काठमाडौं । नेकपा एमालेका सचिव गोकर्ण विष्टले निर्वाचनपछि नेकपा एकीकृत समाजवादीको राजनीतिक भविश्य सकिने दाबी गरेका छन् ।
‘स्खलित’ हुँदै गएको एकीकृत समाजवादीको ‘खुद्रा पसल’ चुनावपछि बन्द हुने उनले दाबी गरे ।
गुल्मी–२ बाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवारसमेत रहेका नेता विष्टले शुक्रवार बुटवलमा सञ्चारकर्मीहरूसँग भने, नेकपा एसको राजनीतिक भविश्य छैन । पार्टीबाट देशभर एमालेमा फर्किने क्रम निरन्तर बढ्दै गएको छ । खुद्रा पसल चुनावपछि पूर्ण रूपमा बन्द हुन्छ ।
गुल्मीमा आफ्नो प्रतिष्पर्धी कोही नभएको उम्मेदवार विष्टले दाबी गरे । आफूसँग प्रतिष्पर्धामा रहेकी रामकुमारी झाँक्रीलाई लक्षित गर्दै उम्मेदवार विष्टले थपे, ‘पर्यटन प्रवद्र्धन गर्न गाउँ डुलेजस्तै गरेको देखेको छ ।
सांसद हुँदा १० हजार बजेट कही हालेको प्रमाण छैन । हामीले अगाडि बढाएका आयोजनालाई देखाएर चुनाव प्रचार गरिँदैछ । सांसद हुँदा ५ वर्षसम्म जिल्लामा नफर्किनेसँग तुलना हुँदैन । गुल्मीबासी सबैले हेक्का राखेका छन् ।
स्थानीय तहमा ५६७ मत ल्याएको पार्टीसँग आफ्नो कुनै प्रतिष्पर्धा नहुने विष्टको भनाइ थियो । विष्टले एमालेले निर्वाचनमा बहुमत ल्याउने पनि दाबी गरे । एमालेको बहुमत देशको लागि आवश्यक रहेको भन्दै त्यहीँ अनुसार देशभर चुनावी माहोल बनेको विष्टले दाबी समेत गरे ।
गरिबी, बेरोजगारीबाट जनतालाई माथि उठाउन अहिलेको चुनाव महत्वपूर्ण रहेको बताउँदै सही पार्टी र उम्मेदवारलाई छनोट गर्न सचिव विष्टले मतदातालाई आग्रह गरे ।
‘हाम्रो पार्टी समृद्ध नेपाल सुखी नेपालीको अभियानलाई पूरा गर्न हामी अभियानमा जुटेका छौँ त्यहीअनुसार जनता पनि उत्साहित भएर चुनावमा लाग्नुभएको छ’, विष्टले भने । पूर्वमन्त्री विष्टले एमालेले घोषणापत्रमा समावेश गरेका सबै कार्यक्रमहरु पूर्ण कार्यान्वनमा आउने दाबी गरे । आफूले अगाडि सारेका विकास आयोजना गुल्मीको विकासमा महत्वपूर्ण रहेको विष्टले बताए ।




















प्रतिक्रिया