Logo

राजनीति

नवलपरासी पश्चिम-१ : मतदाताकाे ‘आशाका केन्द्र’मा विनाेद चाैधरी



काठमाडौं । नयाँ संविधान जारी भएपछि दोस्रो पटक हुन लागेको ऐतिहासिक प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन आउन अब दुई हप्ता मात्र बाँकी छ । निर्वाचको मिति घोषणा भएयता आ–आफ्नो पक्षमा जनमत बटुल्न लागिपरेका दल तथा नेताहरु अहिले आ–आफ्नो निर्वाचन क्षेत्रको चुनावीसभा तथा सम्मेलन र घरदैलोमा व्यस्त छन् ।

यस पटकको निर्वाचनमा खेलाडी, पत्रकार, कलाकार, इन्जिनियर, डाक्टरदेखि ठूला व्यापारिक घरानाका व्यक्तिहरु पनि चुनावमा होमिएका छन् । यसर्थ पनि आसन्न चुनाव विगतको भन्दा केही पृथक हुने विश्लेषण सहजै गर्न सकिन्छ ।

अन्तर्राष्ट्रिय स्तरमै एउटा सफल व्यवयायीका रुपमा स्थापित भइसकेका डलर अर्बपति विनोद चौधरी पनि अहिले घरदैलोमा व्यस्त छन् । नेपाली कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका चौधरी नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) – १ बाट सत्ता गठबन्धनका साझा उम्मेदावर हुन् । उनी यी नै क्षेत्रका जनताको घरदैलोमा अहिले भोट माग्न व्यस्त छन् ।

वि.सं. २०१८ सालमा पूर्वको नवलपुर र पश्चिमको परासी क्षेत्र गाभेर बनाइएको (नवलपरासी) जिल्लालाई फेरि २०७४ सालमा अलग्याइ छुट्टा छुट्टै नवलपरासी (बर्दघाट सुस्ता पूर्व) र नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) बनाइएको हो । प्राकृतिक स्रोत र साधनले भरिपूर्ण जिल्ला विकासको हिसाबले एक नमुना जिल्ला हुनुपर्ने भएपनि अहिलेसम्म केही हुन नसकेको त्यहाँका स्थानीय बताउँछन् । ‘यो जिल्ला धेरै सम्भावना बनेको भए पनि यहाँका प्रतिनिधिले जनताका लागि काम गरेनन् । राजनीतिलाई अवसर र कमाइ खाने भाँडो बनाए । जागिर मात्र सम्झे’, गुनासो पोख्दै त्यहाँका एक मतदाता भन्छिन् ।

विगतमा जनप्रतिनिधिले गर्न नसकेको गुनासो गर्ने मतदाताहरु उद्योगपति विनोद चौधरी उम्मेदवार भएपछि भने अब जिल्लाको विकास, समृद्धि र सुशासनले नयाँ उचाइ लिनेमा आशावादी छन् । ‘विगतका जनप्रतिनिधिले गरेनन् अब भने केही हुन्छ भन्ने आशामा छौं । ती मतदाता भन्छिन्, ‘विनोद चौधरीले यहाँको सेवाको लागि राजनीतिमा भनेका छन् । उनी पैसाकै लागि राजनीति पृष्ठभूमि आवश्यक छैन । त्यसैले हामीले उनलाई विश्वास गरेका छौं । अब आशावादी भएका छौं ।

स्थानीय निर्वाचन अगाडी देखि नै समग्र क्षेत्रको विकासका लागि के गर्न सकिन्छ भनेर चौधरी गाँउ–गाँउ पुगेर जनतासमक्ष परामर्श गरिरहेका छन् । व्यवसाय गर्न चाहने युवाहरुको लागि आफू सहयोग गर्न तत्पर रहेको उनले बताएका छन् । नवलपरासी (पश्चिम)वासी विगतमा कुनै व्यक्तिलाई राजनीतिक उचाइ दिने भर्याङ मात्र भएका भए पनि यसपटक व्यवसायिक पृष्ठभूमिका सफल व्यक्तिलाई अवसर दिन आत्तुर देखिन्छन् ।

चौधरीको राजनीतिक यात्रा

वि.सं.२०४६ सालको ऐतिहासिक जनआन्दोलनमा चौधरी बहुदलीय राजनीतिक व्यवस्था स्थापनाका लागि संघर्षको मैदानमा ओर्लिएका थिए । नेपाली कांग्रेसका शीर्षस्थ नेताहरूको सम्पर्कमा रहेर उनले व्यवसायिक क्षेत्रको नेतृत्व गरेका थिए । त्यतिबेला आन्दोलनमा उत्रिएका कारण तत्कालिन सरकारले उनलाई अनेक दुःख दिएको थियो भने उनले भूमिगत शैलीमा समेत काम गर्नु परेको थियो । २०४८ सालमा भएको निर्वाचनमा नेपाली कांग्रेसको बहुमतको सरकार बनेपछि उनी तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको आर्थिक सल्लाहकारको हैसियतमा काम गरेका थिए ।

