक्षले एक हजार ८३४, झाँक्रीकै पार्टी एकीकृत समाजवादीका वडा अध्यक्षहरुले ६५८ र राष्ट्रिय जनमोर्चाले ५६ मत पाएका छन् ।
यसैगरी १७ ठाउँमा जित निकाल्दै सबै ठाउँमा एमालेका वडा अध्यक्षले ३१ हजार २८७ मत पाएका छन् । यसैगरी एमालेसँग आसन्न चुनावमा लागि गठबन्धन गरेको जसपाले मात्रै सात मत पाएको छ । यो अंक गणित अनुसार गठबन्धनकी झाँक्रीको जित पक्का जस्तै देखिन्छ । तर त्यसका लागि गठबन्धनको प्रमुख घटक कांग्रेसले ३४ हजारभन्दा बढी मत झाँक्रीका लागि खन्याउनु पर्ने छ । उम्मेदवार स्वयं झाँक्रीकै पार्टीले निर्वाचन क्षेत्रका ४३ वडामध्ये एउटा वडामा पनि जित निकालेको छैन भने मात्रै ६५८ मत पाएको छ ।

कृष्णलाल महर्जन, ललितपुर–२
नेकपा एमाले विभाजनसँग माधव नेपाल नेतृत्वका नेकपा एकीकृत समाजवादीमा लागेका कृष्णलाल महर्जन ललितपुर क्षेत्र नम्बर दुई बाट सत्ता गठबन्धनका साझा उम्मेदवार हुन् । ०७४ मा वाम गठबन्धनका तर्फबाट बाजी मारेका उनी यस पठक वाम–लोकतान्त्रिक गठबनधनका साझा उम्मेदवार बनेका छन् । त्यसबेला उनले २७ हजार ७१३ पाउँदा निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका चन्द्र महर्जनले १६ हजार ९४५ मत ल्याएका थिए ।

कृष्णलाल यसअघि विसं २०५६ को आमनिर्वाचनमा समेत सोही क्षेत्रबाट विजयी भएका थिए । यस पटक उनी पनि ह्याट्रिक गर्ने दाउमा छन् । ९ स्वतन्त्रसहित २३ जना उनीसँग प्रतिस्पर्धा गर्न चुनावी मैदामा छन् । जसमध्ये एमालेका प्रेमबहादुर महर्जनलाई उनको मुख्य प्रतिस्पर्धीका रुपमा हेरिएको छ ।

स्थानीय तहको मत परिणाम
ललितपुर क्षेत्र नम्बर– २ मा ललितपुर महानगरपालिकाका ६, ७, ८, ९, ११, १२, १६, १७ र १९ वडा र महालक्ष्मी नगरपालिका पर्छ । महालक्ष्मीका १० वटा वडासहित यो निर्वाचन क्षेत्रमा १९ वटा वडा छन् । यी वडामा गत स्थानीय तह निर्वाचनमा कांग्रेसका वडाध्यक्षहरुले सबैभन्दा बढी २१ हजार ८१ म्त पाएका छन् ।

दोस्रोमा एमालेलेका उम्मेदवार १७ हजार ७१२, माओवादीका उम्मेदवार ५ हजार २५४ र उम्मेदवार कृष्णलाल महर्जजनका पार्टी एकीकृत समाजवादीले सबैभन्दा कम ३ हजार १९२ मत पाएका छन् । गठबन्धनमा आवद्ध दलहरु एक ठाउँमा उभिँदा कृष्णलाल महर्जजन ग्रीन जोनमा देखिन्छन् । एमालेका प्रेमबहादुर महर्जनविरुद्ध बाजी मार्न कृष्णलालका लागि कांग्रेसले २१ ह्जार बढी र माओवादीले पाँच हजार बढी मत खन्याउनुपर्छ ।

राजेन्द्रप्रसाद पाण्डे, धादिङ– १
बागमती प्रदेशको मुख्यमन्त्री भइसकेका एकीकृत समाजवादीका राजेन्द्र पाण्डे धादिङ क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्यका लागि आफ्नै पुराना सहकर्मी एमालेका भूमि त्रिपाठीसँग चुनावी मैदानमा उत्रिएका छन् । २०७४ को निर्वाचनमा वाम गठबन्धनबाट प्रतिनिधिसभामा त्रिपाठी र प्रदेशसभामा पाण्डे दुबैजना विजयी भएका थिए । यस पटक धादिङ–१ बाट ७ स्वतन्त्रसहित १५ जना चुनावी प्रतिस्पर्धामा छन् । जसमा धादिङका पुराना कम्युनिष्ट नेता उत्तमराज शर्मा कँडेल छन् । यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीबाट कमेडियन हिमेश पन्त पनि उम्मेदवार छन् ।

