Logo

समाचार

सुदूरपश्चिम प्रदेशमा अठार हजार सुरक्षाकर्मी परिचालन



धनगढी । सुदूरपश्चिम प्रदेशमा निर्वाचनलक्षित सुरक्षाका लागि झन्डै १८ हजार सुरक्षाकर्मी परिचालन गरिएको छ। प्रदेश प्रहरी कार्यालयका अनुसार मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनलक्षित सुरक्षाका लागि १७ हजार ८५९ सुरक्षाकर्मी परिचालन गरिएको छ । तीमध्ये ११ हजार ५५९ म्यादी प्रहरी छन् । त्यस्तै नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी गरी छ हजार तीन सय सुरक्षाकर्मी परिचालन गरिएको छ । 

निर्वाचनलाई लक्षित गरेर सबै निकायका सुरक्षाकर्मी परिचालन भइसकेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी वरिष्ठ प्रहरी उपरीक्षक भोलाबहादुर रावलले जानकारी दिए । उनका अनुसार नेपाली सेना, सशस्त्र र प्रहरी परिचालन भइसकेका छन् । म्यादी प्रहरी पनि सबै जिल्लामा पठाइसकिएको छ ।

निर्वाचनका बेला १७७ वटा मोबाइल टिम परिचालित हुने प्रदेश प्रहरी कार्यालयले जनाएको छ । गाडीसहितको यो टोली यताउति घुमिरहनेछ । यसैगरी २० वटा रिजर्भ टिम तयार पारिएको रावलले बताए । यो टिम आवश्यकताअनुसार मात्रै परिचालन हुनेछ । मतदान स्थलहरूमा भने निर्वाचनको दुई/तीन दिनअगाडि मात्रै सुरक्षाकर्मी खटिने जनाइएको छ । 

उनले भने, “निर्वाचनको दिन नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीसहित म्यादी प्रहरी फरक–फरक लोकेसनमा तैनाथ हुनेछन् ।” बाजुरामा ७४९ म्यादी प्रहरी, डोटीमा ९५३, डडेल्धुरामा ९३७, कैलालीमा दुई हजार ८१२, अछाममा एक हजार २६८ म्यादी प्रहरी परिचालन गरिएको छ । यसैगरी बैतडीमा एक हजार १९१, बझाङमा एक हजार १८८, दार्चुलामा ८२९ र कञ्चनपुरमा एक हजार ६३२ म्यादी प्रहरी परिचालन गरिएको छ । 

एक हजार १६१ मतदान स्थल रहेको यो प्रदेशमा सामान्यभन्दा संवेदनशील मतदान स्थलको सङ्ख्या बढी छ । अति संवेदनशील ३५२ र संवेदनशील ४०४ गरी प्रदेशभरि ७५६ मतदान स्थल संवेदनशील रहेका छन् । ४०५ मतदान स्थल भने सामान्य सूचीमा रहेको छ । निर्वाचनको सयममा संवेदनशीलतानुसार सुरक्षाकर्मीलाई मतदान स्थलमा खटाइने प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ । 

३२ वटा निर्वाचन क्षेत्र रहेको यो प्रदेशमा दुई हजार १४६ मतदान केन्द्र निर्धारण गरिएको छ । तीमध्ये ७१० अति संवेदनशील, ७७८ संवेदनशील र ६५८ मतदान केन्द्र सामान्य रहेका प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ । गोरखापत्रबाट

प्रकाशित मिति : २१ कार्तिक २०७९, सोमबार ०९:२४   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।