काठमाडौं । नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले मतदाताको मत र विवेकमाथि पैसाको चलखेल गर्न खोज्नेहरुको प्रयास सफल नहुने बताएका छन् । काठमाडौं क्षेत्र नं ५ का उम्मेदवार समेत रहेका नेता पौडेलले निर्वाचन क्षेत्रमा आयोजित कार्यक्रममा बोल्दै मतदाताको मत किन्ने खराब मनोवृत्ति भएका व्यक्तिहरुप्रति खबरदारी गर्दै आक्रोश व्यक्त गरेका हुन् ।
नेता पौडेलले राजधानीमा विवेकी मतदाता रहेका कारण यहाँ कसैले पनि मतदाताको मत र विवेक किन्न नसक्ने बताए । ‘यो राजधानी हो यहाँ भोट किन्न पाइँदैन । राजधानीको भोट पैसाले किनिँदैन । मान्छेको विवेक किन्ने पिपासुहरु, मान्छेको विचार किन्न पनि पछि नपर्ने अहंकारीहरु यही काठमाडौंमा भेटिन्छन्’, उनले भने, ‘तर उनीहरुको प्रयास सफल हुँदैन । यो विवेक बोकेका मान्छेहरुको बस्ती हो । यो चेतना बोकेका मान्छेहरु बसेको ठाउँ हो । यो देशलाई सन्देश दिने ठाउँ हो ।’
त्यसैगरी आगामी निर्वाचनमा कांग्रेस पार्टी र गठबन्धनभित्रको एकता निर्वाचन परिणामले देखाउने बताए । उनले कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीको आन्तरिक चुनावको प्रतिस्पर्धालाई चुनावका बेला ल्याएर मत र मन विभाजन गर्न खोजिएको र त्यसलारेई चिर अघि बढ्नेमा आफूहरु रहेको बताए ।
‘पार्टीको नम्सलाई स्वीकार गरेर, संस्थागत निर्णयलाई मानेर अघि बढ्ने हाम्रो चरित्र हो । त्यसैले कांग्रेस र गठबन्धनका उम्मेदवारले जित्दैनन् भनेर भ्रम सिर्जना गर्न खोजिएको छ’, उनले भने, ‘भ्रम सिर्जना गर्नेहरुलाई हामीले देखाउँनेछौं, हामीभित्र कस्तो एकता छ भनेर ।’




















प्रतिक्रिया