तर यस क्षेत्रमा मुख्य गरी नेकपा एसका पाण्डे र नेकपा एमालेका त्रिपाठीबीच कडा प्रतिस्पर्धा हुने देखिन्छ । पाण्डेलाई सत्ता गठबन्धनको साथ रहेको छ भने त्रिपाठीलाई राष्ट्रिय प्रजातन्त्र पार्टीले समर्थन गरेको छ ।

कस्ताे छ अंक गणित ?
धादिङ–१ मा जिल्लाको धुनीवेशी नगरपालिका, थाक्रे गाउँपालिका, गल्छी गाउँपालिका, गजुरी गाउँपालिका, बेनीघाट रोराङ्ग गाउँपालिका र सिद्धलेक गाउँपालिका पर्छन् । स्थानीय तहको गत निर्वाचनमा यी पालिकाका सबैको वडामा दलहरुले पाएका मतपरिणम हेर्दा यस क्षेत्रमा सत्तारूढ गठबन्धन बलियो देखिन्छ । सबै वडामा पाएको दलगत मतभारमा एमाले एक्लै सबैभन्दा बलियो देखिन्छ, तर गठबन्धन एक ठाउँ हुँदा एमाले कमजोर देखिन्छ ।

स्थानीय चुनावमा एमालका वडा अध्यक्षहरुले धादिङ–१ मा ३१ हजार ३४० मत प्राप्त गरे । माओवादी केन्द्रले २१ हजार ३०३ मत प्राप्त गर्दा नेपाली कांग्रेसले १६ हजार १३१ मत पाएको थियो । पाण्डेको पार्टी एकीकृत समाजवादी चौथो स्थानमा छ, जसले ६ हजार ९०९ मत प्राप्त गर्दा राप्रपाको ८१५ मत देखिन्छ ।

यहाँ एमालेले राप्रपासँग चुनावी तालमेल गरेको छ । यी दुई पार्टीको मत जोड्दा ३२ हजार १५५ मत पुग्छ । उता सत्तारूढ गठबन्धनको मत भने ४४ हजार ३४३ पुग्छ । जसबाट गठबन्धनबाट उम्मेदवार बनेका नेकपा एसका पाण्डे सुरक्षित देखिन्छन् । तर यसका लागि माओवादी केन्द्रले २१ हजार बढी र कांग्रेसले १६ हजार बढी मत खन्याउनुपर्ने हुन्छ ।

धादिङ–१ मा कमेडी च्याम्पियन सिजन १ का विजेता हिमेश पन्तले पनि उम्मेदवारी दिएकाले मत परिणाम सामान्य फेरबदल हुने आंकलन गरिए पनि माओवादी केन्द्र र कांग्रेसको मतले पाण्डे सुरक्षित देखिन्छन् ।

विरोध खतिवडा, मकवानपुर– २
नेकपा एमालेबाट पटक पटक बाजी मार्दै आएका पूर्वस्वास्थ्य तथा जनसंख्यामन्त्री भइसकेका नेकपा एकीकृत समाजवादीका पोलिटव्यूरो सदस्य विरोध खतिवडा मकवानपुर –२ मा यस पटक वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार हुन् । ४ पटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भइसकेका खतिवडाको यो उम्मेदवारी पाँचौँ हो । २०४८, २०५१ र २०५६ र २०७४ को निर्वाचनमा मकवानपुर–२ बाटै उनी निर्वाचित भएका थिए ।

२०७४ मंसिरमा सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा एमाले–माओवादी गठबन्धनको साझा उम्मेदवार बनेका उनले चौथोपटक सफलता हात पार्ने क्रममा ४४ हजार ७ सय ४४ मत ल्याएका थिए भने कांग्रेसकी महालक्ष्मी उपाध्याय (डिना) ३२ हजार ६ सय ८५ मत ल्याएकी थिइन् । यस पटक खतिवडाको बिरासत भत्काउने रेसमा नेकपा एमालेका महेश बर्तौला छन् । उनीहरुबीच नै मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।