आर्थिक उदारीकरण, खुला बजार अर्थतन्त्रको नीतिगत परिवर्तनक ाबिशेष बिषयहरुमा उनले कोइराला सरकारसँगै रहेर काम गरेका थिए । नेपाली कांग्रेसका सस्थापक नेता कृष्णप्रसाद भट्टराईसँग विनोद चौधरीको विशेष सम्बन्ध थियो भन्ने कुरा उनको आत्मकथामै लेखिएको छ । नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ जस्ता निजी क्षेत्रका नेतृत्वदायी संस्थाहरुको अध्यक्षको भूमिका निर्वाह गरिसकेका चौधरी नेपालको आर्थिक समृद्धिको पक्षमा चार दशकदेखि निरन्तर क्रियाशील छन् ।

२०६४ मा चौधरी संविधानसभामा प्रवेश गरेका थिए । २०४८ सालमा शुरू गरिएको आर्थिक नीति र आर्थिक समृद्धिका नीतिहरूका विरूद्ध संविधानमै गलत नीति लिइन सक्ने अवस्था देखिएपछि निजी क्षेत्रका केही अगुवाहरु विभिन्न पार्टीबाट संविधानसभामा गएका थिए, जसको उदेश्य नेपाली कांग्रेसले लिएको आर्थिक नीतिको पक्षमा काम गर्नु थियो ।

२०७४ सालको आमनिर्वाचनको पूर्वसन्ध्यामा नेपाली कांग्रेसका सभापति शेर बहादूर देउवाले पत्र लेखेर विशेष अनुरोध गरेपछि चौधरी नेपाली कांग्रेसमा प्रवेश गरेका थिए । कांग्रेसले चौधरीलाई प्रतिनिधिसभामा समानुपातिक सांसद मनोनित गरेर सम्मान गरेको थियो । चौधरीलाई कांग्रेमा प्रवेश गराउन तत्कालीन महामन्त्री डा। सशांक कोइराला र भारतका लागि पूर्व राजदूत दीपकुमार उपाध्यायले पनि पहल लिएको बताइन्छ । कोइराला सहित नेता रामचन्द्र पौडेल एवं बालकृष्ण खाणलगायतले पनि चौधरीलाई कांग्रेसमा ल्याउन पहल गरेका हुन् ।

२०७४ सालको आमनिर्वाचनमा नेपाली कांग्रेसलाई जिताउन उनी देशभरका चुनावी सभाहरुमा पुगेका थिए । उनको विशेष ध्यान भने नवलपुरमै थियो । कांग्रेसले देशभरबाट पराजय भोगिरहँदा पनि नवलपुर निर्वाचन क्षेत्र नम्बर १ बाट तत्कालिन महामन्त्री डा। शशांक कोइरालालाई विजयी गराउन चौधरीको विशेष भूमिका रहेको भन्दै उनको सफलताको प्रशंसा गरिएको थियो । नवलपुर १ मा चौधरीको औद्योगिक ग्राम रहेको छ जहाँ तीनहजार भन्दा धेरै स्थानीयले रोजगारी पाएका छन् । २०७८ मंसिरमा सम्पन्न कांग्रेसको महाधिवेशनबाट चौधरी केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए । अहिले नेताचौधरी आसन्न मंसिर ४ मा हुने तय भएको चुनावको तयारीमा जुटेका छन् ।

नेपालको पहिलो अर्बपति

वि.सं. २०६९ सालमा, अमेरिकी पत्रिका फोर्ब्सले उनलाई अर्बपतिहरूको सूचीमा समावेश गरेको थियो । त्यसपछि उनी नेपालको पहिलो अर्बपति बन्न सफल भए । सन् २०१९ मा फोर्ब्सले सार्वजनिक गरेको सूचीमा उनी १,३४९औँ स्थानमा उक्लिएका थिए । सन् २०१८ मा उनको सम्पत्ति २० करोड अमेरिकी डलरले वृद्ध भएको थियो ।

लेखक पनि

विनोद चौधरी नेपालका एक्ला डलर अर्बपति हुन् । नेपालमा सबैभन्दा सम्मानित समाजसेवी हुन् । र, अहिले देशको आर्थिक विकासका लागि समर्पित राजनीतिज्ञ पनि । यस बाहेक पनि उनको परिचय छ– लेखक विनोद चौधरी । वि।सं। २०६९ सालमा चौधरीले “विनोद चौधरीः आत्मकथा” शीर्षक रहेको आफ्नो आत्मकथा पुस्तक प्रकाशन गरेका थिए । यस पुस्तकमा उनको परिवार र चौधरी ग्रुपको आरोह–अवरोहको कथा समेटिएको छ ।

यसैगरी आफ्नो जीवनका निर्णायक मोड, व्यावसायिक फड्को, राजनीतिक संलग्नता, बहुराष्ट्रिय कम्पनी निर्माण आदि कुराहरूलाई प्रस्तुत गरेका छन् । यो पुस्तक अंग्रेजी, हिन्दी, सर्वियन, रसियन, मंगोलियनलगायतका सातभाषामा प्रकाशित भइसकेको छ ।

प्रकाशित मिति : १९ कार्तिक २०७९, शनिबार ११:४९   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।