काठमाडौं । भारतले बंगलादेशलाई हराउँदै समूह चरणको शीर्षस्थानमा उक्लिएको छ। टी-२० विश्वकपअन्तर्गत बुधबार अष्ट्रेलियामा भएको खेलमा भारतले बंगलादेशलाई ५ रनले पराजित गरेको हो ।
वर्षाका कारण खेल प्रभावित बनेपछि ‘डीएल मेथड’का आधारमा खेल १६ ओभरमा झारिएको थियो । त्यसपश्चात बंगलादेशले १५१ रनको नयाँ लक्ष्य पाएको थियो । १६ ओभरको खेलमा बंगलादेशले ६ विकेट गुमाउँदै १४५ रन बनायो । बंगलादेशका लागि नुरुल हसन २५ रनमा अविजित रहे । उनले अन्तिम दुई ओभरमा आक्रामक ब्याटिङ गरे पनि बंगलादेशलाई जित दिलाउन चुकेका थिए। त्यसअघि लिटन दासले सर्वाधिक ६० रन बनाएका थिए ।
टस हारेर ब्याटिङको निम्तो पाएको भारतले निर्धारित ओभरको खेलमा ६ विकेट गुमाउँदै १८४ रन बनाएको थियो । भारतका लागि पूर्वकप्तानसमेत रहेका विराट कोहलीले सर्वाधिक ६४ रन बनाए। ४४ बलमा अविजित रहँदै विराटले ८ चौका र एक छक्का प्रहार गरेका थिए ।
त्यस्तै केएल राहुलले ५०, सूर्यकुमार यादवले ३० रन बनाउँदा आश्विनले अविजित १३ रन बनाए।




















प्रतिक्रिया