चुनावी अंकगणित
मकवानपुर २ मा भीमफेदी गाउँपालिका, हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर १, ३, ११ र १९, इन्द्रसरोवार गाउँपालिका, मकवानपुरगढी गाउँपालिको वडा नम्बर ५, ६, ७ र ८, मनहरी गाउँपालिका, राक्सिराङ गाउँपालिका र थाहा नगरपालिका पर्छन् । गत स्थानीय तहको मत परिणाम अनुसार यस निर्वाचन क्षेत्रमा नेपाली कांग्रेस सबैभन्दा बलियो पार्टीका रुपमा उभिएको छ ।

कांग्रेसका वडाध्यक्षहरुले २७ हजार ९३७ मत पाउँदा दोस्रोमा एमालेका वडाध्यक्षहरुले २७ हजार २५३ मत पाएका छन् । यसैगरी माओवादी केन्द्रले १७ हजार ५१० र खतिवडाका पार्टी एकीकृत समाजवादीले एक हजार ७४७ मत मात्रै पाएको छ । मुख्य प्रतिस्पर्धी मानिएको गठबन्धनका उम्मेदवार खतिवडा एमालेका बर्तौलाभन्दा १८ हजार बढी मतल अगाडि छन् । यद्यपि खतिवडाले बाजी मार्न कांग्रेसले झन्डै २८ हजार र माओवादीले साढे १७ हजार मत नखन्याई सुख छैन ।

श्रीनाथ बराल, कास्की– २
एमालेमा रहेर विगतका निर्वाचनमा स्व. रवीन्द्र अधिकारीलाई जिताउन उल्लेख्य भूमिका खेलेका श्रीनाथ बराल यस पटक कास्की– २ बाटै उम्मेदवार बनेका छन् । २०६४ र ०७४ को निर्वाचनमा उनी रवीन्द्र जिताउन लागिपरेका थिए । पर्यटन मन्त्री भएका रवीन्द्रको २०७५ फागुनमा हवाई दुर्घटनामा परी निधन भयो । त्यसपछिको उपनिर्वाचनमा पनि उनकी पत्नी विद्या भट्टराईलाई जिताउन श्रीनाथले फेरि साथ दिए ।

०७४ मा रवीन्द्ररले २७ हजार २०७ मत पाएर विजयी हुँदा कांग्रेसका देवराज चालिसेले १८ हजार ६६१ म्त ल्याएका थिए । ०७६ मंसिरमा सम्पन्न उपनिर्वाचनमा विद्याले भट्टराईले २४ हजार ३ सय ९४ मत ल्याएर निर्वाचित हुँदा कांग्रेसका खेमराज पौडेलले १५ हजार ९ सय ९१ ल्याएका थिए ।

तर यसपाली सधैँ एमाले उम्मेदवार जिताउन लागि पर्ने श्रीनाथ आफै वाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट एमालेलाई हराउन चुनावी मैदानमा छन् । तत्कालीन नेकपा तीन टुक्रामा विभाजित हुँदा विद्याविरूद्ध एमालेकै पूर्वनेता मैदानमा उत्रिएका हुन् । तत्कालीन प्रतिस्पर्धी कांग्रेससहित पाँच दलीय गठबन्धनले एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य श्रीनाथलाई विद्याविरूद्ध साझा उम्मेदवार बनाएका हुन् । तसर्थ पूर्वसहकर्मीबीचको प्रतिस्पर्धा यस पटक निक्कै रोचक हुने देखिएको छ ।

अंक गणित यस्तो छ
कास्की–२ मा पोखरा महानगरको वडा नम्बर ४, ७, ८, ९, ११, १५, १६, १७, २०, २१, ३३ रहेका छन् । उक्त क्षेत्रका ६ वटा वडामा कांग्रेस र ५ वटा वडाका वडाध्यक्ष एमाले उम्मेदवारले जितेका छन् । कांग्रेसका वडाध्यक्षका उम्मेदवारले १९ हजार ८ मत पाउँदा एमालेका वडाध्यक्ष उम्मेदवारले २१ हजार १०० मत पाएका थिए ।

यस्तै, बरालका पार्टी एकीकृत समाजवादीका वडाध्यक्ष उम्मेदवारले २ हजार ५३, माओवादी केन्द्रका उम्मेदवारले १ हजार १९८, राप्रपाका वडाध्यक्ष उम्मेदवारले २ हजार ७९ र अन्य उम्मेदवारले ७५० मत पाएका थिए । अहिले ५ दलीय गठबन्धनमा आवद्ध दलहरूले उक्त क्षेत्रका वडाध्यक्षमा पाएको मत जोड्दा विद्या १ हजार मतले पछाडि छिन् ।

