Logo

राजनीति

कैलाली–५: चेपुवामा धनगढीका मेयर, सहयोगको बदलामा सबै उम्मेदवारलाई सहयोगकै अपेक्षा



धनगढी । गत वैशाख ३१ म सम्पन्न स्थानीय तह निर्वाचनपछि राजनीतिकदलहरु जिल्ला समन्वय समिति (जिसस) गठनका लागि कस्सिए । कैलालीमा जिससको निर्वाचनमा कांग्रेस, माओवादी र एकीकृत समाजवादीबीच तालमेल भएको थियो भने एमाले र नागरिक उन्मुक्ति पार्टीबीच छुट्टै तालमेल भएको थियो । यसरी तालमेल गर्दा पनि दुबै तिर स्पष्ट बहुमत पुग्न सकेन ।

नेपाली कांग्रेसबाट विजयी मोहन्याल गाउँपालिकाका अध्यक्ष देवीदत्त उपाध्याय निलम्बलनमा परेका हुँदा गठबन्धनलाई घाटा भएको थियो । तर जिल्लामा स्वतन्त्रतर्फबाट विजयी भएका धनगढी उपमहागनरपालिकाका मेयर गोपा लहमाल निर्णायक बने र उनले गठबन्धनमा मत दिएर विजयी गराए । त्यसपछि उनी कांग्रेस पक्षधर भएको भनेर चर्चासमेत भएको थियो ।

स्वतन्त्रबाट लोकप्रिय मत ल्याएर मेयरमा विजयी भएका हमालको धनगढीमा राम्रो प्रभाव छ । स्थानीय तहको चुनावमा एमालेको एक पक्ष र उनी विजयी भइसकेपछि जिससको निर्वाचपछि नगर कार्यपालिकामा कांग्रेसले साथ दिने गरेको लगायतका कुरा चर्चामा आएको थिए । हमाललाई यी सबैको सहयोगको ऋण चुक्ता गर्नुपर्ने छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि दलहरुले पनि मेयर हमालसामू सहयोगको बदलामा सहयोगको अपेक्षा राखिरहेका छन् ।

यदि दलहरुलाई अगाडि गरिएको सहयोगको बदलामा सहयोग गर्ने बचन नदिएको खण्डमा भविष्यमा नगर कार्यपालिकामा उनलाई काम गर्न असहयोग नहोला पनि भन्न सकिँदैन । किनकि नगर कार्यपालिकामा दलहरुका प्रतिनिधिहरु छन् । सार्वजनिक रुपमा नभएपनि आन्तरिक रुपमै भएपनि मेयर हमालले दलका उम्मेदवारलाई सहयोग गर्ने बचन दिनुपर्ने हुन सक्छ, पछि सहयोग होस् वा नहोस् । सार्वजनिक रुपमा उनलाई कुनै दललाई सहयोग गर्ने प्रतिबद्धता जनाउन भने सहज छैन । यस अर्थमा उनी अहिले दलहरुले गर्ने आग्रहको चेपुवामा छन् ।

यतिमात्रै नभई स्वतन्त्र मेयर भएकै नाताले अहिलेको निर्वाचनमा स्वतन्त्र उम्मेदवारहरुले पनि मेयर हमालप्रति सहयोगको अपेक्षा राखेको पाइएको छ । कैलाली निर्वाचन क्षेत्र नम्बर ५ मा प्रतिनिधि तथा प्रदेशसभा सदस्यका स्वतन्त्र उम्मेदवारहरुले स्वतन्त्रबाट मेयरमा हमाल विजयी भएको उदाहरण मात्रै दिँदैनन् आफूलाई पनि त्यसरी नै सहयोग हुने र विजय प्राप्त गर्ने बताइरहेका छन् । यसको अर्थ हमाललाई विजयी गराउने मतदाताले आफूलाई पनि मत दिने अपेक्षा गरेको बुझिन्छ । उनीहरुले मेयर हमाललाई सहयोगको आग्रह गरिरहेका छन् ।

स्थानीय तहको निर्वाचनका क्रममा मेयर हमाललाई विजयी गराउन अहिले कैलाली क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवार बनेका ओझाको पनि महत्वपूर्ण भूमिका रहेको बताइएको थियो । यस पटक मेयर हमाललाई पुस्करनाथ ओझालाई पनि सहयोग गर्नुपर्ने नैतिक दबाब पर्न सक्छ ।

हमाललाई जिताउन प्रदेश (क) बाट प्रदेशसभा सदस्यका स्वतन्त्र उम्मेदवार रमेशकुमार बस्नेत र (ख)का स्वतन्त्र उम्मेदवार क्षितिज भण्डारीको पनि भूमिका रहेको चर्चा थियो । सोही कारण पनि स्वतन्त्र उम्मेदवारहरुले मेयर हमालप्रति सहयोगको अपेक्षा राख्नु स्वभाविक हुन सक्छ । यद्यपि स्वतन्त्रबाट विजयी भएका हमालले अहिलेसम्म कुनै पनि दल वा स्वतन्त्र उम्मेदवालाई सहयोग गर्ने प्रतिबद्धता वा अभिव्यक्तिबाहिर आएको छैन ।

स्थानी यतहको निर्वाचनपछि स्वतन्त्र उम्मेदवारप्रति आकर्षण बढेका बेला आगामीनिर्वाचनमा पनि केही नयाँ परिदृष्य देखिन सक्ने आँकलन गरिएको छ । कैलाली निर्वाचन क्षेत्र नम्बर ५ मा प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसबाट गठबन्धन साझा उम्मेदवार डिल्लीराज पन्त, नेकपा एमालेका उम्मेदवार नारदमुनी राना, स्वतन्त्रबाट पुस्करनाथ ओझाबीच कडा प्रतिस्पर्धा हुने आँकलन गरिएको छ ।

यस क्षेत्रको प्रदेश (क)मा गठबन्धनको तर्फबाट माओवादी केन्द्रका नेता रमेश धामी, एमालेका तर्फबाट नेपालु चौधरी, नागरिक उन्मुक्ति पार्टीका श्रीराम चौधरी, राप्रपाबाट पुस्करदत्त भट्ट र स्वतन्त्रबाट रमेश बस्नेत उम्मेदवार बनेका छन् । यस्तै प्रदेश (ख)मा नेपाली कांग्रेसका प्रकाश देउवा, एमालेबाट दुर्गा जोशी, नागरिक उन्मुक्तिपा र्टीबाट गोठु चौधरी, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट शिवराज भण्डारी, नेपाली कांग्रेस (बीपी)बाट दीपकराज खैर, नेपाल मजदूर किसान पार्टीबाट रामबहादुर दर्लामी मगर, संघीय लोकतान्त्रिक मञ्चबाट कार्तिक लुहार र स्वतन्त्रमा क्षीतिज भण्डारीले प्रतिस्पर्धा गरिरहेका छन् ।

प्रकाशित मिति : २० कार्तिक २०७९, आईतवार १३:००   :  बजे

69
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।