Logo

प्रमुख समाचार

देउवा जति पटक प्रधानमन्त्री बने पनि देशलाई कुनै फाइदा हुँदैन : अध्यक्ष लिङ्देन



पूर्वी नवलपरासी । राष्ट्रिय प्रजातन्त्र पार्टीका (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले कांग्रेस सभापति शेरबहादुर देउवाले जितेर जति पटक प्रधानमन्त्री बने पनि देशलाई कुनै फाइदा नहुने बताएका छन् । पूर्वी नवलपरासीको कावासोतीमा आयोजित राप्रपाको चुनावीसभामा शनिबार बोल्दै अध्यक्ष लिङ्देनले प्रधानमन्त्रीको परीक्षणमा देउवा असफल भइसकेको बताए ।

‘पाँच पटक प्रधानमन्त्री हुँदा देशलाई केही गर्न नसकेका देउवालाई छैठौंपटक प्रधानमन्त्री बनाएर के हुन्छ ?’ अध्यक्ष लिङदेनले प्रश्न गरे, ‘पाँचपटक प्रधानमन्त्री भइसक्दा पनि देउवाका कारण देश र जनताले के पाए र उनलाई फेरि मत हाल्ने हो ?’ उनले मंसिर ४ गते मत परिवर्तन गरेर राप्रपालाई मत दिन आग्रह पनि गरे ।

माओवादी र कांग्रेसको गठबन्धनबाट देशले मुक्ति चाहेको र त्यसको नेतृत्व गर्न आफ्नो दल आएकाले निर्धक्कसँग हलोमा मतदान गर्न उनले अपिल गरे । कांग्रेस र कम्युनिष्टहरुले विगत ३० वर्षको अवधिमा देशलाई बेरोजगार उत्पादन गर्ने थलो बनाएको उनले आरोप लगाए ।

उनले एमाले र राप्रपाको तालमेलले देशलाई अग्रगमनमा लैजाने दाबी पनि गरे । ‘एमाले र राप्रपाबीच प्रतिस्पर्धा हुने अवस्था देख्छु म’, उनले भने, ‘यो पटकको निर्वाचनमा पटक–पटक परीक्षणमा असफल भइसकेका कांग्रेस र कम्युनिष्टलाई मत दिएर पछुताउनेबाहेक काम हुँदैन ।’ उनले निर्वाचन र शासकीय प्रणालीमा आमुल परिवर्तन नगरेसम्म देशमा विकास नहुने ठोकुवा गरे ।

प्रकाशित मिति : १९ कार्तिक २०७९, शनिबार १७:३८   :  बजे

42
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।