एकीकृत समाजवादीका उम्मेदवार श्रीनाथले वैशाख ३० मा गठबन्धनका वडाध्यक्षले पाएका मत मात्र जोगाउन सके पनि १ हजार मतान्तरले जित्ने देखिन्छ । त्यसका लागि पनि उनी कांग्रेसकै मतमा भर पुर्न पर्ने भने देखिन्छ ।

सोमप्रसाद पाण्डे, पाल्पा–२
पाल्पा–२ बाट लगातार जसो चुनाव जित्दै आएका सोमप्रसाद पाण्डेले यस पटक एमालेबाट विभाजित भइ बनेको पार्टी एकीकृत समाजवादीबाट उम्मेदवार बनेका छन् । २०५१, ०५६, ०७० र ०७४ मा गरि ४ पटक उनले नेकपा एमालेबाट चुनाव जितेर सांसद बने । २०६४ को चुनावमा मात्र उनी पराजित भएका थिए । ०७४ मा कांग्रेस हरिप्रसाद नेपाललाई हराउने क्रममा पाण्डेले ३४ हजार ८९९ मत ल्याएका थिए भने नेपालले २४ हजार ५५४ मत प्राप्त गरेका थिए ।

माधव नेपालका सम्धीसमेत रहेका पाण्डे नेकपा एसको केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश अध्यक्ष समेत हुन् । यस निर्वाचन क्षेत्रबाट तीन स्वतन्त्रसहित १४ जनाले प्रतिनिधिसभा चुनाव लड्न उम्मेदवारी दिएका छन् । तर गठबन्धनको साझा उम्मेदवार पाण्डेसँग एमाले केन्द्रीय सदस्य ठाकुर गैरे मुख्य प्रतिस्पर्धी मानिएको छ । गैरे नयाँ तर परिचित अनुहार हुन् ।

यस्ताे छ हिसाबकिता
पाल्पा क्षेत्रमा नम्बर–२ मा जिल्लाको बगनासकाली गाउँपालिका, तानसेन नगरपालिकाका वडा नम्बर १, २, ३, ४, ५, ६, ७, ९, १०, ११, १२, १३, र १४, तनिाउँ गाउँपालिकाको वडा नम्बर १, २, ३, ४, र ६, रिब्दीकोट गाउँपालिका, रैनादेवी छहरा गाउँपालिका र माथागढी गाउँपालिकाको वडा नम्बर १ पर्छन् ।

गत वैशाखमा भएको स्थानीय चुनावमा यहाँ एमालेका वडा अध्यक्षहरुले कुल ३० हजार ५३६ मत ल्याएका थिए । त्यस्तै नेपाली कांग्रेसका वडाध्यक्षले २९ हजार ३९ मत ल्याएर दोस्रो तथा माओवादीले ४ हजार ३१३ मत पाएर तेस्रो बनेका थिए । पाण्डेका पार्टी एकीकृत समाजवादीका वडा अध्यक्षहरुले मात्र ४३३ मत पाएका छन् ।

स्थानीय चुनावको मत हेर्दा पाल्पा–२ मा एकीकृत समाजवादी कमजोर देखिन्छ । तर गठबन्धनका कारण ग्रीन जोनमा रहेका उनलाई जिताउन कांग्रेसले र माओवादीले ३३ हजारभन्दा बढी मत कलममा हाल्नुपर्ने हुन्छ ।

मेटमणि चौधरी, दाङ–१
तीन पूर्व सहकर्मीहरुबीचको भिडन्तका कारण दाङ–१ चासोको केन्द्रविन्दुमा परेको छ । अहिले यो निर्वाचन क्षेत्रमा गठबन्धनको साथ पाएका मेटमणि चौधरी उम्मेदवार बनेका छन् । उनका पूर्व सहकर्मी एमालेकी शान्ता चौधरी र टिकट नपाएपछि एमाले त्यागेकी गंगा चौधरी पनि यसै निर्वाचन क्षेत्रकी प्रतिस्पर्धी हुन् ।

