काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई कटाक्ष गरेका छन् । रामेछाप एमालेका नेता कार्यकर्तालाई पार्टीमा स्वागत गर्दै उनले ओलीले देशमा गणतन्त्र आउँछ भन्ने कुरा परिकल्पना समेत नगरेको बताए ।
‘ओली गणतन्त्र र संविधानको पछिसम्म विरोध गर्दै हिँड्थे । पछि संविधानसभा र संघीय लोकतान्त्रिक गणतन्त्र पनि घोषणा भयो । उनको इच्छा विपरीत । त्यतिबेला उनले भन्ने गर्थे माओेवादीले आँधिहुरी लिएर आयो । सबै त्यसमा हिँडेपछि म पनि त्यसमा हिँडेको हो मन त परेको थिएन भन्थे । संविधान बनाउने बेलामा पनि’, प्रचण्डले भने ।
संविधानमा सही गरेपछि आफूहरुले ओली पनि संघीय लोकतन्त्रवादी भए होलान् भन्ने अपेक्षा गरेपनि नभएको उल्लेख गरे । ओली अहिलेसम्म पनि धर्म निरपेक्षतावादी नभएको आरोप लगाए । उनले भने, ‘मैले वाम गठबन्धनको प्रस्ताव पनि राखे । केपी ओलीको प्रस्ताव पनि होइन । पछि पार्टी एकताको प्रस्ताव पनि राखियो । तर, एकताको तीन बर्ष पुग्न नपाउँदै उनी त अहिलेसम्मको उलपब्धि कहिले उल्ट्याउला भनेर लुकेर बसेका रहेछन् ।’
प्रचण्डले ओली आफू प्रधानमन्त्री भएपछि संविधान मिचेर पटक पटक प्रतिनिधिसभा विघटन गरेको जिकिर गरे । ‘ओली अहिले पनि लाज पचाएर भाषण गर्दै हिँडेको देख्छु । मलाई त अनौठो लाग्छ’, उनले भने, ‘हामीले दुई तिहाइको सरकार र प्रधानमन्त्री बनाएका थियौँ । उनले पार्टी र सरकार पनि बचाउन सकेनन् । अहिले के भनेर भोट माग्न गएका हुन् । उनले नेपाली जनतालाई उल्लू ठानेका छन् कि । हिजो दुई तिहाइ दिँदा पाँच बर्षसम्म टिकाउन नसक्ने उनै हुन् ।’
ओलीले आफूले जनताका अगाडि गएर उखान टुक्का हानेर हसाउँदैमा भोट पाउँछु भन्ने ठानेको भन्दै प्रचण्डले ओलीको अहंकारले संविधानविरोधी गतिविधि गर्दा जनताले समेत विरोध र बहिष्कार गरेको बताए ।




















प्रतिक्रिया