Logo

प्रमुख समाचार

नेपाल भारत सीमा तीन दिन सील गर्ने



नवलपुर । नेपालमा आसन्न निर्वाचनका समय नेपाल भारत सीमा तीन दिन सील गर्ने सहमति भएको छ । बिहारको रक्सौलमा बसेको दुवै देशका सीमावर्ती जिल्लाका सुरक्षा निकायका प्रमुख र उच्च अधिकारीहरूको बैठकले आगामी निर्वाचनका लागि मङ्सिर २ देखि ४ गतेसम्म सीमा सील गर्ने सहमति गरेको हो ।

भारतको बिहारसँग जोडिएका नेपालका पर्सा, बारा, रौतहट, चितवन र नवलपरासी (बर्दघाट सुस्तापूर्व) र नवलपरासी (बर्दघाट सुस्तापश्चिम) का सीमा ७२ घण्टाका लागि सील गर्ने सहमति भएको हो ।

बैठकमा सूचना सम्प्रेषणमा प्रभावकारिता, अन्तर सीमा अपराध नियन्त्रण (जाली नोट र लागूऔषधको ओसारपसार, तस्करी, अन्य गैरकानूनी गतिविधि) मदिरा तस्करी नियन्त्रण लगायतका विषयमा एकापसमा सहयोग आदानप्रदान गर्ने विषयमा छलफल र समझदारी भएको छ । 

नेपाल भारत अन्तर जिल्ला सीमा समन्वय बैठकको प्रतिनिधिमण्डलमा नेपालका तर्फबाट नवलपरासी (बर्दघाट सुस्तापूर्व) का प्रमुख जिल्ला अधिकारी सुमन घिमिरे र भारतका जिल्लाका तर्फबाट पूर्वी चम्पारण जिल्ला अधिकारी सिरसत कपिल अशोकले नेतृत्व गरेका थिए ।

छ जिल्लाका प्रमुख जिल्ला अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी तथा दुवै देशका सीमावर्ती जिल्लाका सुरक्षा निकायका प्रमुख र उच्च अधिकारीहरूको बैठकमा उपस्थिति  थियो ।

प्रकाशित मिति : १६ कार्तिक २०७९, बुधबार १२:४२   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।