२०७४ सालको चुनावमा तीनैजना एमालेबाट चुनावी अभियानमा थिए । एमाले विभाजनपछि एकीकृत समाजवादीमा लागेका मेटमणि अन्तत शहरी विकास मन्त्री भइसकेका छन् । ०७४ मा उनी दाङ–१ बाटै कांग्रेसकी सुशिला चौधरीलाई हराउँदै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । त्यसबेला मेटमणिले ३७ हजार ९०८ मत ल्याउँदा कांग्रेसकी सुशीलाले २४ हजार ७० मत प्राप्त गरेकी थिइन् ।

०६४ सालमा समानुपातिक सांसद भएकी एमालेकी शान्ता ०७० मा प्रत्यक्ष चुनाव लडेर हारिन्। ०७४ मा समानुपातिकबाट सांसद भएकी उनी यस पटक मेटमणिका प्रमुख प्रतिस्पर्धी मानिएको छ । वाम लोकतान्त्रिक गठबन्धन चुनौती बनिरहेका बेला उम्मेदवारी मनोनयनअघिसम्मकी सहकर्मी गंगाले अर्को पार्टीबाट उम्ममेदवारी दिएपछि झन् सकस पर्ने आंकलन गरिएको छ ।

स्थानीय तहको हिसाब

दाङ–१ मा गाउँपालिका, राप्ती नगरपालिका, राजपुर नगरपालिका, लमही नगरपालिका र घोरही उपमहानरपालिकाका वडा नम्बर १, २, ३ र ५ पर्छन् । गत वैशाखमा सम्पन्न स्थानीय चुनावको परिणामलाई आधार मान्दा दाङ–१ मा कांग्रेस बलियो देखिन्छ । यी सबै वडामा गरी कांग्रेसका वडाध्यक्षका उम्मेदवारहरुले २९ हजार ७५७, दोस्रोमा एमालेका वडाध्यक्षले २७ हजार २५ र तेस्रो स्थानमा रहेको माओवादीका वडाध्यक्षहरुले १९ हजार २७६ पाएका छन् । एमालेलाई साथ दिएको जसपाका वडाध्यक्षहरुले यस निर्वाचन क्षेत्रमा ८०७ मत मात्रै छ ।

मेटमणिका पार्टी एकीकृत समाजवादी २ हजार ३४१ म्तका साथ चौथो स्थानमा छ । गठबन्धनमा रहेका दलहरुको मत हेर्दा मेटमणि बलियो देखिन्छन् । तर त्यसका लागि उनलाई कांग्रेस माओवादीकै भर पर्नुपर्ने हुन्छ ।

प्रकाश बुढाथोकी ‘ज्वाला’, सल्यान
नेकपा एकीकृत समाजवादीका उपमहासचिव एवं प्रदेश इञ्चार्ज प्रकाश बुढाथोकी ‘ज्वाला’ गृह जिल्लामा सत्ता गठबन्धनका साझा उम्मेदवार हुन् । ०७२ मा सल्यान प्रदेशसभा निर्वाचन क्षेत्र २ बाट उनी उनी १९ हजार ८३६ मतका साथ निर्वाचित भएका थिए । एमालेबाट विभाजित भई बनेको एकीकृत समाजवादीमा लागेसँगै उनका लागि प्रतिनिधिसभा सदस्य निर्वाचन लड्ने ढोका खुलेको हो । उनीसँग प्रतिस्पर्धा गर्न एमालेले राजेन्द्रवीर रायलाई अघि सारेको छ । सल्यानमा ३ स्वतन्त्रसहित ८ जनाको उम्मेदवारी परेको भए पनि गठबन्धनका ज्वाला र एमालेका सायबीच नै मुख्य प्रतिस्पर्धा हुने विश्लेषण गरिएको छ ।

०७४ मा यस निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभामा वाम गठबन्धन(माओवादी) का टेकबहादुर बस्नेतले जितेका थिए । उनले ४० हजार ८९७ मत ल्याएर निर्वाचित हुँदा कांग्रेसका राजेन्द्र बहादुर शाहले २९ हजार ७६७ मत प्राप्त गरेका थिए । यस्तै स्वतन्त्र उम्मेदवार उमाकान्त खनालले तेस्रो नम्बरमा २ हजार ९२१ र मालेका बलबहादुर गिरीले २ हजार २९२ मत ल्याएका थिए ।

यस्तो त स्थानीय तहमा दलहरुले पाएको मतपरिणाम
एक मात्र संघीय निर्वाचन क्षेत्र रहेको सल्यामा शारदा नगरपालिका, बागचौर नगरपालिका, बनगाड कुपिण्डे नगरपालिका, कालीमाटी गाउँपालिका, त्रिवेणी गाउँपालिका, कपुरकोट गाउँपालिका, छत्रेश्वरी गाउँपालिका, सिद्ध कुमार गाउँपालिका, कुमाख गाउँपालिका र दार्मा गाउँपालिका गरी १० पालिका छन् ।

जसमध्ये माओवादीले ३ वटा पालिका प्रमुखमा उम्मेदवार उठाएको थिएन भने कांग्रेस र एमालेले १÷१ वटा पालिकाको प्रमुखमा उम्मेदवारी दिएको थिएन । नेकपा एकीकृत समाजवादीले धेरैजसो पालिकाको प्रमुख पदमा माओवादी र कांग्रेसलाई साथ दिएको थियो । यसो हुँदा प्रमुखमा उम्मेदवार नउठाएकाले उपप्रमुख सहितको मत जोड्दा कांग्रेसको ४२ हजार १०० र माओवादीको ३८ हजार ३८४, एमालेको ३१ हजार ९९४ मत रहेको छ । ज्वालाका पार्टी एकीकृत समाजवादीको १५ हजार ३११ मत छ ।

यसलाई आधार मान्ने हो भने तेस्रो स्थानमा रहेको पार्टीका उम्मेदवार ज्वालालाई सहज देखिन्छ । तर उनलाई कांग्रेस र माओवादी केन्द्र केन्द्रकै भर पर्नुपर्ने देखिन्छ । (गठबन्धन गर्दा प्रमुखमा उम्मेदवार नउठाएकाको उपप्रमुखले पाएका मत जोडिएको)

धनबहादुर बुढा, डोल्पा
एक मात्रै संघीय निर्वाचन क्षेत्र रहेको डोल्पामा एकीकृत समाजवादीका नेता धनबहादुर बुढा पाँच दलीय सत्ता गठबन्धनका सझा उम्मेदवार हुन् ०७४ मा वाम गठबनधन(एमाले) बाट विजयी भएका बुढालाई यस पटक पनि वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार हुन् ।

०७४ मा उनले ११ हजार ७६१ मत ल्याएर विजयी हुँदा कांग्रेसका अंगत बुढाले ३ हजार १६७ मत ल्याएका थिए । डोल्पाबाट आसन्न प्रतिनिधिसभा चुनाव लड्न दुई स्वतन्त्रसहित ६ जनाको उम्मेदवारी परेको छ । यी मध्ये गठबन्धनका बुढा र एमालेका गणेशबहादुर शाहीबीच प्रतिस्पर्धा हुने देखिएको छ ।

यस्तो छ स्थानीय तहको परिणाम
डोल्पा निर्वाचन क्षेत्रमा डोल्पो बुद्ध गाउँपालिका, शे–फोक्सुण्डो गाउँपालिका, जगदुल्लाह गाउँपालिका, मुड्केचुला गाउँपालिका, काईके गाउँपालिका, छार्का ताङसोङ गाउँपालिका, ठूलीभेरी नगरपालिका र त्रिपुरासुन्दरी नगरपालिका गरी आठ वटा पालिका पर्छन् । गत स्थानी तह निर्वाचनमा काईके र छार्का ताङसोङ गाउँपालिका प्रमुखमा एकीकृत समाजवादीका उम्मेदार निर्विरोध निर्वाचित भएका थिए भने शे–फोक्सुण्डोमा एमालेका उम्मेदवार निर्विरोध चयन भएका थिए । यसैगरी डोल्पो बुद्ध गाउँपालिकामा स्वतन्त्र उम्मेदवारले बाजी मारेका थिए ।

अन्य चार पालिकामा दलहरुबीच भएको प्रतिस्पर्धाका आधारमा एमाले बलियो देखिन्छ । माओवादीका अध्यक्ष÷प्रमुखले ४ हजार ७०९, दोस्रो मा दल बनेको माओवादी केन्द्रले ४ हजार ३९४, ३ हजार ६२५ मतका साथ कांग्रेस तेस्रो र उम्मेदवार धनबहादुरका पार्टी एकीकृत समाजवादीको जम्मा ९४५ मत पाएको छ । यो परिणामबाट गठबन्धनका बुढा सुरक्षित देखिएपनि सबै पालिकामा मतदान नभएका कारण यसैलाई आधार मान्न भने सकिन्न । सर्वसहमत पालिका प्रमुख निर्वाचत भएका स्थानीय तहका मत र स्वतन्त्रले जितेका पालिकाको मत आसन्न निर्वाचनको मतपरिणाम फेरबदलमा निर्णायक बन्न सक्छ ।

अम्बरबहादुर थापा, दैलेख– १
दैखेल–१ मा सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेका एकीकृत समाजवादीका अम्बरबहादुर थापासँग पूर्व सहकर्मीसँग प्रतिस्पर्धा हुने देखिएको छ । ०७४ मा एमालेका रविन्द्रराज शर्माका लागि मत मागेका थापा यस पटक उनै शर्मासँगै भिड्दैछन् ।
०७४ मा वाम गठबन्धनबाट शर्माले २३ हजार ७७३ मत ल्याएर जितेका थिए भने उनका प्रतिस्पर्धी राप्रपाका दीपककुमार शाहले १७ हजार २५२ मत प्राप्त गरेका थिए । एमालेको विभाजनसँगै एकीकृत समाजवादीमा लागेका उनी एकीकृत समाजवादीका कर्णाली प्रदेश कमिटी अध्यक्ष हुन् ।

अंक गणित
दैलेख १ मा जिल्लाको गुराँस गाउँपालिका, डुंगेश्वर पाउँपालिका, भगवतीमाई गाउँपालिका, नारायण नगरपालिका, नौमूले गाउँपालिका र महावु गाउँपालिका पर्छन् । यी ६ पालिकामा गत स्थानीय तह निर्वाचनमा प्रमुखले पाएका मतका आधारमा एमाले पहिलो पार्टी बनेको छ ।

एमालेले प्रमुखमा २२ हजार ४१४ मत पाउँदा दोस्रोमा कांग्रेसले २० हजार ७८५, माओवादीले ६ हजार २४९, र उम्मेदवार थापाका पार्टी एकीकृत समाजवादीले ८ हजार ९५२ मत पाएको छ । यसअर्थ गठबन्धनका साथ पाएका थापा सुरक्षित देखिए पनि यसै परिणामलाई मात्रै आधार मान्न भने सकिन्न । तर एमालेका शर्मालाई निक्कै सकस पर्ने अनुमान भने सहजै लाउन सकिन्छ । (गठबन्धन गर्दा प्रमुखमा उम्मेदवार नउठाएकाको उपप्रमुखले पाएका मत जोडिएको)

शेरबहादुर कुँवर, अछाम–१
एमालेले पूर्व उपाध्यक्ष डा. भीम रावलले टिकट नपाएपछि चर्चा पाएको अछाम–१ सत्ता गठबन्धनले एकीकृत समाजवादीका शेरबहादुर कुँवरलाई अघि सारेको छ । ०७४ मा वाम गठबन्धनबा उम्मेदवार बनेका रावलले २४ हजार ८८३ मत ल्याएर विजयी हुँदा कांग्रेसका भरतकुमार स्वारले १७ हजार ७१९ मत ल्याएका थिए । यस पटक वाम लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवार बनेका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीसमेत रहेका कुँवरलाई कांग्रेस र माओवादीको दरिलो साथ छ ।

अछाम–१ बाट प्रतिनिधिसभाका निर्वाचनका लागि चार स्वतन्त्रसहित ७ जनाको उम्मेदवारी परेको छ । तर मुख्य प्रतिस्पर्धा भने सत्ता गठबन्धनको साथ पाएका कुँवर र एमालेका झपट बोहराबीच हुने देखिन्छ । यद्यपि रावलको असन्तुष्टिसँगै अछाम एमालेका छिन्नभिन्न भएको छ । यसको असर भने चुनावी परिणाममा देखि स्पष्ट छ । यद्यपि गठबन्धनका कुँवरलाई पनि सहज भने छैन । किन भने उनीविरुद्ध कांग्रेसका युवा नेता राजन कुँवरले बागी उम्मेदवारी लिएको छन् ।

स्थानीय निर्वाचनको गणित
अछाम–१ मा रामारोशन गाउँपालिका, बन्नगढी जयगढ गाउँपालिका, चौरपाटी गाउँपालिका, साँभफेबगर नगरपालिका र मल्लेख गाउँपालिका पर्छन् । जहाँ ४२ वटा वडा छन् । गत ३० वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा कांग्रेसका वडाअध्यक्षहरुले १९, एमालेका वडाध्यक्षहरुले १३, माओवादीले ५, एकीकृत समाजवादीले २ र स्वतन्त्र ३ जना वडाको अध्यक्ष पदमा निर्वाचित भएका छन् ।

स्थानीय तहको मतलाई आधार मान्ने हो भने कांग्रेस र एमाले हैसियत उस्तै देखिन्छ । कांग्रेस वडाध्यक्षको कुल मत १६ हजार ७२८ छ भने एमालेको १६ हजार ५६७ छ । ग्ठबनधनका अर्को घटक माओवादीको ६ हजार ७९० र कुँवरकै पार्टी एकीकृत समाजवादीको २ हजार ७५२ मत छ । गठबन्धनले स्थानीय निर्वाचनमा २६ हजार २७० मत पाएको छ भने एमाले ९ हजार ७०३ मतले पछाडि छ । यसलाई हेर्दा गठबन्धनका कुँवर सुरक्षित देखिन्छन्, तर कांग्रेस र माओवादीले करिब साढे २३ हजार मत उनका लागि खन्याउनुपर्ने हुन्छ । राजन कुँवरको बागी उम्मेदवारी निष्क्रिय नभए शेबहादुर कुँवरलाई त्यसबाट अफ्ठ्यारो पार्न सक्छ ।

भानुभक्त जोशी, बझाङ
नेकपा एकीकृत समाजवादीका नेता एवं पूर्व वनमन्त्री भानुभक्त जोशी एक मात्र संघीय निर्वाचन क्षेत्र रहेको बझाङबाट सत्ता गठबन्धनका उम्मेदवार बनेका छन् । एमाले विभाजिनपछि पनि एमालेका रहेका उनी पार्टीमा अध्यक्ष केपी ओलीले १० बुँदे कार्यान्वयन नगरेको भन्दै एकीकृत समाजवादीमा प्रवेश गरेका हुन् ।

०७२ मा बझाङबाट वाम गठबन्धनका उम्मेदवार भैरवहादुर सिंह विजयी भएका थिए । नेपाली कांग्रेसका पृथ्वीबहादुर सिंहलाई ५ हजार ६ सय ५९ मतान्तरले हराउँदै एमाले नेता सिंह विजयी भएका थिए । सिंहले २८ हजार ८ सय ८१ मत प्राप्त गर्दा कांग्रेसका पृथ्वीबहादुर सिंहले २३ हजार २ सय २२ मत प्राप्त गरेका थिए । त्यसबेला सिंहका लागि अहिलेका उम्मेदवार जोशीले मत माग्दै हिँडेका थिए ।

अहिले बझाङबाट प्रतिनिधिसभा चुनावका लागि जोशीसहित ९ जनाले उम्मेदवारी दिएका छन् । त्यसमा चार जना स्वतन्त्र छन् । तर त्यसमध्ये बागी उम्मेदवारी दिएका माओवादीका लोकेन्द्र धामीले एमालेका ऐनबहादुर महरलाई सहयोग गर्दै भन्दै उम्मेदवारी फिर्ता लिएका छन् । जसले गठबनधनका आधिकारिक उम्मेदवार जोशीलाई अफ्ठ्यारो पर्न सक्ने देखिन्छ ।

अंग गणित
एक संघीय निर्वाचन क्षेत्र रहेको बझाङमा १२ वटा स्थानीय तह छन् । गत ३० वैशाखको स्थानीय तह निर्वाचनमा प्रमुखका उम्मेदवारले पाएका मत परिणामअनुसार सत्ता गठबन्धन नै बलियो देखिन्छ । गठबन्धनका प्रमुख घटक कांग्रेसको ३७ हजार १९७, माओवादी केन्द्रको २२ हजार ३३८ र एकीकृत समाजवादीको १९ हजार ३९ मत छ भने एमालको २८ हजार ७०५ मत छ । यस आधारमा गठबन्धनका जोशी ग्रीन जोनमा देखिन्छन् । तर उनलाई बाजी मार्न नेपाली कांग्रेसँग र माओवादी केन्द्रको साथ अनिवार्य छ । (गठबन्धन गर्दा प्रमुखमा उम्मेदवार नउठाएकाको उपप्रमुखले पाएका मत जोडिएको)

प्रकाशित मिति : १३ कार्तिक २०७९, आईतवार २१:२५   :  बजे

174
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।